सत्ताधारी भेट्रान नेताहरू प्रतिपक्षजस्तो देखिए : सूर्य थापा (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सत्तापक्षकै सांसदहरुको भूमिका प्रतिपक्ष जस्तो हुँदा सहकार्य बलियो नहुने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा क्रममा सत्तारुढ दलकै अनुभवी नेताहरु सक्रिय नभएको देख्दा अचम्म लागेको बताए।

हिजो छलफलको क्रममा कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बालाजु-रानीपौवा-त्रिशुली सडक स्तरोन्नत्तिका लागि यसपटक पनि बजेट विनियोजन नभए बजेट पुस्तिका च्यात्ने चेतावनी दिएका थिए।

त्यसबारे थापाले भने, ‘हामी नयाँ सांसदहरुलाई पुनारा अग्रज सांसदहरुले बजेट नआउँदै बजेट पुस्तिका च्यात्ने संसदको रोष्ट्रमबाट प्रशिक्षित गर्ने कुरा कताकता मिलेनकि जस्तो लागेको छ। आज प्रधानमन्त्री ओली निर्दलिय सरकारको प्रधानमन्त्री होइन। दुई ठूला पार्टीसहित अन्य साना दलहरु मिलेर बनेको संयुक्त सरकार हो। प्रधानमन्त्री र मन्त्रीहरु मात्रै सत्तापक्ष र अरु सांसदहरु पनि प्रतिपक्ष व्यवहारले सहकार्य बलियो हुँदैन।’

उनले प्रतिपक्षबाट आएका सुझाव स्वागतयोग्य रहेको भन्दै सत्तापक्षका दलहरुको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।

उनले अगाडि भने, ‘नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताको चालु बहसमा म केही वाकपटु माननीयज्यरुहरु र भेट्रान नेताज्यहरुलाई सक्रिय देखिरहेको छैन। मलाई आश्चर्य लागेको छ। हिजो त सत्तापक्षकै एकजना वरिष्ठ सांसद माननीयज्यूहरुले आफ्नो जिल्लाको सडकमा बजेट नपरे बजेट पुस्तक च्यात्छु भन्न कुनै संकोच मान्नु भएन। यो पनि एउटा आश्चर्यकै अभ्यास भएको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *