एन्फाविरुद्ध गणेश थापाले हाले मानहानीको मुद्दा, अदालतले नेम्वाङसँग माग्यो लिखित जवाफ

काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा सहभागी हुन रोक लगाइएपछि गणेश थापाले अदालतमा अवहेलनाको मुद्दा हालेका छन् । उनको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन एन्फालाई आदेश दिएको छ ।

गत २६ वैशाखमा धुलिखेलमा हुने साधारणसभामा सहभागी हुन गएका थापालाई गेटमै रोकिएको थियो । यसअघि उच्च अदालतले उनलाई साधारणसभामा भाग लिन पाउने आदेश गरे पनि त्यसलाई एन्फाले कुल्चिएपछि थापाले अवहेलनाको मुद्दा हालेका हुन् ।

आफूलाई रोक लगाउने कार्यले सम्मानित उच्च अदालतबाट वैशाख २४ मा भएको अन्तरिम आदेशको अवज्ञा हुन गएको तथा अदालतको न्याय सम्पदन कार्यमा अवरोध हुनुका साथै सम्मानित अदालतको अवहेलना भएको थापाको निवेदनमा उल्लेख छ । उनले नेपालको संविधानको धारा (३)(२) र न्याय प्रशासन ऐन २०७३ को दफा (७)२० र (४) बमोजिम कारवाहीको मा गरेका छन् ।

आज उच्च अदालतका न्यायाधीशद्वय खडानन्द तिवारी र डिल्लीरत्न श्रेष्ठले मुद्दामा सुनवाइ गर्दै ७ दिनभित्र एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको लिखित जवाफ मागेका हुन् । आफैं आएर जवाफ दिन वा कानून बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।

यदि अदालतको अवहेलना प्रमाणित भएको खण्डमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरीवाना हुन सक्ने कानूनी व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *