काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडी सन्दीप लामिछाने फेरि एकपटक चर्चामा छन् । उनले आज अचानक आफू नेपाल क्रिकेट संघ (क्यान) को सेन्ट्रल कन्ट्र्याक्टबाट अलग हुने निर्णय लिए ।
सन्दीपले ४–५ दिन अगाडि नै आफू सेन्ट्रल कन्ट्र्याक्टमा बस्न नचाहेको भन्दै इमेल गरेका थिए । क्यान स्रोतका अनुसार उनले आफ्नो इमेलमा क्यानप्रति कुनै पनि असन्तुष्टि भने पोखेका छैनन् । यो बीचमा सन्दीपले क्यान अध्यक्ष र सचिव पारस खड्कासँग भेटेर पनि आफ्नो निर्णयका विषयमा जानकारी गराएको बुझिएको छ । दुवैसँगको कुराकानीमा पनि सन्दीपले कुनै पनि विषयमा ठोस असन्तुष्टि नराखेको स्रोत बताउँछ ।
सन्दीप र पारसबीचको सम्वन्धबारे विगतदेखि नै विभिन्न गसिप र टिप्पणीहरु हुने गरेको छ । पारसको कप्तानीमा सन्दीपले खेल्दादेखि नै यी दुईबीच खटपटका अपुष्ट खबरहरु आउने गर्थे । तर, दुवैले अहिलेसम्म एक अर्काको विषयमा सार्वजनिकरुपमा कुनै पनि नकारात्मक टिकाटिप्पणी गरेको पाईंदैन । बरु प्रशंसा नै गर्छन् ।

स्रोतका अनुसार अहिले पनि सन्दीप र पारसको सम्वन्ध बिग्रिएको छैन । उनीहरु प्रायजसो सम्वादमै हुन्छन् । तर, पनि एक–अर्काप्रति पूर्ण विश्वासको वातावरण छ वा छैन भन्ने विषयमा स्रोतले अनभिज्ञता प्रकट गर्यो ।
‘बाहिरबाट हेर्दा सम्वन्ध सुमधुर छ, मनभित्र एक–अर्काप्रति कुनै चिसोपना छ भने जानकारी भएन,’ स्रोतले भन्यो ।
क्यानले सन्दीपको प्रस्तावका विषयमा आन्तरिक छलफल गरे तापनि कुनै निस्कर्षमा पुगेको छैन । क्यानभित्रै गोप्य राखिएको विषय आज सन्दीप आफैंले फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनले आफू बार्षिक सम्झौताबाट अलग भए तापनि नेपाली टिमबाट खेलिरहने बताएका छन् ।
क्यानको वर्गिकरणमा सन्दिप पहिलो श्रेणी ‘ए’ मा छन् । ‘ए’ श्रेणीका खेलाडीहरुलाई क्यानले मासिक १ लाख रुपैयाँ पारिश्रमिक दिन्छ ।
सन्दीप निकट स्रोतका अनुसार उनले नेपाली राष्ट्रिय टिमबाट खेल्न छोड्ने मनसाय बनाएका छैनन् । यद्यपि, उनको यो कदमले कुनै न कुनै असन्तुष्टिको छनक अवश्य मिल्छ । आखिर के कुरामा असन्तुष्ट छन् त सन्दीप ?
केही समयअगाडि घरेलु म्याचमा अम्पायरिङ कमजोर भएको विषयमा फेसबुकमा स्टाटस लेखेपछि क्यानले सन्दीपलाई कारवाही गरेको थियो । उनलाई क्यानले आयोजना गर्ने एउटा घरेलु म्याचमा प्रतिवन्ध लगाइएको छ । क्यानको उक्त कदमले सन्दीप दुखी बनेका थिए । यद्यपि, उनले क्यानको निर्णयमाथि कुनै सार्वजनिक टिकाटिप्पणी गरेनन् ।
त्यसअगाडि विभिन्न सन्दर्भमा सन्दीपले असन्तुष्ट भाव झल्किने पोस्टहरु बेलाबखत गर्ने गरेका छन् । कतिपय पोस्टहरु उनले भावावेशमा पनि गर्ने गरेको निकटस्थहरु बताउँछन् । गत वर्ष माघमा उनले क्रिकेटबाटै सन्न्यास लिन लागेको जस्तो भाव झल्किने स्टाटस लेखेका थिए ।
सन्दीप नेपाली टिमका पूर्वकप्तान पनि हुन् । कप्तान रहेकै बेला अदालतमा मुद्दा परेपछि उनी निलम्बित मात्र भएनन्, पक्राउ परेर केही समय हिरासत समेत बस्नु परेको थियो । त्यसबेलादेखि नै क्यानले उनलाई निरन्तर साथ र सहयोग गर्दै आएको छ । सन्दीप पक्राउ पर्दा क्यान अध्यक्ष चतुरबहादुर चन्दले अभिभाकत्वको प्रदर्शन गरेका थिए । पारस सचिव भएर आएपछि पनि सन्दीपलाई निरन्तर साथ र सहयोग दिइराखे ।
पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिग एनपीएलमा सन्दीप बिराटनगरको टिम कप्तान थिए । यसैगरि, उनले जय ट्रफीमा बाग्मतीको कप्तानी गरे । क्यानले सेन्ट्रल कन्ट्राक्टमा ए श्रेणीमा राखेकोले पनि सन्दीपले गुनासो गर्ने ठाउँ छैन । सन्दीपले नपाएको भनेको यसअघि खोसिएको ‘कप्तानी’ मात्रै हो ।
सन्दीपमाथि मुद्दा परेर निलम्बित भएसँगै क्यानले उनको ठाउँमा रोहित पौडेललाई कप्तान बनाएको थियो । युवा खेलाडी रोहितले अहिलेसम्म टिमको कप्तानी गरिरहेका छन् । यद्यपि, उनको कप्तानीमा नेपाली टिमले पछिल्लो समय सोचेजस्तो नतिजा निकाल्न सकिरहेको छैन । खासगरि लिग २ मा नेपाल अप्ठेरो अवस्थामा छ र यदि अबको श्रृंखलामा पनि नेपालले खराब प्रदर्शन गरेको खण्डमा नेपालको ओडीआइ स्टाटस समेत धरापमा पर्ने छ । त्यस्तो अवस्थामा रोहितको कप्तानी संकटमा पर्न सक्ने र क्यानले नयाँ कप्तानको खोजी गर्न सक्ने स्रोतहरु बताउँछन् ।
हालै नेपाली टिममा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । दिपेन्द्र खासमा रोहितभन्दा सिनियर खेलाडी हुन् जो पहिले पनि उपकप्तान थिए । बीचमा उनलाई क्यानले नै अनुशासनको कारवाही गरेर उपकप्तानबाट हटाएको थियो । अहिले फेरि उनलाई उपकप्तान बनाउको अर्थ पछि रोहितलाई प्रतिस्थापन गर्ने रणनीति हो कि भन्ने कतिको बुझाइ छ । अहिले सन्दीपको अहिलेको कदमलाई त्यससँग जोडेर हेर्नेहरु पनि छन् । तर, सन्दीपले फेरि कप्तान बन्ने चाहना सार्वजनिकरुपमा प्रकट गरेको भने पाइदैन ।
नेपाल टिम लिग २० लगायतका श्रृंखलाका लागि आज प्रस्थान गरेको छ । सन्दीप पनि टिमसँगै छन् । कप्तान रोहित पौडेल भने परीक्षाका कारणले टिमसँग जान पाएनन् । उनी दुई दिनपछि जाने क्यानले जनाएको छ ।

Leave a Reply