‘म फिल्ममा आउँदा बुवा रुष्ट बन्नुभयो, बोलचाल नखुली बित्नुभयो’

काठमाडौं । ख्यातिप्राप्त अभिनेता राजेश हमाल यतिबेला आफ्नो कमब्याक फिल्म ‘नरसिंहा अवतार’ को प्रमोसनमा जुटेका छन् । यो सम्भवत: उनको लागि नयाँ अनुभव पनि हो, किनभने विगतमा उनले चलचित्र गर्दा यसरी रिलिजपूर्व ‘प्रमोसन इन्टरभ्यू’ को दौडाहा गर्ने चलन थिएन ।

धेरै हिसाबले यो चलचित्र राजेश हमालका लागि विशेष छ । पहिलो त उनी ८ वर्षपछि ठूलो पर्दामा फर्किँदै छन् । उमेरले वृद्धावस्था छोइसकेका हमाल फेरि एकपटक आफूलाई परीक्षामा उतार्दैछन्, र उनलाई अनुत्तीर्ण हुने छुट छैन ।

अर्को महत्वपूर्ण सन्दर्भ चाहीँ के हो भने विगत ४-५ वर्षदेखि राजेश हमालले पाएको ‘महानायक’ ट्यागलाई लिएर थुप्रै वादविवाद र कन्ट्रोभर्सीको सिर्जना भइरहेको छ । अभिनेत्री दिपाश्री निरौलाले एक अन्तरवार्तामा राजेश हमाललाई ‘उहाँ महानायक हो र ?’ भनेपछि सिर्जित भएको विवाद थामिँदै र बौरिँदै गर्छ ।

चलचित्रकर्मीहरू नै राजेश हमाललाई महानायक मान्ने र नमान्ने दुई खेमामा बाँडिएका छन् ।

‘महानायककाण्ड’ उत्पत्ति भएयता राजेश हमालले खेलेको र प्रदर्शन हुन लागेको ‘नरसिंहा’ नै पहिलो चलचित्र हो । यो चलचित्रमार्फत उनले आफ्नो महानायक पदविको इज्जत राख्न सक्छन् कि सक्दैनन् भन्ने पाटो पनि औधि महत्वपूर्ण छ । यदि चलचित्र सफल भयो भने त्यसको सम्पूर्ण श्रेय राजेश हमालले पाउनेमा शंका छैन ।

तर, यदि असफल भयो भने त्यसले उनलाई के-कति असर गर्दा यसै भन्न सकिन्न । त्यसो त ‘राजेश हमाल’ नाम नै एउटा बलियो ब्रान्ड बनिसकेका छ, जसलाई सानोतिनो धक्काले हल्लाउन सक्दैन ।

राजेश हमालको फिल्म करिअर ‘युगदेखि युगसम्म’ बाट सुरु भयो । पहिलो चलचित्र नै ब्लकबस्टर भएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनी सबैभन्दा बढी चलचित्र खेल्ने नायक बने । करिब दुई दशक अनवरत इन्डष्ट्री खाए उनले । बीचमा आठ वर्ष ब्रेक लिएका उनी महोत्सवदेखि म्युजिक भिडिओसम्म देखिएका थिए ।

राजेश हमालले फिल्मी करिअर थाल्दा पारिवारिक विद्रोह नै गर्नुपरेको थियो । उनका पिता चुडाबहादुर हमाल नेपालका पूर्वराजदूत थिए । उनले पटक्कै रुचाएका थिएनन् छोरा हिरो बनेको । सायद आफूजस्तै कुटनीतिज्ञ बनोस भन्ने चाहन्थे । यही विषयले बाबुछोराको सम्बन्धमा ठूलो दरार आयो । उनीहरूको बोलचाल नै बन्द भएको थियो ।

बोलचाल नखुलिकनै बुवालाई सधैँको लागि गुमाउनुपरेको पीडा हमालको हृदयको कुनाभित्र अहिले पनि गुम्सिरहेको छ । पाकिस्तानका लागि राजदूत भएको बखत उनका पिताको उतै निधन भएको थियो ।

पिताको निधनपछि हमालले आफ्नो कपाल खौरिएनन् । उनी लामो कपालसहित किरियामा बसेका थिए । तर, पितासँगको रिसले उनले यो निर्णय गरेका थिएनन् । आखिर कारण के थियो त कपाल नखौरिनुको कारण ?

नेपाल प्रेससँग हमालले यो प्रसंगमा खुलेर कुरा गरेका छन् । यसका साथसाथै, फिल्मी करिअर, विभिन्न कन्ट्रोभर्सीदेखि रिलिज हुन लागेको चलचित्र र भावि योजनासमेतका विषयमा उनले करिब डेढ घन्टा गफिए ।

हेर्नुस नेपाल प्रेसका लागि हमालसँग चिरञ्जीवी पौडेल र तपस्या राणाले गरेको भिडिओ संवाद –

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *