मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको टेन्डर विवादित, प्राविधिक मूल्यांकन लुकाएर चलखेल !

काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाले नयाँ भवनको डीपीआरका लागि निकालेको टेन्डरमा अनियमितताको आरोप लागेको छ । निश्चित कम्पनीलाई टेन्डर पार्ने हेतु पहिल्यै सेटिङ मिलाइएको भन्दै सरोकारवालाहरूले विभिन्न निकायमा उजुरी गरेका छन् ।

प्रतिष्ठानले हेल्थ साइन्स विल्डिङको डीपीआरका लागि गत २०८१ फागुन २१ गते प्राविधिक तथा आर्थिक प्रस्तावको माग गरेको थियो । आवेदन दिएकामध्ये ४ वटा कम्पनी प्राविधिक प्रस्ताव मूल्यांकनमा सफल भएका थिए । २५ वैशाखमा प्रतिष्ठानको कार्यालय टीएसएन रोड हेटौंडामा आर्थिक प्रस्ताव खोलिने भन्दै १७ गते सूचना प्रकाशित गरियो ।

तोकिएको दिन आर्थिक प्रस्ताव खोल्ने क्रममा सार्वजनिक खरिद नियमावलीको उल्लंघन भएको सरोकारवालाहरूले बताएका छन् । सर्ट लिस्टमा परेका ६ वटा परामर्शदाताले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी गरी पेश गरेका थिए । खरिद नियमावलीअनुसार पहिले प्राविधिक प्रस्ताव मूल्यांकन गर्दा प्राप्त प्राप्तांक र आर्थिक प्रस्ताव दुवैको मुचुल्का गरी सही छाप गर्नुपर्ने थियो । तर यो प्रावधान विपरीत प्राविधिक प्रस्तावको अंक गुपचुप राखी नियम विपरीत गरिएको दावी सरोकारवालाहरूको छ ।

यो विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । गत २८ वैशाखमा अख्तियारले दर्ता गरेको उजुरीमा उल्लेख भए अनुसार उक्त टेन्डरमा चारवटा नियम विपरीतका काम भएका छन्, जुन यी हुन्:

–आर्थिक प्रस्ताव खोलेपछि पहिला नै मूल्यांकन भएको प्राविधिक प्रस्तावको अंक भार पनि राखी मुचुल्का बनाउनु पर्नेमा प्राविधिक प्रस्तावको अंक भार लुकाइराखिएको ।

– प्राविधिक प्रस्ताव बनाउँदा कार्यालयको कर्मचारीभन्दा बाहिरको व्यक्तिलाई (आवेदकसँग सम्बन्धित) लगाई पहिले नै आफ्नो सम्बन्धित परामर्शदातालाई मिल्ने गरी कागजपत्र तयार गरिएको ।

–मिलेमतो गर्नको लागि पहिला नै दशौं लाखमा आर्थिक चलखेल गरी कार्यालयका कर्मचारीमार्फत सेटिङ्ग मिलाएको ।

–आर्थिक प्रस्ताव खोलेपछि रातभरि प्राविधिक प्रस्तावको अंक भार मिलाई बढी रकमका प्रस्तावकलाई स्वीकृति गर्नको लागि चलखेल गरी संस्थालाई हानि नोक्सानी पुर्‍याउने काम गरेको ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टारलाई पनि ठेक्का प्रक्रिया रद्द गर्न माग गर्दै निवेदन दिइएको छ । सो निवेदनमा आर्थिक प्रस्ताव खोल्ने क्रममा सार्वजनिक खरिद नियमावलीको नियम ७९ को उपनियम २ लाई उल्लंघन गरिएको उल्लेख छ । साथै, प्रतिष्ठानको आरएफपी (rfp document) को Section 2 Instruction to consultant (ILT) and data sheet को clause 23.1 /, 23.2 को बर्खिलाप हुने गरी सम्बन्धित परामर्शदाताहरुको प्राविधिक मूल्यांकनको अंक थाहा नदिइ आर्थिक प्रस्ताव खोलिएको निवेदनमा जनाइएको छ । निवेदकले खरिद प्रक्रिया अगाडि नबढाउन चेतावनी समेत दिएका छन् ।

नियमअनुसार प्राविधिक र आर्थिक मूल्यांकनको प्राप्तांक समावेश गरेर सबैभन्दा बढी ल्याउनेलाई छनोट गर्नुपर्ने प्रावधान छ । जसअनुसार २५ गते नै दुवै प्राप्तांक आएर कम्पनीको छनोट हुनुपर्ने थियो । तर, आफूले चाहेको कम्पनी छनोट गर्न मूल्यांकन भएको प्राविधिक अंक लुकाइएको आशंका अन्य प्रतिस्पर्धी कम्पनीहरुले गरेका छन् ।

एक कम्पनीका प्रतिनिधिले भने, ‘प्राविधिकतर्फको प्राप्तांक लुकाएर निश्चित कम्पनी उत्कृष्ट ठहरिने गरी आर्थिक प्राप्तांक समायोजन गर्न यो हत्कण्डा अपनाइएको हो ।’

उजुरी परेपछि प्रतिष्ठानले ठेक्काका लागि कम्पनीको अन्तिम छनोट गर्न सकेको छैन । बुझिए अनुसार यो ठेक्काको रकम ५० लाख रुपैयाँ रहेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बाग्मती प्रदेश मातहतको संस्था हो । ५ वर्ष अगाडि स्थापना भएको यो संस्था राजनीतिक कोपभाजनमा परेर अस्तव्यस्त बन्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *