प्रेस चौतारीको प्रशिक्षण वर्ष- मिसन ०८४ सफल पार्न नेताका घर होइन, जनताको आँगनमा जाऔं

मंगलबार राति हामी बालुवाटारमा थियौं । सम्माननीय प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनसंगठनका नवनिर्वाचित पदाधिकारीसँग भेट्ने उक्त कार्यक्रममा उहाँका महत्वपूर्ण निर्देशन मन्तव्य हामीलाई प्राप्त भयो ।

प्रेस चौतारी नेपालले २०८२ साललाई प्रशिक्षण वर्षको रूपमा मनाउने भएको छ । त्यसको लोगो सम्माननीय प्रधानमन्त्रीज्यूले सार्जजनिक गर्नुभएको छ । प्रेस चौतारीले भनेको प्रशिक्षण वर्ष र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेडले व्यक्त गर्नुभएको मन्तव्यका केही पक्ष चर्चायोग्य छ ।

यतिबेला नेकपा (एमाले) देशको नेतृत्व गर्ने राजनीतिक दलका रुपमा अगाडि बढिरहेको छ । भविष्यमा यसले एकल बहुमतका साथ मुलुकको नेतृत्व गर्दै सुखी नेपाली, समृद्ध नेपालको परिकल्पनालाई सार्थक तुल्याउने अभिभारा राति बालुवाटारमा जम्मा भएका जनसंगठनका प्रत्येक नेता, कार्यकर्ताको काँधमा निर्भर छ । त्यसैले चलेका भ्रम चिरेर सत्यको पक्षमा उभिन हामीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेडले प्रेरित गर्नुभएको छ, मार्गनिर्देशित गर्नुभएको छ ।

प्रशिक्षण र प्रधानमन्त्री

वास्तविकता के हो भने, हिजो जस्तो एमाले थियो, आज त्यस्तो छैन । त्यसरी नै, हामीले जस्तो प्रेस चौतारी बनायौं, आज त्यस्तो छैन ।

यसो हुनुको पछाडि समयको दोष होला । प्रविधि र त्यसले ल्याएका चुनौतीका कुरा होलान् । तर, सबैभन्दा मुख्य पक्ष भनेको हामी नै जिम्मेवार, जवाफदेही, लगनशील, अनुशासित र वैचारिक हुने कुरा हो ।

कम्युनिष्ट पार्टीको एउटा कार्यकर्ता राजनीतिक र वैचारिक चेतनाले पूर्णतः सक्षम र सवल हुनुपर्छ । संगठन निर्माण, परिचालन र व्यवस्थापनका निम्ति कम्युनिष्ट आन्दोलनभित्र अनेकन विधि र अभ्यास छन् । कमिटी प्रणालीका अलग्गै तरिका छन् । ती के के हुन् ? यति कुरा जान्ने कतिजना पत्रकार आज प्रेस चौतारीमा छन् ? यो मुख्य सवाल हो । त्यसैका निम्ति हाम्रो संगठनले यो वर्षलाई प्रशिक्षण वर्ष भनेको हो ।

हामी यसै पनि पत्रकार हौं । हामीलाई ‘फाइभ डब्ल्यू वान एच’ थाहा छ । समाचार लेख्छौं । फिचर बनाउँछौं । अन्तर्वार्ता लिन्छौं । स्टिङ अपरेशन पनि गर्छौं । यो समाजमा हामी यस्ता मान्छे हौं, हामीले समाजका सारा पक्षमाथि औंला उठाउँछौं । तर, समाजसँग हामीमाथि औंला उठाउने छुट छैन वा त्यस्तोखाले मानक स्थापित छ ।

एउटा पत्रकारले प्रेस चौतारी हुनका निम्ति समाचार वा फिचर लेखेर, अन्तर्वार्ता लिएर वा कुनै विषयको विश्लेषण गरेरमात्रै पुग्दैन । प्रेस चौतारी हुने अलग्गै शर्त हुन्छ । मार्क्सवाद के हो ? ऐतिहासिक द्वन्द्वात्मक भौतिक र यसका नियम के हुन् ? त्यसका सार र रूप के हो ? त्यसका सार पक्षभित्र हामी कहाँ छौं ? अथवा, वर्तमान नेपाली समाजभित्र मार्क्सवादको सान्दर्भिकता र पत्रकारितामार्फत त्यो विचार दर्शनको अभ्यास कसरी हुन्छ ? अरु पत्रकार र प्रेस चौतारीको पत्रकार हुनुमा के फरक हो ? मार्क्सवाद बुझेको र नबुझेको मान्छेमा कति हुन्छ ?

यी र यस्ता थुप्रै विषय प्रेस चौतारीका साथीहरूलाई भन्नु छ । जानेकालाई फेरि एकपल्ट झक्झक्याउनुछ, नजानेकालाई सिकाउनुछ । त्यसैले २०८२ प्रशिक्षण वर्ष हो । पेशागत दक्षता अभिवृद्धिका कुरा त छँदैछन् । तर, संगठनमा आवद्ध साथीहरुलाई वैचारिक, राजनीतिक र सांगठानिक पक्षलाई तेजिलो नबनाई एउटा वैचारिक संगठन पूर्ण हुन सक्दैन ।

यसरी पत्रकारलाई सांगठानिक बनाउने कार्यभार प्रेस चौतारीले सम्पन्न गर्ने संकल्प गरिरहँदा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षले अगाडि सार्नुभएका विषय मननिय छन् ।

हामी पत्रकारमात्रै हैनौं, पार्टीको प्रचार फाँटका कार्यकर्ता पनि हौं । जो यो कुरा मान्न तयार छैन, ऊसँग प्रेस चौतारी हुँ भन्ने अधिकार हुँदैन । जो प्रेस चौतारी हो, उसले पार्टी, त्यसको नेतृत्व र त्यसले सञ्चालन गरेको सरकारका विरुद्ध चलेका अफवाहको प्रतिकार गर्नैपर्छ । यदाकदा नेतृत्व गलत छ भने उसलाई ‘तिमी यहाँ गलत छौ’ भन्ने ठाउँ हाम्रो पार्टीले बनाइदिएको छ । त्यहाँ भनौं । जे-जे सत्य हो, त्यसका पक्षमा उभिनु प्रेस चौतारी र यसका तमाम नेता, कार्यकर्ताको अभिभारा हो ।

हामी प्रचार फाँटमा काम गर्ने कारण प्रचारको मोर्चाबाट पार्टी र सरकारमा रहेका पार्टीका नेताले हामीबाट गर्ने अपेक्षा भनेकै अफवाहविरुद्ध उभिनका निम्ति हो ।

०८४ को चासो

हामी ‘मिसन ०८४’ भन्दैछौं । त्यो भनेको अबको निर्वाचनमा नेकपा (एमाले) को श्रेष्ठता स्थापित गर्ने संकल्प हो । हामी सांगठानिक र राजनीतिक चरित्रका साथ जनताको बीचमा जानुपर्छ । एमालेका इतिहास र आदर्शनको स्मरण गराउँदै कमरेड केपी ओलीले अगाडि सार्नुभएको सुखी नेपाली र समृद्ध नेपालको संकल्पबारे जनतालाई स्पष्ट पार्नुपर्छ । र, त्यसका निम्ति हाम्रा जनसंगठन बलियो हुनुपर्छ ।

शक्तिले मात्रै हैन, विचार, सिद्धान्त र संकल्पले बलियो हुनुपर्छ । त्यसबाट देशले एउटा सुदृढ नेकपा (एमाले) को नेतृत्व पाउँछ । सुन्दर मुलुकको निर्माण गर्ने स्वर्णीम अवसर हामीसँग आउँछ । त्यसैले प्रेस चौतारी प्रशिक्षणका साथ अगाडि बढ्दैछ ।

प्रशिक्षणले नजानेकालाई जान्ने बनाउँछ र जानेकालाई अझ दृढ वैचारिक बनाउँछ । कमिटी प्रणालीमा आधारित नेपाली कम्युनिष्ट आन्दोलनभित्र विशेषतः नेकपा (एमाले) भनेको सबैभन्दा बलियो सांगठानिक आधार भएको राजनीतिक दल हो । यसको सञ्जाल सात प्रदेश, ७७ जिल्ला, ७४० स्थानीय तह, प्रत्येक वडा र टोलमा फैलिएका छन् ।

मानिसहरुको जमघटले संगठन बन्छ र ती मानिसहरू राजनीतिक र सांगठानिक बनाउनुमा एउटा राजनीतिक दलको सफलता निर्भर हुन्छ । त्यही कामका निम्ति पत्रकार समुदायमा प्रेस चौतारीले प्रशिक्षण वर्ष भनेजस्तो अरु अरु संगठनले पनि यस्तो गर्नुपर्छ ।

हामीमा ‘मिसन ०८४’ भनेर नेताकहाँ धाउने र टिकट माग्ने चलन छ । त्यो लहर चलिसकेको छ । ‘मिसन ०८४’ नेताका घरमा धाएर सफल हुँदैन । बरु, असफल हुन्छ । ‘मिसन ०८४’ लाई सफल पार्न हामी जनतामा जानुपर्छ, आजैदेखि । नेताले कोही व्यक्तिलाई टिकट दिए वा दिएनन् भने केही फरक पर्दैन । एमालेले त्यो चुनावमा आफ्नो श्रेष्ठता स्थापित गरेन भने धेरैथोक फरक पर्नेवाला छ ।

देशको हित, उन्नति र प्रगतिमा फरक पर्छ । सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा फरक पर्छ । त्यसैले ‘मिसन ०८४’ को संकल्प पूरा गर्न नेताका पोल्टामा चाकडी र स्तुति पुर्‍याउने हैन, जनताका घर आँगनमा पार्टीका नीति, कार्यक्रम र योजना बोकेर जाऔं ।

त्यस्तो दस्ता निर्माण गर्न प्रेस चौतारी आज प्रशिक्षणमा तल्लिन भएको हो ।

(लेखक प्रेस चौतारीकी केन्द्रीय उपाध्यक्ष हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *