रुपन्देहीका होटल व्यवसायीको माग- नाकापिच्छे फरक रुट परमिट शुल्ककाे व्यवस्था सच्याऊ

रुपन्देही । सिद्धार्थ होटल संघ नेपालले रुपन्देहीलगायत पश्चिम नवलपरासी र कपिलवस्तुका नाकामा भारतीय पर्यटकका लागि दिइँदै आएको फरक-फरक रुट परमिट व्यवस्थाले भैरहवा र आसपास क्षेत्रको पर्यटन व्यवसाय प्रभावित बनेको जनाएको छ ।

सरकारले ८० किलोमिटर सिमानामा ५ वटा भन्सार नाका सञ्चालन निर्णय गरेको छ । यस्तो निर्णयका कारण रुपन्देहीको बेलहिया-सुनौलीबाहेक अन्य नाकाबाट पनि भारतीय पर्यटकले प्रवेश पाउने भएका छन् ।

सरकारी निर्णयपछि भैरहवा क्षेत्रमा भित्रिरहेको लगानी र चहलपहल प्रभावित हुने संघले जनाएको छ । होटल संघका अनुसार अहिले बेलहिया नाका हुँदै प्रवेश गर्ने पर्यटकलाई परमिट शुल्कवापत एउटा सवारीसाधनबाट ६०० रुपैयाँ लिने गरिएको छ ।

‘तर रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीस्थित अन्य नाकाबाट तीनै गाडीमा आउँदा परमिट शुल्क नलाग्ने व्यवस्थाको हामी घोर भर्त्सना गर्दछौं’, संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस्तो निर्णयले लगानीकर्तालाई हतोत्साहित तुल्याएको छ ।’

प्रेस विज्ञप्तिमा बेलहियाबाहेक लुम्बिनी, महेशपुर, लुम्बिनी र कृष्णनगर नाकाबाट गाडी प्रवेश गर्दा परमिट शुल्क नलाग्ने व्यवस्थाको विरोध गरिएको छ ।

सिद्धार्थ होटल संघले यस्तो निर्णय सच्याउन मागसमेत गरेको छ । निर्णयबारे पुनर्विचार नगरे आन्दोलन गर्ने चेतावनी समेत सिद्धार्थ होटल संघले दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *