एनआरएन विवादबारे प्रधानमन्त्री- बद्री केसीको वैधानिक कार्यकाल अझै कायम छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली संघलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गरेका छन् ।

संघद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को उद्घाटन गर्दै ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्ति देखा पर्नु उचित नहुने प्रष्ट्याए । संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न ओलीको आग्रह थियो ।

एनआरएनको वर्तमान अध्यक्ष डा. बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिवत महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने ओलीले विश्वास जनाए ।

एनआरएनएसँग सम्बन्धित कानूनमा गर्नुपर्ने संशोधनका लागि प्राप्त सुझावका आधारमा सरकारले काम गर्ने उनको प्रतिवद्धता जनाए ।

‘आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनुन उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा यो विकास नहोस्’, उनले भने ।

नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट विचलित नहुने उनले आग्रह गरे ।

‘यसमा दलीय राजनीति गर्नु हुँदैन र विभाजनको प्रयास सफल हुँदैन । विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ’, ओलीले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *