काठमाडौं । लामो समयदेखि नयाँ र नवीकरणसमेत गरी करिब २७ लाखको सवारी लाइसेन्स प्रिन्ट रोकिएको छ । १४ महिना पहिले जस्तै वैशाख २५ बाट पुन: प्रिन्टरको समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागसँग लाइसेन्स छपाइमा प्रयोग हुने कार्ड अहिले ६ लाखमात्रै बाँकी छ ।
प्रिन्टर बिक्रेता कम्पनी मद्रास सेक्युरिटी र विभागका प्राविधिकहरूले अहिले चेकजाँच गरिरहेका छ्न् ।
यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाले भने, ‘अहिले प्रिन्टरको सफ्टवेयरमा समस्या आएको हो । विभागको सर्भरको डाटा प्रिन्टर सर्भरले नलिएर समस्या भएको हो । आज वा भोलिसम्म समाधान हुन्छ ।’
प्रिन्टिङ प्रणालीमा समस्या देखाउँदै अहिले अत्यावश्यक सवारी लाइसेन्स छपाइ पनि बन्द गरिएको छ ।
यातायात व्यवस्था विभागले आइतबार एक सूचनामार्फत् अर्को सूचना प्रकाशन नहुँदासम्म अत्यावश्यक चालक अनुमति पत्र छपाइ बन्द गरिएको विभागले जनाएको छ ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र ३ दिनभित्र छापेर दिँदै आएको थियो ।
विभागले प्रिन्टर बिग्रिए पनि अत्यावश्यक लाइसेन्सबाहकको आवेदन लिइरहेको बताएको छ । त्यस्तो आवेदक दैनिक करिब ३ सयजना हुन्छन् ।

Leave a Reply