पाँच क्यासिनोको १ अर्ब ७८ करोड रोयल्टी उठाउन बाँकी

काठमाडौं । पाँच क्यासिनोको १ अर्ब ७८ करोड ५१ लाख ४९ हजार रोयल्टी उठाउन बाँकी रहेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनले पाँच क्यासिनोले उक्त बराबरको रकम बक्यौता रहेको जनाएको छ ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘वार्षिक रूपमा बुझाउनुपर्ने रोयल्टी नबुझाएका कारण गत वर्षसम्म ६ क्यासिनोको रु. १ अर्ब ९५ करोड १६ लाख ४९ हजार बक्यौता रहेकोमध्ये यो वर्ष १ क्यासिनोको रु. १६ करोड ६५ लाख असुल भई ५ क्यासिनोको रु.१ अर्ब ७८ करोड ५१ लाख ४९ हजार बक्यौता रहेको छ ।’

यसमध्ये २ क्यासिनो हाल सञ्चालनमा नरहेको र ३ क्यासिनो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयले खारेज भएको छ ।

सर्वोच्च अदालतको आदेशानुसार यो वर्ष नवीकरण दस्तुर बापत ६२ लाख ५० हजार रुपैयाँ र रोयल्टीबापत १२ करोड ३७ लाख ५० हजार रुपैयाँ प्राप्त भएकोले बाँकी बक्यौता हिसाब अद्यावधिक गरी असुल गर्नुपर्ने महालेखाले औँल्याएको छ ।

क्यासिनो नियमावली, २०७० को चौथो संशोधन २०७६ को नियम १० मा इजाजत दस्तुर र नियम १२ र १३ मा नवीकरण दस्तुर लाग्ने व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *