स्वस्थ रहन मर्निङवाक हिँडेका दुई महिला घर फर्किन पाएनन्, ठूला बाटो छेउमा मर्निङवाकले बढाउँदै जोखिम

रुपन्देही । शरीर स्वस्थ राख्न दिनहुँ जसो घरबाट निस्केका कपिलवस्तुको बुद्ध भूमि नगरपालिका वडा नं १ वसन्तपुरका दुई महिला आज भने कहिले घर नफर्कने गरी अस्ताए ।

लामो समयदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका उनीहरू बिहान साढे ४ बजे नै उठेर मर्निङवाक निस्कने गर्दथे । सधैं जसो शुक्रवार बिहानै निस्केका उनीहरूलाई पौने ६ बजे एक कारले ठक्कर दिँदा कहिले उनीहरू कहिल्यै नफर्कने गरी अस्ताएका हुन् ।

कपिलवस्तुको पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा पत्थर कोटबाट गोरुसिङ्गेतर्फ गइरहेको बा ए बी ९५९९ नम्बरको कारले वसन्तपुरमा उनीहरूलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिएका छन् ।

‘७ जनाको परिवार लिएर कुल पूजामा गएर फर्किएको गाडी रहेछ, वसन्तपुरमा मर्निङवाकमा हिँडेका दुई महिलाले बाटो काट्ने क्रममा अलमलिएका कारण ठक्कर दिएको भन्ने छ, घटनामा दुई महिलाको मृत्यु भएको छ’ उनले भने ‘स्पिडमा आएको कार सडक पार गर्दै गरेका महिला बीच लेनमा पुगेर पुनः फर्केपछि यस्तो भएको भन्ने चालकको भनाइ छ, घटनाको अनुसन्धान गर्दैछौं, मृतकको शव तौलिहवा पठाइएको छ, चालक र गाडीलाई गोरुसिङ्गेमै राखिएको छ ।’

दुवै महिलाको बिहानको हिँडाइ नै अन्तिम भएको स्थानीयसमेत रहेका पत्रकार सुशील गैरे बताउँछन् । ‘एकाबिहानै यस्तो डरलाग्दो घटनाले सिङ्गो गाउँ शोकाकुल भएको छ, मृतकको परिवार सम्हालिन नसकेको अवस्था छ, छोराहरू विदेशमा छन्, बाटो छेउको मर्निङ वाक र चालकको लापरबाहीले नै यस्तो घटना भएको हो’ उनले भने ।

कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालक मादक पदार्थ सेवन नगरेको पुष्टि भएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

बुद्ध भूमि १ का वडाध्यक्ष तेजबहादुर बस्नेतले पहाडबाट झरेको गाडी सो क्षेत्रमा सिधा बाटो भएकाले निकै स्पिडमा दौडाएको र बिहानी हिँडाइमा गएका महिलाहरूलाई ठक्कर दिएकाले यस्तो कल्पना नै नगरेको घटना भएको बताए । ‘म पनि भरखर घटनास्थल पुगेर फर्केको हुँ, सिङ्गो गाउँ स्तब्ध भएको छ, बाटो छेउको बिहानी हिँडाइ चुनौती बन्न लागेको छ’ उनले भने ।

बस्नेतका अनुसार खत्रीका तीन भाइ छोराहरू रहेकोमा दुई विदेश र एक जिल्ला बाहिर रहेकाले तत्काल पोष्टमार्टम गर्न ढिलाइ हुने भएको छ । प्रहरीले पनि परिवारको सहमतिमा मात्रै पोष्टमार्टम गर्ने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *