हामी सामाजिक सञ्जाल प्रयोग गर्दैछौँ कि द्वन्द्व बढाउने प्लेटफर्म ?

हामी डिजिटल युगमा छौँ । अहिले विचार सार्वजनिक गर्न सार्वजनिक सञ्चारमाध्यम कुर्नै पर्दैन । विचार अभिव्यक्त गर्न आफ्नै नियन्त्रणमा रहेको सामाजिक सञ्जाल पर्याप्त छ, शक्तिशालीसमेत छ । फेसबुक, एक्स (ट्विटर), यूट्युब, इन्स्टा र टिकटक जस्ता प्लेटफर्महरूले विश्वव्यापी मञ्च प्रदान गरेका छन् । मानिसले आफूलाई विश्वस्तरमा क्षणभरमै पुर्‍याउन सक्ने यी प्लेटफर्महरूलाई नकारात्मकताको थलो बनाइरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा व्यक्तिका आलोचना, चरित्रहत्या र सामाजिक असहिष्णुताको अवस्थाको हद पार हुँदै गएको छ । आजकलको सञ्जाल सन्देशहरूको प्रवृत्ति एकतर्फी, विकृत र अतिरञ्जित देखिन्छ ।

केही दिनअघि अभिनेत्री सुरक्षा पन्त टेलिभिजन कार्यक्रम ‘रजतपट’मा सहभागी भइन् । जहाँ उनले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई फिल्म उद्योगमा आउन प्रोत्साहित गरिन् । उनले हृदयेन्द्रको लोकप्रियता र राम्रो फ्यान फलोअरको कुरा गर्दै भनेकी थिइन्, ‘यदि उहाँ फिल्म उद्योगमा आउनुभयो भने उहाँको भविष्य उज्ज्वल हुनेछ ।’

उनको यो अन्तर्वार्ता सामान्य थियो । सकारात्मक नै थियो उनको भनाइ, तर सामाजिक सञ्जालमा यति कुरालाई यसरी अतिरञ्जित बनाइयो कि हृदयेन्द्रलाई चलचित्र क्षेत्रमा आउनुस् भनेर उनले ठूलै अपराध गरिन् । सुरक्षा पन्तले उक्त भनाइको सन्देशलाई एकदमै सरल र सकारात्मक रूपमा प्रस्तुत गरेकी थिइन् । तापनि केही आफूलाई राजावादी भन्नेहरूले उनको यो भनाइलाई विकृत अर्थमा प्रस्तुत गरे, आलोचना गरे । सुरक्षा पन्तलाई ‘झोले’ भनेर सम्बोधन गर्दै उनलाई गालीमात्र हैन, उनको चरित्रहत्यासमेत गरियो ।

कतिसम्म भने उनको चलचित्र बहिष्कारको अभियानसमेत चलाइयो । यो घटनाले देखाउँछ कि एक साधारण भनाइलाई सामाजिक सञ्जालमा कस्तो गरी अतिरञ्जित र विकृत ढंगले प्रस्तुत गर्न थालिएको छ । जहाँ मानिसका मनोविज्ञान प्रकट हुन्छ । यतिसम्म कि विवाद र चरित्रहत्या सृजना गर्नसक्छ ।

फेसबुक, एक्स (ट्विटर), यूट्युब, इन्स्टा र टिकटक जस्ता प्लेटफर्महरूले विश्वव्यापी मञ्च प्रदान गरेका छन् । मानिसले आफूलाई विश्वस्तरमा क्षणभरमै पुर्‍याउन सक्ने यी प्लेटफर्महरूलाई नकारात्मकताको थलो बनाइरहेका छन् ।

केही समयअघि गायक तथा नायक प्रकाश सपूतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भइरहेको केही सकारात्मक कामहरूको प्रशंसा गरेका थिए । उनले बोलेको प्रधानमन्त्रीबारे सकारात्मक कुरालाई लिएर सामाजिक सञ्जालमा उनको विरोध सुरु भयो । केहीले उनलाई ‘प्रचारक’ र ‘चाकरीबाज’ भनेर गाली गरे । कतिसम्म भने उनलाई जातीय रूपमै गालीगलौज गर्दै उनको पहिलो फिल्म पनि बहिष्कार गर्न आह्वान गरियो ।

यस्ता घटनाले नेपाली समाजमा केही समययता प्रयोग गर्न थालिएको सामाजिक सञ्जाललाई कसरी उपयोग गरिँदैछ भन्ने उदाहरण देखाउँछ । यद्यपि नकारात्मक रूपमै हुने घटनाहरू हेर्दा पनि सामाजिक सञ्जाल पछिल्लो समय कति शक्तिशाली हुँदै गएको छ भन्ने बुझ्न सकिन्छ । एक हिसाबले हेर्दा अहिले प्रचारदेखि व्यक्तिको जीविकोपार्जनको आधारसमेत यिनै सञ्जाल हुन थालिसकेभन्दा अतियुक्ति नहोला । कहिलेकाहीँ देशको राजनीतिक आरोपप्रत्यारोप र ‘आफू ठूलो हुँ’ भनेर देखाउने दम्भको श्रृङ्खलाहरू देख्दा दलीय युद्ध हुने थलो नै सञ्जाल हो कि झैं भानसमेत हुन्छ ।

सरकार गठन र विघटनका घटनाक्रमहरू सार्वजनिक भइरहँदा पछिल्ला महिनाहरूमा प्रमुख राजनीतिक दल एमाले र माओवादीका कार्यकर्ताबीच सामाजिक सञ्जालमा व्यापक वाकयुद्ध चलिरहेको देखिन्छ । वैशाख ११ गते काठमाडौं उपमहानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले ‘स्टन्ट हैन एमालेले काम गर्छ’ भन्दै युवा भेलामा भाषण गरिन् । त्यसपछि उनका नाममा तथानाम गालीको वर्षा जस्तै भयो । जबकि डङ्गोलले महानगरमा परिपक्व नेतृत्व दिँदै आएकी छन् भन्ने विश्लेषण कमेन्ट गर्नेहरूले विश्लेषणसमेत गर्न सकेनन् । प्रधानमन्त्री केपी ओलीमाथिको रिस लगेर काठमाडौं महानगरकी उपमेयरमाथि पोखे ।

कहिलेकाहीँ देशको राजनीतिक आरोपप्रत्यारोप र ‘आफू ठूलो हुँ’ भनेर देखाउने दम्भको श्रृङ्खलाहरू देख्दा दलीय युद्ध हुने थलो नै सञ्जाल हो कि झैं भानसमेत हुन्छ ।

यही बीचमा अर्को उदाहरण छ, चितवनको ६ लेन सडकको उद्घाटन ! उक्त मार्गको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि, एमाले र माओवादी समर्थकहरूबीच तीव्र वाकयुद्ध भएको थियो । वाकयुद्ध पोखिने थलो थियो, सामाजिक सञ्जाल । यस्ता अनगिन्ती उदाहरण छन्, जहाँ राज्यका ससाना कामदेखि समाजका मसिना विषयहरूमा समेत वाकयुद्ध सञ्जाल केन्द्रित छ । हुन त सामाजिक सञ्जाल पनि त्यस्तो स्थल हो, जहाँ फरक-फरक विचार भएका मानिस जोडिन सक्छन् । जसरी चिया चौतारीमा चियाको चुस्कीसँगै गरमगरम राजनैतिक, सामाजिक चर्चा हुन्थ्यो, यहाँ पनि मानिस त्यसैगरी प्रस्तुत हुन्छ । सार एउटै हो, रूपमात्रै भर्चुअल भयो ।

विशेषगरी नेपाल सामाजिक प्रविधि प्रयोगको प्रारम्भमा नै छ । हामीले व्यावसायिकतासँगै विचार अभिव्यक्तिको माध्यम सामाजिक सञ्जाललाई बनाउनुपर्ने हो । जसको माध्यमले राजनीतिक विचारको आदानप्रदानमा रचनात्मकता, व्यक्तिको सीपमा, पेशामा निखार ल्याउनुपर्ने हो, तर यी मञ्च बौद्धिकता बाँड्नेभन्दा पनि आलोचनाको थलोमात्रै बन्दै जाँदा सामाजिक तथा वैचारिक विभाजन र द्वन्द्वको जोखिम बढ्दै गएको देखिन्छ ।

आजकलका विभिन्न घटना र अभिव्यक्तिहरूमा एक-अर्काको विचारका प्रति असहिष्णु र व्यक्तिगत हमला बढेको देखिन्छ । यो स्थिति सामाजिक सञ्जालको विशेषतासँग जोडिएको छ, जहाँ प्रत्येक व्यक्तिको धारणा र विचारलाई आलोचना गर्न सहज पहुँच उपलब्ध छ । र, त्यही कारणले पनि सार्वजनिक व्यक्तित्वको भनाइलाई विकृत रूपमा प्रस्तुत गरिने भएको छ ।

सामाजिक सञ्जालका एल्गोरिदमहरूले विचार र प्रतिक्रियाहरूलाई अझ उत्तेजित बनाउँछन् । जसका कारण असहमति र आलोचना अत्यधिक देखापर्छ र यसबाट व्यक्तिको निजी जीवनमा असहज र मानसिक दबाब उत्पन्न गर्नसक्छ ।

सामाजिक सञ्जालका एल्गोरिदमहरूले विचार र प्रतिक्रियाहरूलाई अझ उत्तेजित बनाउँछन् । जसका कारण असहमति र आलोचना अत्यधिक देखापर्छ र यसबाट व्यक्तिको निजी जीवनमा असहज र मानसिक दबाब उत्पन्न गर्नसक्छ । हामीकहाँ डिजिटल संसारमा व्यक्तिको आलोचना र चरित्र हत्या एक सामान्य अभ्यास जस्तो बनिरहेको छ ।

सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणीहरूको परिणामस्वरूप सार्वजनिक व्यक्तित्वहरूको छवि कमजोर पारिन्छ । कलाकार, पत्रकार, सामाजिक अभियन्ता, नेताहरू कोही पनि यसबाट अछुतो छैन । यसले सार्वजनिक छविमा मात्र होइन, तिनीहरूको मानसिक र भावनात्मक स्वास्थ्यमा पनि गहिरो असर पार्नसक्छ । सामाजिक सञ्जाल एक शक्तिशाली प्लेटफर्म हो, जसले संवाद गर्न, आफ्नो विचार अभिव्यक्ति गर्न अवसर प्रदान गर्छ, तर यसको गलत प्रयोगले केवल द्वन्द्व र घृणा फैलाउनसक्छ ।

एक साधारण भनाइ वा विचारलाई अतिरञ्जित र विकृत रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले समाजलाई असहिष्णु र विवादको दिशातर्फ धकेलिरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ता हामीले विचार र प्रतिक्रिया व्यक्त गर्दा यसका परिणामहरूका बारेमा सचेत हुनुपर्छ । असहमति व्यक्त गर्न सकिन्छ, तर यसलाई निन्दा र गालीमा परिणत गर्नु गलत हो । सामाजिक सञ्जालको प्रयोग गर्दा सबै विचारशील र जिम्मेवार हुनु आवश्यक छ, ताकि यसले संवादको वातावरण सिर्जना गरोस्, न कि विभाजन र द्वन्द्वको ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *