काठमाडौं । विवाह गरेको आठ महिनामै अभिनेत्री अरुणिमा लम्सालले श्रीमान् युवराज श्रेष्ठसँग सम्बन्धविच्छेद गरेकी छन् । उनीहरूबीच एक अर्कासँग अलग हुने गरी गत वैशाख ३० गते सुनसरी जिल्ला अदालतमा मिलापत्र भएको हो ।
गत भदौ ३ गते विवाह गरेका यी दुईबीच छोटो समयमै सम्बन्ध बिग्रिएको थियो । अमेरिकाबाट घुम्न आएको बेला अरुणिमाले युवराजसँग मागीबिहे गरेकी हुन् । बिहेको दुई दिनपछि नै उनी एक्लै अमेरिका फर्किइन् । त्यसको केही समयमै उनीहरुको खटपट हुन थाल्यो । अरुणिमाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट श्रीमानको सबै फोटो र भिडिओ हटाएपछि सम्वन्धमा दरार आएको सार्वजनिक भएको थियो ।
अरुणिमा गत चैतमा नेपाल आएर श्रीमानविरुद्ध जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् । विवाहअघि विभिन्न झूटो कुराहरू बोलेको आरोप उनले युवराजमाथि लगाएकी छन् ।
युवराज भने सम्बन्धविच्छेद गर्ने पक्षमा थिएनन् । तर, अरुणिमाले अड्डी नछाडेपछि उनी मिलापत्रमा जान तयार भएका छन् । अरुणिमाका तर्फबाट अधिकृत वारेस नविन पोखरेलमार्फतले मिलापत्रमा हस्ताक्षर गरेका छन् ।
यो पनि पढ्नुहोस्- श्रीमानविरुद्ध अरुणिमाले डिभोर्ससँगै अंशमुद्दा पनि हालेको खुल्यो, फिरादपत्रमा के छ ?
अदालत स्रोतका अनुसार अरुणिमाले सम्पत्तिमाथिको दावी छोडेपछि मिलापत्र भएको हो । यसअघि सम्बन्धविच्छेदको मुद्दामा उनले युवराजको सम्पत्तिलाई ६ भाग लगाएर एक भाग आफूले पाउनुपर्ने मागदाबी गरेकी थिइन् । तर, अन्तमा उनी सम्पत्ति नलिइकन सम्बन्ध तोड्न तयार भएकी हुन् ।
युवराजले श्रीमतीसँग सम्वन्धविच्छेद भएको सार्वजनिकरूपमा बताएका छन् ।
एउटा भिडिओ क्लीपमा उनले भनेका छन्, ‘मैले वैशाख २८ गते दिनको ४ बजेर १० मिनेटमा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ । जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ । मेरो छुट्टिनु थियो छट्टियो, सक्कियो । बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ ।’
बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका युवराज नेपाली कांग्रेसका नेता हुन् । पहिलो बिहे असफल भएपछि अरुणिमाले युवराजसँग दोस्रो बिहे गरेकी थिइन । तर उनको दोस्रो विवाह क्षणभंगुर भएको छ ।

Leave a Reply