नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणशे कार्कीले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन् । फ्रान्सको राजधानी पेरिसमा आयोजित फ्रान्स(नेपाल जलविद्युत् लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढीरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युतको महत्वपूर्ण भूमिका रहने हुनाले बजारको चिन्ता नगरी नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

सन १९९९ अघि नेपालको कुल विद्युत उत्पादन क्षमता २५० मेगावाट रहेकोमा निजी क्षेत्र प्रवेश गरेको २५ वर्षमै आज नेपालले ३,५०० मेगावाट विद्युत उत्पादन क्षमता पुर्‍याएको छ । यसमा निजी क्षेत्रको योगदान ८० प्रतिशत अर्थात २८०० मेगावाट पुगेको कार्कीले जानकारी गराए ।

नेपालले प्राप्त गरेको यस उपलब्धीमा फ्रान्सको पनि साथ र सहयोग रहेको स्मरण गराउँदै कार्कीले द्विपक्षीय सम्बन्ध, वित्तीय उपकरण, प्राविधिक सहयोग र संस्थागत विकासमा नेपाल र फ्रान्सले सहयकार्य गरिरहेको पनि बताएका थिए । यस्ता साझेदारीले दिगो, समावेशी र जलवायु प्रतिरोधी ऊर्जा विकासप्रति नेपाल र फ्रान्सको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरिरहेको उनको भनाई थियो ।

त्रिशूली नदीमा निर्माणाधिन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा फ्रान्सले वित्तीय सहयोग गरेको कार्कीले स्मरण गराएका थिए । यस परियोजनाको लागि फ्रान्सले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग मिलेर ४५३ मिलियन अमेरिकी डलरको ऋण उपलब्ध गराएको थियो । यो परियोजनाबाट नेपालको विद्युत आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यस्तै सन् २०२५ मा फ्रेन्च दूतावास, नेपाल विद्युत प्राधिकरण, र ब्लू वाटर इन्टेलिजेन्स बीचको सहकार्यमा सुरु गरिएको हाइड्रोनेपाल परियोजनाले कृत्रिम बुद्धिमत्तामा आधारित उपकरणहरू प्रयोग गरी नदी बेसिनहरूलाई डिजिटल बनाउने र जलवायुगत पूर्वानुमान क्षमतामा सुधार ल्याउने कार्यमा सहयोग पुर्‍याइरहेको पनि कार्कीले बताए ।

सार्वजनिक–निजी सहकार्य अन्तर्गत सुरु भएको हाइड्रोनेपाल जस्तै मोडेलमा कार्बन ट्रेड, सीमापार व्यापार, र अनुसन्धान जस्ता क्षेत्रहरूमा पनि काम गर्न सकिने उनको भनाई थियो । जलविद्युत उपकरण, स्मार्ट ग्रिड प्रणाली, र इन्जिनियरिङ सेवामा विशेषज्ञता राख्ने फ्रेन्च कम्पनीहरू नेपालको बढ्दो ऊर्जा बजारसँग सहकार्य गर्दा उपयुक्त हुने कार्कीले बताए । यस्ता साझेदारीहरूले रोजगारी सिर्जना, आर्थिक वृद्धि, र अत्याधुनिक प्रविधिको हस्तान्तरणमा पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *