काठमाडौं । यही जेठ २ गते शुक्रबार रिलिज हुने चलचित्र ‘के घर के डेराः घर नं २’को अग्रिम बुकिङ खुला भएको छ । मंगलबार साँझदेखि अग्रिम बुकिङ खुला गरिएको यस चलचित्रले देशभर उच्च शो पाएको छ ।
चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २५ शो र उपत्यका बाहिर २२ शो दिएको छ । चलचित्रलाई क्यूएफएक्सका आउटलेटले पनि ४७ शो दिएको छ ।
त्यसैगरी आईएनआईले आफ्ना चार वटा आउटलेटमा १५ शो, वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार र एफक्यूबले चार शो दिएका छन् ।
चलचित्र वितरक करण श्रेष्ठका अनुसार केही हलले शो खोल्न बाँकी छ । भोलि बिहानसम्ममा देशभरका हलहरूको शोको यकिन तथ्यांक आउने उनको भनाइ छ ।
दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेराः घर नं २’ मा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासनासिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सञ्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारको अभिनय छ ।
साहित्यकार बुद्धिसागरले लेखेका यस चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनले निर्माण गरेका हुन् । चलचित्रका निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन भने कार्यकारी निर्माताको रूपमा युवराज कार्की रहेका छन् ।

Leave a Reply