काठमाडौँ । आगो सल्किएको घरमा को को बस्छन् भन्ने सूचना नहुँदा काठमाडौँमा आज एक जना ज्येष्ठ नागरिकको ज्यान गएको छ । बिहान करिब ६ बजेर ५० मिनेटमा दयाराम श्रेष्ठको कच्ची घरबाट आगो सल्किएको थियो ।
आगो फैलिएर छिमेकी रुकेश श्रेष्ठसहितका २ वटा घरमा क्षति भएको छ । आगोले जलेका यी ३ वटै घर मालिकले यी घर भाडामा दिएर आफू अन्यत्र बस्दै आएका थिए । आगो सल्किएपछि घरमा भएका १ जना महिला, १ जना पुरुष र एक जना बच्चाको उद्धार गरिएको थियो । ती घरमा को को बस्थे भन्ने बारेमा घरधनीलाई समेत सूचना नभएपछि आगो नियन्त्रण गर्न जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौँ र ललितपुरका दमकल, अग्निनियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीसहित सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास गरेका थिए ।

महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले घटनास्थलको अवलोकन गरेर ग्याँसबाट हुन सक्ने आगलागीको जोखिमबाट नागरिकलाई बचाउन ग्याँस, यसलाई बाल्न प्रयोग गरिने साधन तथा उपकरणको अनुगमनलाई बढाइने धारणा राखिन। ‘महानगरपालिकाले अनुगमन थालेको छ । यसलाई तीव्र बनाउँछौँ । यसबाट सम्भावित जोखिमबाट बच्न मद्दत हुनेछ ’ उनले भनिन् ।


वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले, घरको तेस्रो तलामा चिया पकाउँदा ग्याँस लिक भएर आगो सल्किएको जानकारी दिए । सिसिटिभी फुटेजबाट प्राप्त दृश्य उधृत गर्दै उनले भने, ‘एक जना महिला सडकमा आत्तिएर निस्किएको केही क्षणमा घरमा आगो देखियो । चिया पकाउँदा चुहिएको ग्याँसमा आगो सल्किएपछि उनी भोगेकी हुन सक्छिन् । यदि उहाँमा ग्याँस चुहिएर सल्किएको आगो नियन्त्रण गर्ने सिप भइदिएको भए आगोले विनाशकारी रूप लिन पाउने थिएन ।’ उनले मानवीय क्षतिका विषयमा भने, ‘घर भाडामा दिने घरधनीसँग आफ्नो घरमा को को बस्छन्रु थाहा नभएपछि चरीकोटे आमा (करिब ६५ वर्ष)का नामले चिनिने सडक किनारामा थोरै सामान बेचेर गुजारा चलाइरहेकी ज्येष्ठ आमाको मृत्यु भयो ।’

उनका अनुसार मृत्यु हुनुको कारण आगोले जलेर नभई धुवाँले निसास्सिनु हो । घरको प्रयोग मानिस बसोबासका लागि भन्दा धेरै कस्मेटिक सामानको भण्डारणका लागि भएको उनले जानकारी दिए ।

Leave a Reply