बत्ती झ्याप-झ्याप भएकोमा अशिम साहको कटाक्ष- धन्यवाद मन्त्रीलाई कि नयाँ एमडीलाई दिने ? (भिडिओ)

काठमाडौं । रास्वपाका सांसद अशिम साहले देशभर बेला बेला बत्ती झ्याप्प झ्याप्प जानु नयाँ दैनिकी बनिसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘सरकार आफैँ पनि डार्क मोडमा अपरेट भई रहेको छ र बत्ती झ्याप झ्याप निभाएर पुरा देशलाई पनि डार्क मोडमा पुर्‍याइरहेछ, सेटिङ चेन्ज गरेर लाइट मोड गर्नुपर्‍यो सरकार। संसदमा गम्भीर विषयमा बहस गरिरहेका हुन्छौ झ्याप्प बत्ती जान्छ ,संसदमा त इनभर्टर, जेनेरेटर, सबै छ, केही रोकिन्न। तर, आम नागरिकको घरमा यस्तो विशेष सुविधा छ र?’

बत्ती जानासाथ, खाना आधा पाकेर रोकिन्छ, मोबाइल चार्ज हुँदैन, व्यापार ठप्प, जताततै अन्धकार हुने बताए।

उनले थपे, ‘हिजो साँझ मात्र देशका धेरै ठाउँमा एकाएक बत्ती गयो। कसैको हस्पिटलको अपरेसन रोकियो होला, कसैको परीक्षा तयारी बिग्रियो होला। बेला बेला झ्याप्प झ्याप्प लाइट जानू नयाँ दैनिकी बनिसकेको छ धेरै हावा चल्यो, बिजुली जान्छ, पानी पर्‍यो बिजुली जान्छ। अहिले त न हावा न पानी तैपनि झ्याप्प बिजुली जान्छ।’

उनले अब धन्यवाद ऊर्जामन्त्रीलाई दिने कि नयाँ एमडीलाई भन्ने कुरा स्पष्ट पार्नुपर्‍यो भन्दै व्यङ्ग्य गरे।

उनले थपे, ‘यदि यो बिजुलीको लुकामारी यस्तै चलिरह्यो भने, जनताले सरकारको बत्ती निभाइदिने दिन पनि धेरै टाढा छैन। अन्धकारमा सरकारको अनुहार झलझली याद गरिरहेका छन् जनताले ८४ मा बिजुली बाल्दा पनि नदेखिएला। सरकारले गम्भीर रूपमा लियोस्।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *