फ्रान्सेली मिडिया लेख्छ – युद्ध भारत र पाकिस्तानको, जित चिनियाँ युद्ध विमानको 

काठमाडौं । भारत र पाकिस्तानको गत शनिवार युद्धविराम भएको युद्धमा चिनियाँ सैन्य विमानको जित भएको फ्रान्सेली मिडिया फ्रान्स २४ ले उल्लेख गरेको छ । फ्रान्स २४ मा टिप्पणीकार लेला जसिन्तोले एक आलेख लेखेर युद्ध भारत र पाकिस्तानको भएता पनि जित चीनको भएको उल्लेख गरेकी छिन् ।

भारतका तीन फ्रान्सेली राफल युद्ध विमानसहित पाँच विमान खसाएको पाकिस्तानी दाबी छ । यसलाई भारतले खण्डन वा समर्थन दुवै गरेको छैन । तर अमेरिकी च्यानल सीएनएन तथा बेलायती समाचार एजेन्सी रोयटर्सले आफ्ना स्रोतलाई सोधेर जहाज खसाएको समाचार लेखिरहेका छन् । यही समयमा राफल नाम चर्चित सैन्य विमान निर्माता देशको सरकारी सहयोगमा सञ्चालन भएको विश्व च्यानल फ्रान्स २४ मा युद्धमा चिनियाँ जित भएको तर्क आएको छ ।

मे ७ को बिहानै चार बजे पाकिस्तानका लागि चिनियाँ राजदूत पाकिस्तानको विदेश मन्त्रालय पुगेर चिनियाँ विमानहरुबाट तीन फ्रान्सेली युद्ध विमान राफल झारेको सूचना दिए । चीनले बनाएको जे–१० नामक युद्ध विमानले भारतले खर्बौ लागतमा किनेका फ्रान्सका विश्व चर्चित युद्ध विमान खसाएको बताइएको छ । यही मुद्दालाई लिएर अहिलेसम्म युद्धमा परीक्षण नगरिएको चिनियाँ युद्ध विमान जे–१० ले राफल जस्तो विश्वको व्यापक माग भएको विमान खसालेसँगै यसले युद्धको परीक्षामा उत्कृष्ट उत्रिर्ण गरेको लेखमा बताइएको छ ।

भनिएको छ, ‘धारणाको कोणमा पनि चीनको यो विशाल जित हो ।’ सन १९७९ मा भएको भियतनाम युद्ध पछि चीन कुनै युद्धमा सहभागी थिएन । चीनको जहाज पनि सहभागी थिएन । तर भारत र पाकिस्तानको युद्धमा भारतले फ्रान्स तथा अमेरिकी र पाकिस्तानले चिनियाँ युद्ध विमान लिएर हानाहान गरेका थिए जसमा पाकिस्तान बलियो देखिएको थियो । पाकिस्तानले आफ्नै हवाई क्षेत्रमा बसेर भारतकै हवाई क्षेत्रमा भएका लडाकु विमान खसालेको बताइएको छ । यही कारण अब चिनियाँ विमानको विक्री बढ्नेसमेत तर्क हुन थालेको छ भने भारतले गेम चेन्जर भनेर व्याख्या गरेको राफलको उपदेहियतामा प्रश्नसमेत उठेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *