लाङटाङबाट काठमाडौं फर्किसकेँ । छुटेकी प्रेमिकाको झैँ घरिघरि लाङटाङ याद आइरहेछ र लाग्छ कति समयसम्म यो याद आइरहनेछ । त्यहाँका आवाजहरूले कानमा हानिरहेछ । प्यासी प्रेमी जस्तै लाङटाङकै अनुहार सम्झिरहेको छु । आफैलाई दुःखाएर हिडेको त्यो सुखको याद आइरहेछ । प्रिय लाङटाङ तिमीलाई भेटन हिडेको खुट्टा दुख्दा पनि मीठो पीडा भैरहेछ । तिम्रो वरिपरि घुमेको बसेको , हिडेको त्यो समय याद आइरहेछ ।
यसैले एक प्रेमिकालाई पत्र लेखे झै म तिम्रै लागि यो लेखिरहेछु ।
प्रिय लाङटाङ ! तिमीले धेरै कुरा दियौ । जम्मा पाँच दिनको तिमीसँगको यात्रामा मैले धेरै कुरा पाएँ । छुट्न मन नभई नभई तिमीसँग छुटेर आएँ । फेरि कहिले भेट हुन्छ थाहा छैन । तिमी त भेट्न आउँदिनौ । तिम्रो आफ्नै समस्या छ आउन नमिल्ने मैले बुझेको छु ।
जाँदा तिमीसँग यति गहिरो प्रेम पर्दछ भन्ने लागेकै थिएन । आउँदा तिमीसँग छुट्न गाह्रो हुन्छ भन्ने सोचेकै थिईन । जीवन नै यही हो थाहा छ । सोचेको भन्दा नसोचेको , भोग्न खोजेको भन्दा नभोगेको ,देख्न खोजेको भन्दा नेदेखेको र चाहेको भन्दा नचाएको कुरा जीवनमा घट्दछ । अहिले यस्तै भैरहेछ । बनाएको योजनाभन्दा अनायासै भएको कुराले जीवनमा छुट्टै मज्जा आउँछ र आएको छ ।
लाङटाङ ! तिमीलाई भेट्न जाने योजना पनि अनायासै बनेको थियो । मुलपानीको बालसखा सुरेन्द्र फुयाल (एसपी) ले अचानक यसपाला लाङटाङ जाउँ भन्यो । काठमाडौंमा सानैदेखि तिमीलाई देखिरहेको मलाई तिमीलाई नजिकै गएर हेर्ने रहर भैहाल्यो । सुन्दरीजल वा शिवपुरी डाँडा चढ्दा तिम्रो सेतो अनुहार म मज्जाले हेर्दथे र लोभिन्थे कस्तो हौला तिमी नजिकैबाट हेर्दा । एक रूपवति सुन्दरीको झैँ तिम्रो आकर्षणले खिचेको थियो । लाङटाङ, आहा ! जाउँ न त भन्ने लाग्यो ।
एसपीले ठमेलमा गएर तिमीलाई भेट्न जाँदा लैजाने कोसेली तातो न्यानो लुगा , झोला र लट्ठी किनाईहाल्यो । मकालु ई ट्रेडर्सका विनोद थुलुङ एसपीको साथी रहेछन् । उनले मिलाएर ब्याक प्याक तैयार गरिदिए । लाङटाङ जाने खुशीयालीमा ठमेलकै न्यू ओरिलियन्समा साँझको फ्रेन्च डिनर खाएर घर फर्कियौ । बाटैमा मुलपानीको बालसखा विपीन फुयाललाई फोन गरेर चावहिल गणेशस्थानमा बिहान सात बजे भेटने सल्लाहमा हामी सुत्न गयौं ।
सुत्नुअघि मलाई केही बेर तिमीलाई हेर्न मन लाग्यो र गुगलमा गएर तिमीलाई खोजे । धेरै मान्छेले तिमीसँग फोटो खिचेको देँखेर मलाई मज्जा लागेन । मेरै फोटो छैन तिमीसँग भन्ने लाग्यो । कति रुम टेम्प्रेचर छ तिम्रो गुगलमा हेरे । कतै तिम्रो मौसमले मेरो मौसम बिगार्ला कि लाग्यो । लुगा टन्न ब्यागमा थिए । चिसो तिमीसँग तातो भएर बस्न मन थियो । र, त हावा नछिर्ने र न्यायो हुने लुगा हालेको थिए ब्यागमा ।
तिमीलाई भेट्ने उत्सुकतामा म भुसुक्कै निदाएँ । केही साहित्यकारले मस्त सुत्ने र रातभर निदाइनँ भनेर लेखे झैँ म लेख्दिनँ । साहित्यमा पनि सत्य संवाद हुनु पर्दछ भन्ने लाग्दछ । त्यसैले एक थोपा आँसु नझारी मेरो तकिया भिज्यो भनेर पनि म लेख्दिनँ । यति लेख्छु म उत्साहित र धेरै नै उत्साहित थिएँ तिमीलाई भेट्न ।
सल्लाह मुताविक विपीन बिहानै आईसकेछ । म त सात बजेसम्म भुसुक्कै भइछुँ । हतार-हतार उठेर एरोप्लेन मोडमा रोखेको मोबाएल हेरेको त विपीनले १२ पल्ट कल गरिसकेछ । उसलाई फोन गरेर १५ मिनेटमा आउँछु भने । नित्यकर्म गर्दा आठ बजि त गो । एसपी उसको बुबाको लागि अस्पतालमा नाम लेखाउन गैसकेछ । उसलाई भनेथेँ “म लैजाउँला तँलाई गंगालाल” निन्द्राले त्यो पनि धोका भएछ ।
विपीन र म एक चिया अड्डामा छिर्ंयौ । लाङटाङ ! तिमीले सुनेको छ छैन आजकल धेरै चिया पसलहरू अनेक नाममा राजधानीमा खुलेका छन् । त्यस्तै एक पसलमा छिरेर विपीनले चिया खायो । मैले कफी । अनि एक/एक केक खाएर बस्दाबस्दै एसपी आइहाल्यो ।

नीलो गाडीमा नीलो आकाशनजिकै बसेको तिमीलाई हेर्न हतारिएको थियौं । गाडी आठ बजे गणेशस्थानबाट गुड्यो । टोखा बजार छिचोल्दै गुर्जे भन्याङको आर्मी चेक पोष्ट एकै छिनमा पुगिहालियो । तिमीलाई भेट्ने हतारमा मैले गाडी अगाडि उभिएको आर्मीलाई हर्न बजाएँछु । उनले आर्मी आँखा तरेर हेर्दै भने “गुरुजी ! यहाँ हर्न लगाउन पाइँदैन है ।”
मैले हुन्छ भनेँ ।
आर्मीलाई बाटो छोड् है भन्न हर्न लगाएको झन्डै उनले बाटो रोकिदिएका । हतार गर्दा जीवनमा ढिला हुन्छ भन्ने पनि थाहा छ, तर तिमीलाई भेटने आतुरताले अत्याएर यस्तो गरेँछु । म त के भएँछु के ! कहिले पत्रमित्रतामा भेटिएकी प्रेमिकालाई भेट्न हतारिएँ झैँ, कहिले फोनमा कुरा हुने तर भेट नहुने भित्रभित्रै बौलाएको प्रेमी झैँ , अनि कहिले फेसबुक, इन्स्टामा फोटो हेरेको भेट नभएको र भेट्ने भनिरहेको आकुल-व्याकुल मनुवा झैँ भएको थिएँ ।
फेरि कता-कता लाग्दथ्यो- कतै टिकटकमा हालेको फोटो जस्तै त छैनौं ? यो डरडर पनि लागेको थियो । टिकटकले आजकल उधुम गरेको छ । पहिला नराम्रो आएको फोटो भिडिओ डिलिट गर्ने । राम्रो बाँकी भएको फोटोमा पनि फोटोमै मेकअप गर्ने । त्यसपछि पनि क्यापकटमा गएर भिडिओ र फोटो हाल्ने । यत्ति गरेपछि ४० वर्षको मान्छे १६ वर्ष देखिएर टिकटकमा प्रस्तुत हुने धेरै महिला मैले देखिसकेँ । कतै मेरो लाङटाङ त्यस्तै त छैनन् भन्ने पनि लाग्दथ्यो ।
तर्कना बिर्तकना गर्दागर्दै साथीहरूसँग गफगाफ गर्दागर्दै गुर्जेभन्ज्याङ कटेको केही बेरपछि आयो थानसिंहको रमाइलो बाटो । हरियाली सडकको दुबैतिर हेर्दे छहरे कटिहाले । कति चाँडै त्रिशुली आएको झै लाग्यो । प्रेमको पर्खाई छिटो जाने भएर होला त्रिशूली एकैछिनमा आए झैँ भयो । ढुंगामा लेखेको देखेँ । त्रिशूलीबाट धुन्चे ४८ किमी । स्याप्रुबेँसी ६३ किमी र त्रिशूली जिरो ।
हुन त नाममा के छ र भन्छु म । तर, पनि बोलाउनलाई नाम नै चाहिन्छ । नेपालमा नामहरू प्राकृतिक र सांस्कृतिक सम्पदाको आधारमा राखिएका छन् । तिम्रो नाम हेर न त्यसमा पनि त प्राकृतिक नाम छ । तर, हाँसो लाग्ने एक नाम आयो । त्यो नाम भनेको प्राकृतिक र सांस्कृतिक भन्दा पनि घटनापरक भएर होला झैँ लाग्यो । धुन्चे नपुग्दै देखेँ १०.३ मिटर लम्बाईको बोकेझुन्डा पुल । एसपी र विपीन यो नाम देँखेर मस्तले हाँसे । दुवै हाँसेपछि म पनि ठूलो स्वरमा हाँसे ।

एक हातले गाडी चलाउँदै अर्को हातले फोटो खिचेँ । कुनै दिन कसैको बोको झुण्डेर मरेकोले यो नाम रोखकोले होला भनेर हामी तीनै मस्तले हाँस्यौ । लेख्न बसेपछि कसैलाई सोध्न पर्यो यथार्थ के हो भनेर सबैभन्दा पहिले गुगललाई सोधेँ, थाहा पाएँ । गोसाईकुण्ड गाउँपालिका-६ मा पर्ने यो ठाउँमा प्रख्यात सीता गुफा रहेछ । भगवान् रामको सीता नभई आनी सीताले तपस्या गरेको रहेछ ।
भोटबाट नून साट्न यहि बाटो जाने रहेछ । ओहो यो ठाउँ त प्रख्यात ठाउँ देखायो । कुनै दिन जंगबाहादुर राणा गोसाइकुन्ड यहि बाटो हुँदै जाँदा सेनालाई बाटोमा जे भेटिन्छ लेराउनु भनेछन् । सेनाले बाघ ल्याएर चापको रुखमा झुण्ड्याएछन् । त्यो रुख ५०० वर्ष पुरानो बुढो भएर केही वर्षअगाडि मात्रै ढलेछ । बाघझुण्डा अपभ्रंश भएर बोकेझुण्डा भएको रहेछ । हनुमान ढोकाबाट बोकेझुण्डा आइपुग्न १९ कोस लाग्दछ भनेर शिलालेख समेत राखेछन् जंगबाहादुरले । ट्राउट पालेको ठाउँ भनेर अहिले प्रख्यात रहेछ ।
हेर त, कसरी नामहरू बनेछ । प्रकृति र संस्कृतिभन्दा फरक घटनाले बनेको रहेछ बोकेझुण्डा । यहाँ गुफा अझै छ । तपस्या गर्ने भिक्षुणीहरू हराए । त्यो बाटो हिँड्ने जंगबाहदुर हराए । राजा वीरेन्द्र त्यही बाटो हिँडेका थिए । उनी हराए । नाम हरायो र यही बाटो हिँड्ने धेरै मान्छे हराए । हामी पनि कुनै दिन हराउँछौ । तर, पनि अहिलेलाई तिमलाई भेट्न हतारिएर कुदिरहेको छु तिम्रै जिल्लामा ।
पहाडी बाटो न परयो, बोकेझुण्डाबाट ५ किलोमिटरको धुन्चे पुग्न आधा घन्टा लागिहाल्यो । बिहानै हिँडेको हामी धुन्चे पुग्दा मध्यान्ह नाघिसकेको थियो । पेट पूजा गर्नै पर्यो । एसपी यो यात्रामा आइरहने हुनाले उसले नेशनल होटलमा परैबाट फोनमा खानाको व्यवस्था गरेको थियो । खाना खाएर धुन्चेबाट हिँड्दा लगभग १ बज्यो ।
धुन्चेका छानामा राखिएको बुद्ध, शंखको फोटो खिच्दै अगाडि बढियो । दाजुभाइ जस्तै नाम देखेँ, ठुलो भार्खु अनि सानु भार्खु । मिलेको नाम हेर्दै मस्तले गीतमा झुम्दै, साथीहरूसँग गफिँदै गाडीबाट फोटो लिँदै हामी हुत्तिँदै थियौं तिमीलाई भेट्न । घुम्तीको बाटो हुँदै हरिया पहाड हेर्दै अगाडि बढ्दै थियौं । धुन्चेबाट स्याप्रुबेँसी जान कति लामो यात्रा झै लाग्यो ।
‘बुढो पकाउँदै, बुढी खाँदै’ भन्ने उखान सुनेर हुर्किएका हामीलाई बाटोमा त्यस्तै स्थिति आइलाग्यो । बन्दै छ बाटो हामी हिँड्दै छौं । पानीको बाछिटाले गाडीको सिसा त राम्रो देखियो तर बाटो छिपछिपे हिलो भएछ । त्यसमाथि अजंगका केरुङ जाने आउने गाडीहरूले त्यो बाटो सानो गाडी हिड्नै नहुने बनाएका थिए । १३ किमी बाटो हिँड्न ठयाक्कै एक घन्टा लाग्यो । धुन्चेबाट स्याप्रुबेँसी आउन डेढ घन्टा लागिहाल्यो ।
अनुभवी एसपीले भन्यो “त्यहाँ हेलिप्याड चउरमा गाडी शुल्क लिएर राखिन्छ, बरु सुरक्षित पनि हुन्छ होटलमा राखौं ।” विपीनले पनि ओके गरेपछि म अल्पमतमा परेँ । लोकतान्त्रिक पद्धतिमा सुल्झाउने भन्ने हाम्रो नियमअनुसार होटलमै गाडी राखियो । झोलुङ्गे पुल तरेपछि नक्साले सोध्यो “तपाईँ स्याप्रुबेँसीमा हुनुहुन्छ, कता जाने ? खाम्जीङ्ग , सुर्क हुँदै शेर्पा गाउँ जाने कि पहिरो बेम्बो हुँदै लाङटाङ जाने ?”

नबोलिकन आँखाले बोलेको नक्सालाई हामीले साढे ६ घन्टा हिँडेर शेर्पा गाउँ जाने समय छैन भन्यौं र लाग्यौ बेम्बोतिर । हामीले तिवारी, पहिरो हुँदै बेम्बोको तीन घन्टे यात्रा ततायौं । ऐसेलु खाउँ भनेको पाइएन । चुत्रो खाँदै ओरालो उकालो गर्दै पहिरोमा पुगेर केही बेर सुस्तायौ । बेलुका ६ः२७ मा १९८४ मिटर उचाइमा रहेको बेम्बो पुगियो र त्यो रात त्यहिँ बस्यौ ।
तिमीलाई थाहा छ लाङटाङ, तिम्रो नजिकैबाट बगेको तिम्रै नामको लाङटाङ खोलाले हामीलाई कराउँदै भनिरहेथ्यो “बहुत मज्जा ठाउँमा तपाईँहरू जाँदै हुनुहुन्छ, मेरो उद्गम थलोमा जाँदै हुनुहुन्छ, यहाँ त यति कन्चन छु म मेरो मुहानको झन् कुरै नगर्नुस् ।” बेम्बो त खोलाको किनारमै रहेछ । रातभर तिम्रो नामको खोला सुसाइरह्यो । बाढी पो आउने हो कि भनेर साथीहरू डराए । एक्कासि बाढी आएर भाग्नै नभ्याएर गाउँ नै अलप भएको कथा धेरै पढेको हामीलाई त्यो कथाले अत्याइरहेको थियो ।
एकजनाको प्याकेजमा खान सुत्न र बिहानको ब्रेकफास्टसहित १५०० दक्षिणा टक्राइयो । लाङटाङ तिमीलाई भेट्न छ वटै महादेशका मान्छे आइरहेका थिए । कोही इजरायल, कोही अर्जेन्टिना, कोही फ्रान्स, अमेरिकन , चाइनिज , जापानिज । ओहो ! तिम्रो आकर्षण त हामीभन्दा अरुले खिचिसकेछन् भनेर ईर्श्या पनि लाग्यो । बेम्बोमा पनि विभिन्न देशका मान्छे थिए । रात मस्तै सुतियो ।
भोलिपल्ट बिहान फेरि लगभग साढे साततिर हामीले बाटो ततायौं । १०:३६ मा हामी रिमिचे पुग्यौं । रिमिचेको उचाई २४९५ थियो । त्यसैले त्याहाँ केहीबेर सुस्तायौ । एकै पल्ट धेरै हिड्दा लेक लाग्ने डर हुन्छ भनेर सबैले भने । त्यहाँ विपीनले ल्याएको तितौरा र होटलमा हट लेमन विथ हनि खायौं । त्यस होटलकी साहूनी संगीता ठोकरले लाङटाङमा बस्ने होटलमा फोन लगाइदिइन् । विपीनले यसको जिम्मा लियो ।
स्याप्रुदेखि नै खोलाको किनारै किनार हामी हिँडिरहेका थियौं । जहाँ जता जाउँ खोला सँगसँगै हुन्थ्यो । यो खोलासँगै नभए के हुन्छ होला झैँ लागेको थियो । आधा घन्टा पनि नभई आयो लामा होटलमा रहेको शेर्पा होटल । हामी नरोकिई उकालो लाग्यो । जो तिमीलाई भेट्न हतार थियो । बाटोमा बेला बेलामा खच्चडको ताँती भेट हुन्थ्यो । खच्चडले तिमीलाई भेट्न जाने बाटो बर्बाद पारेछन् । मान्छेका खाने कुरा लिएर जाने तिनका जुलुसले गोब्राएर त्यसबाट उत्पादन भएको भुसुना र झिँगाले हैरान दिन्थे ।
खच्चडको लिदीले बाटो नै दुर्गन्ध थियो । चश्मा नलगाए भुसुना स्वात्तै भित्र आँखामा छिर्दथ्यो । बेम्बोदेखि देखिएको निगालोको घारीहरू बीच हिँडिरहेका थियौं । रेड पाण्डा पाइन्छ त्यहाँ घारीमा भनेर चुपचाप हिँड्यौ, तर देखिएन । बाटो ओर्लिन्छ-उक्लिन्छ । खोला देखे पनि नदेखे पनि सुसाएको आवाज कानमा आइरहन्छ । चराहरू हेर्दै, खोलाको आवाज सुन्दै पर क्षितिजमा देखिएको तिमीलाई हेर्दै अनि तिमीसँगैको नीलो आकाश हेर्दै हामी हिँडिरहेका थियौं ।
ढुंगाका अमूर्त आर्टले अचम्भित पारिरहेको थियो । रुखका अनेक रंगहरूले हामी भित्रभित्रै रंगीरहेका थियौं । तिमीलाई भेट्ने बाटोमा गजब अजब अनुभव भैरहेको थियो । विभिन्न प्रजातिका गुराँसले हामीलाई गुच्छा दिए झैँ गरिरहेको थियो । बाटोमा ढुंगाको ओडार देखिन्थे । कौतुहलता सिर्जना गर्दथ्यो । सुस्ताउँदै, उघ्राउँदै हिँड्दै गर्दा हामी लगभग १२:३८ मा पुग्यौ रिभरसाईड २७७० मिटरको उचाइमा ।
उचाइ भने पनि त्यो खोलाको किनारमा थियो । त्यहाँ घोरल झारलहरू पर वनमा चरिरहेका देखिए । त्यहाँ खाना खाने भने पछि लाङटाङ खोलामा खुट्टा चोपल्न मन लाग्यो । बिहानदेखि हिँडेको ट्रेकिङ सुज र मोजा खोलेर मज्जाले बालुवामा हिँड्दै ढुंगामा बसी खोलामा खुट्टा हल्लाउँदा अचम्मको आनन्द आयो । खोलाको आवाज मान्छेको भन्दा ठूलो थियो । पछाडिको साथीले बिस्तारै बोलाउँदा केही सुनिदैनथ्यो । ठूलो स्वरले कराउँदा मात्रै सुनिन्थ्यो । प्रकृतिको अनुपम लीला हुन्छ ।
रिभरसाइडमा रहेको सानो चराले भने ठूलो खोलाको आवाजलाई पनि जितेर मेरो कानमा ठोक्किरहेको थियो । लंगुरहरू पनि ताँती देखिए । उनीहरूले घाँस खाएको देखेर म हेरिरहेँ । बाटोमा याक भेटियो । उसलाई प्रकृतिले लगाइदिएको गलैँचा जस्तो ऊन र ठुलो पुच्छर देखेर छक्क परिरहेँ । अझै माथि जाँदा मज्जाले चौँरीहरू चरिरहेका थिए ।
अब हामी ३००८ मिटरको उचाइमा रहेको घोडातबेलामा थियौं । कुनै बेला घोडा तबेला रहेको यो ठाउँमा तबेला नभए पनि घोडाहरू थिए । मैले त जीवनमा पहिलो पल्ट घोडाको बछेडो र घोडासँगै देखेँ । त्यति नै बेला सायद त्यो बछेडोको बाउ उताबाट आयो । उसले हिनहिनाएपछि घोडा मालिकले भन्यो “यसलाई पोथी घोडा देख्नै हुँदैन, हाम फालिहाल्छ ।”

पशुले आफ्नो बच्चा सर्लक्कै चिन्छ, त्यही भएर कराएको हो कि भन्ने लागिरहयो । तलै खाना खाएर आएकोले हामी घोडातबेलामा रोकिनु परेन । सीधै अगाडि लाग्यौं र थाङ्गस्याप पुग्यौं । ३२०० मिटरको उचाइमा पुग्न हामीले निक्कै उकालो उक्लिए झैँ लागेको थियो कारण त्यही उकालो थियो । बाटोमा सार्टिङ, छिम्की हुँदै ३४५५ मिटरको लाङटाङ पुग्दा अँध्यारोले राज गरिसकेको थियो ।
तिमी सेतो हिमाल कालो अँध्यारोमा लुकिसेको थियौ लाङटाङ ! हामी पनि बेलुकी ७:२० मा त्याहाँ पुगेका थियौं । बाटोमा तारन्तार विपीनलाई फोन बजिरहन्थ्यो । होटल साहूनीको । मेरिगोल्ड होटलमा तातो चिसो सबै व्यवस्था रहेछ । खाना खाएर थाकेको शरीरलाई बिच्छौनामा लडाउँदा स्वात्तै निदाइएछ । बिहान छर्लङ्ग बसेकै होटलबाट लाङटाङ भ्याली देखियो । हिमाल देखियो । पहाड देखियो । बहुत मज्जा आयो । अझै लाङटाङ हिमाल नजिकै पुग्न त क्यान्जिङ गुम्बा जानुपर्ने रहेछ ।
अबको यात्रा हाम्रो क्यान्जिङतिर सोझियो । बिसहान पोरिज , अण्डा कफी खाएर हामी लाग्यौ क्यान्जिङतिर । त्यता जाँदा जति माथी गयो तिमीले पठाएको चिसोले उति स्वागत गर्ने रहेछ । ढुंगामा कुँदेको तिब्बतीयन अक्षरले लामो गुम्बा बनाएको रहेछ । हामीलाई पढ्न नआउने तैपनि गुम्बालाई दाहिने पारेर घुम्नु पर्दछ भनेर हामी सबै त्यसैगरी हिँड्यौं ।
सेता बादल नीलो आकाश , नीला फूलहरू मेरो पनि निलै ड्रेस थियो । आज धेरै हिँड्नुपर्ने दिन थिएन । बिस्तारै रमाउँदै हल्लदै हिँडियो । त्यो बाटोमा हरेक ढुंगा एक इतिहास र एक पुरानो समय देखेँ । एकैछिनमा मुन्दु आइपुग्यो । नजिकै प्रहरी चौकी लाङटाङ लेखेको देँखे । फेरि आयो सिन्धुम गाउँ । सिन्धुम ३५५५ मिटर थियो । हामी पुग्ने क्यान्जिन ३८०० थियो ।

सिन्धुममा हँसिलो पासाङ नामको साउनी देखिइन् । उनले भनिन् “उकालोमा थोरै हिँड्दा गाह्रो हुन्छ । त्यसैले सिवकथ्रुन जुस खानुस् ।” उनले भनेबमोजिम गर्यौं । बहुत हावा चल्ने रहेछ क्यान्जिङ जाने बाटो । किन मान्छे यति बिहानै घाममा टोपी लगाएर आउँदैछन् जस्तो लाग्दथ्यो । त्यो त हावाले टोपी र ज्याकेट खोल्नै नदिने रहेछ ।
मैले त हिमनदी देखेको थिइनँ । हिमनदी हेर्ने भनेर विपीनले लग्यो । हिमनदी हेर्न जाँदा झोलुङ्गे पुलको हावामा झण्डै उडाएको हामीलाई । भयो भोलि केन्जिङ रि बाट हेर्ने भन्ने भयो । केही बेरअगाडि लागेपछि क्यान्जिङ आइ त पुगिगो । वाउ ! त्यहाँको दृष्य गजबै थियो । वरिपरि हिमाल, जस्ताले टल्किएका शहर जस्तै घरहरू । नयाँ बनेको एक घर नयाँखाङ्गा पिक गेस्ट हाउस । त्यही होटलमा दिनको रातको र ब्रेकफास्ट गरी प्रति व्यक्ति दुई हजारमा फिक्स गरेर आराम गरियो ।
बाहिर जाउँ एकदमै हावा चल्ने चिसो थियो । एक छिन सुतियो । विपीन भने बगरतिर हेर्न गयो । एसपी र म उठेर दोर्जे कफी हाउसमा गयौं । पाउरोटी नभई नहुने युरोपियन अमेरिकनको ताँती रहेछ त्यहाँ । हामी गएर क्यापाचिनो र अमेरिकानो खायौं । एकछिन चउर बगर डुलेर फेरि होटलमै आइयो । सामाजिक सन्जाल हेरियो । अपलोड गरियो केही फोटोहरू ।

विपीनले भन्यो “भोलि ४:०० बजे उठेर ५:०० बजे क्यान्जिङ रि जानु पर्दछ, तिमीहरू नजाने भए नजाउ, म त एक्लै भए पनि जान्छु यहाँसम्म आएपछि ।” लौ त भनेर चाँडै सुतियो । बिहान ४:०४ मै उठिसकेछ विपीन । ५:०० बजे हामी फ्रेस भएर लाग्यौं क्यान्जिङ रि को उकालो । हामी मात्रै होला भनेको त विदेशीहरू टन्नै रहेछन् । उकालोमा एकै पेसमा नरोकिई हिँड्दा सबैलाई जितेर अगाडि पुगिँदो रहेछ ।
दुई घन्टा लाग्दछ भनेको केन्जिङ्ग रि त म ४६ मिनेटमा पुगे । बाफ्रे बाफ लाङटाङ त्याहाँ त तिमी यस्तो सुन्दरी देखिएको थियौ । म कसरी वर्णन गरौं त्यो रूपको । सेतो तिम्रो अनुहारमा बिहानको उदाउँदो घामले सेतो चाँदीमा सुन टल्किएको झैँ लाग्यो । तिम्रो वरिपरि अरु हिमाल देखेर म त तीन छक परे ।
बाफ्रे ! यति नजिकबाट तिमीलाई हेर्दैछु भन्ने लाग्यो । तिमीलाई छोएर आउने हावाले मलाई काउकुति लगायो । यति फोटो खिचे कुरै नगरौं । तर, त्यहाँ खिचिएको फोटोभन्दा पनि आँखा र हृदयमा तिम्रो फोटो बेजोड बसेको छ । शब्दमा वर्णन नै गर्न सकेको छैन ।
रोचक कुरा त- त्यहाँ म पुग्दा एक जोडी गोरागोरीहरू ‘टङ किस’ गर्दै थिए । अचम्म यो लाग्यो, उनीहरूले लाङटाङ गएर आफ्नो पुरानो प्रेमलाई सम्बन्धमा बदल्ने घोषणा गरेको रहेछन् । उनीहरूको धेरै साथी तलै थिए । उनीहरूको फोटो खिच्नेमा म परेँ । केटाले बोलाए । लाज मानी-मानी फोटो खिचिदिएँ । पछि उनका साथीहरू आइपुगे । उनीहरूले ड्रोन उडाए । एक अर्कामा अंकमाल गरे । बेलुन फुटाए ।
म छक्क परेँ किन लाङटाङ हिमाल अगाडि नै यत्रो वर्षको प्रेमलाई सम्बन्धमा लैजाने निर्णय गरेको होला भनेर । एकैछिनमा उनीहरूलाई लेराउने नेचर फन एडभेन्चर कम्पनीका मालिक सन्जीव ढकाल र चन्द्र यात्रीसँग भेट भयो ।
उनीहरूले भने “यहाँबाट ३६० डिग्री हिमाल देखिने र यो सस्तो रुट पनि भएकोले यहाँ उनीहरूले प्रेमलाई सम्बन्धमा लैजाने निर्णय गरेका रहेछन् , तपाईँहरू लक्कि हो हामी पाँच दिन भयो आउँदै हिमाल नदेखेर फर्कँदै गरेको ।” ओहो हामी गएकै दिन तिमीलाई देख्न पाउने कति भाग्यशाली भयौं हामी भनेर मनमनै खुशी भएँ ।
कहाँ सात समुन्द्रपारीबाट आएर तिम्रो छेउमा प्रेमलाई सम्बन्धमा बदल्ने तिम्रो शक्ति देखेर ताजुब लाग्यो । किन उनीहरू यहाँ आउन परेको ? किन हामीले भेट्न परेको ? लाङटाङको पवित्रताको शक्तिले प्रेमील जोडीलाई तानेको झैँ लाग्यो । चिसोमा तातो प्रेम उनीहरूको अमर रहोस् भन्ने मनमनै भनेँ । मुखले भन्नै सकिनँ ।
एक अचम्म यो पनि लाग्यो ।
४४०० मिटरको क्यान्जिन रि मा पोष्टर फोटो खिचिरहँदा एक चरा आएर त्यहिँ बस्यो । मलाई लाग्यो यो चरा हैन यो त मेरो पितृ देवता पो हो कि ! एक संस्कारमा बसेको हामीलाई कता कता कहाँ कहाँ जति किताब पढे लेखे र मान्छे भेटे पनि त्यो संस्कार आईहाल्दो रहेछ । मैले चरालाई नमस्कार गरे । चरा उडेन बसिरहयो ।
विपीन तल आउँदै थियो । म निकैबेर लाङटाङ हिमाल हेरिरहेँ । निकै भावुक भएँ । यस्तो राम्रो प्रकृति यो पृथ्वीमा कहाँ होला ? यति सुन्दर ठाउँ कहाँ होला ? लाङटाङमा जब सूर्यको लालीमा पर्यो । लिपस्टिक लगाएको केटीभन्दा सुन्दरी त लाङटाङ देखियो । बाफ्रे वरिपरिको हिमाल ! म त हेरेको हेर्यै भएँ । ६ बज्नु अगाडि नै म पुगेको थिएँ ।

केहीबेर बस्दा बस्दै क्यान्जिन रि मा मान्छे भटाभट आउन थाले । सबैले हिमाललाई पछाडी पारेर फोटो खिचिरहे । त्यहिँ नजिकैको ग्लासियर पग्लिएर बनेको हिमनदी पनि देखेँ । हिमनदीको पानीबाट बनेको हाइड्रोपावर देखेँ । एकैपल्ट धेरै कुरा देखेँ । यति चिसो थियौ तिमी लाङटाङ । तिमीबाट आएको चिसोले पन्जा लगाएको हात पनि चिसिएको थियो, तर मन भने बहुत् तातो भएको थियो र अझै पनि तातो नै छ ।
मान्छेको सबैभन्दा ठूलो सिर्जना खुशी हो । हरेक काम मान्छेले खुशीको लागि गर्दछ । तिमीलाई हेरेर फर्केपछि खुशीको रङ्गले मेरो हृदय चुमेको छ । क्यान्जिङ रि को ४४०० मिटर अग्लो भन्दा बढी खुशी मेरो हृदयमा बास बसेको छ । तिमीलाई भनौ्, पत्याउँदैनौं होला ! मेरो मनमा तिम्रो अग्लाई बसिरहेको छ । प्रेमिल भएपछि मन पनि आफैँ अग्लो र फरक हुने रहेछ । मान्छे पनि त तिमीजस्तै एक प्रकृतिको कृति त हो । म पनि त्यही कृति हो भन्ने मैँले आफैँलाई स्वीकृति गरेको छु ।
थाहा छ तिमीलाई लाङटाङ, हामी तिमीलाई हेरेर तल झर्दा तिमीलाई बादलले घुम्टो ओडाउँदै थियो । धन्न समयमा पुगेछु र तिम्रो साक्षात् दर्शन पाएँछु भन्ने लाग्यो । वा तिमीलाई प्रेम गरेकोले तिमीले दर्शन दिएको होला भन्ने लाग्यो । मान्छेहरू तिमीलाई नजिकबाट हेर्न डाँडो चढिरहेका थिए । आठ नबज्दै तिमी भने बादलसँग मिसिँदै थियौ । नजिकबाट हेरेकोले तलबाट हेर्न त्यति मन पनि लागेन ।
लाङटाङ तिम्रो नाममा निकुन्ज खोला बनेको देख्दा मलाई बहुत् खुशी लागेको छ । धेरै उद्योग व्यापार र यातायतमा पनि तिम्रो नाम देख्दा म पुलकित भएको छु । जब त्याहाँ पुगेर आएँ । तिमीलाई भेटेर आए जहाँ लाङटाङ देख्दछु त्यहाँ सुखानुभूति भएको छ मलाई । तिम्रो कारणले यो ठाउँ भूस्वर्ग भएको छ । धेरैले धेरै लेखे होलान् ! हज्जारौ हज्जार त्यो ठाउँमा पुगे होलान ! मेरो त तिम्रो क्षेत्रमा पहिलो पाइला थियो ।

तिमीलाई भेटेर फर्केपछि हामी एक दिन शेर्पा गाउँमा बस्यौं र अर्को दिन राजधानी आइहाल्यौं । तिमीलाई भेटेर मनमा आएको खुशी र शान्तीको के कुरा गरौं । लेख्नु कति मन लागेको छ । अक्षर रोकिन मानेको छैन । अहिलेलाई यो मेरो लेख अरुको लागि नभई मात्र तिम्रो लागि प्रिय लाङटाङ ! तिम्रो प्यासी प्रेमी झैँ भएर भन्छु “प्रिय लाङटाङ ! तिम्रो अप्रिय कहिल्यै सुन्न नपरोस् ।” माया लागेको छ तिम्रो । धेरै धेरै धेरै नै…

Leave a Reply