प्रचण्डको पछिल्लो सक्रियताको संकेत- अब यसरी तंग्रिन्छ माओवादी आन्दोलन

विभाजन र एकताको विविध श्रृंखलाबाट गुज्रिँदै निर्माण भएको हो आजको नेकपा (माओवादी केन्द्र) । यसअघि नेकपा मसाल हुँदै संयुक्त जनमोर्चा थियो र २०४६ सालपश्चात २०४८ को आम निर्वाचनमा ९ वटा सीट ल्याएर संसदको तेस्रो शक्ति समेत बन्ने शक्तिकै रुपान्तरण हो, नेकपा (माओवादी) ।

२०४८ को आम निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको बहुमतको सरकार बन्यो र आन्तरिक कारणले नै ढल्यो । कोइरालाले २०५१ मा मध्यावधि निर्वाचन घोषणा गरे, जसलाई तत्कालिन संयुक्त जनमोर्चा नेपालले वहिष्कार गर्ने नीति लियो र क्रान्तिको तयारी गर्ने योजना बनायो । तत्कालीन चुनावी पार्टी जनमोर्चा र आन्तरिक पार्टी एकता केन्द्रभित्र भावि क्रान्ति र चुनावको बहस चल्यो । क्रान्ति गर्ने उद्देश्यसहित बहुमत सदस्यले माओवादी पार्टीको निर्माण गरे ।

जनयुद्धको सुरूवात र विरासत

जनयुद्ध आफैँमा ऐतिहासिक कदम थियो । खासगरी दुर्गम र दूरदराज क्षेत्रबाट पहल गरिएको राजनैतिक जागरण एवं सचेतना थियो । सुरूका दुःख कष्ट र संघर्षका बीचबाट माओवादी फैँलिदै गयो । संयोग मान्नु पर्छ त्यतिबेला पश्चिम नेपालका पहाडहरूका वनमा एउटा घाँस फैलियो जसलाई बनमारा भनिन्छ जसको विशेषता तीव्र बिस्तार जहाँ फ्याके पनि जाग्ने, जलाए पनि नष्ट नहुने जसको कारण सारै बनहरू ढाक्यो कतिपयले यसलाई माओवादी झार पनि भन्न थाले ।

आफ्नो संघर्षको बीचबाट तत्कालीन राज्य र त्यसका अबयबविरुद्ध सफलता प्राप्त गर्दै गयो । खुकुरी र लठ्ठीबाट सुरु गरेको युद्धले स्वचालित हतियारसम्म प्रयोग गर्न सक्षम भयो । सीमित व्यक्तिबाट सुरू गाभिएको अभियान व्यापक जनलहरमा बदलिँदै गयो । त्यसको लागि माओवादीले कठोर त्याग, तपस्या, अमूल्य क्षति र थुप्रै उतार चढाव व्यहोर्नु पर्‍यो । इतिहासमै आफ्नै जनसेना, जनसत्ता र जनकानून समेत निर्माण गर्‍यो ।

२०६१ सालसम्म आउँदा करिब ८०/८५ प्रतिशत नेपाली भूगोलमा आफ्नो पकड देखाउन सफल भयो जसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्वतन्त्र संस्थाले समेत पुष्टि गरे ठीक त्यतिबेलै तत्कालीन राजा ज्ञानेन्द्र ले संसदीय राजनितिमा ‘कू’ गरे र संसदवादी राजनितिक दलहरू पनि ‘कू’ का विरुद्ध आन्दोलित भए । जसले गर्दा संसदवादी नेताहरू राजाको जेल, नेल, दमन र निगरानीमा परे यसै परिवेशमा वामपन्थी दलहरू र गिरिजाप्रसाद कोइरालाको भूमिकामा प्रसिद्ध सिलगुडी वार्ता, रोल्पा भेटघाट हुँदै माओवादी र संसदवादी दलहरू बीचमा १२ बुँदे सम्झौता भयो । त्यही सम्झौताको जगमा नेपालको राजनीतिले नयाँ मोड लियो ।

माओवादीको फौजी संघर्षको व्याक सपोर्टमा १९ दिन चलेको आन्दोलन र जसलाई १९ दिने जनआन्दोलनको विजयसँगै संसदीय दलहरू माथिको प्रतिबन्ध हट्यो र नेताहरू मुक्त भय अर्कोतिर माओवादी आन्दोलन शान्तिपूर्ण बाटोमा आउने वातावरण बन्यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम सरकार निर्माण भयो ।

यसैबीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भयो । शान्ति पक्रियाको सुरुवात संगै माओवादी गाउँबाट शहरमा बिस्तार भयो । फलस्वरूप २०६४ को आम चुनावमा माओवादी देशकै ठूलो पार्टी बन्यो र प्रत्यक्षतर्फ एकल बहुमत नै प्राप्त गर्‍यो । यही सन्दर्भमा चर्चा गर्न खोजिएको बिषय चाहीँ माओवादीको सफलता, उचाइ, कमजोरी र विरासत नै हो ।

माओवादी सफलताका आधारहरू

१. माओवादीसँग भएको सही विचार र कार्यदिशा ।

२. राष्ट्र र जनताको लागि सपनामा समर्पित क्रान्तिकारी पार्टी ।

३. कुशल नेतृत्व (प्रचण्डको नेतृत्वमा) टीम ।

४. कुशल नेतृत्वको आदेशमा परिचालित र संकल्पित हजारौँ नेता तथा कार्यकर्ताहरूको पंक्ति ।

५. गहिरो जनसम्बन्ध (अपार जनताको सहयोग र माया) ।

६. तत्कालीन शाशकहरूको ब्यथिति भ्रष्टाचार प्रवृत्तिले छाएको जनतामा निराशा ।

७. तत्कालीन शासकहरूलाई गरेको अन्तर्राष्ट्रिय क्षेत्रको पहिला सहयोगपछि असहयोग ।

८. जनताको शुसासन, सुव्यवस्था र नयाँ नेपालप्रतिको उत्कट चाहना ।

९. माओवादीले उठाएका स्वशासन, अधिकारका लागी जनप्रिय र जनपक्षि एजेण्डा ।

माओवादी कमजोर हुनका कारणहरू

१. माओवादीको बिचार र दृष्टिकोणमा अलमल पर्नु खासगरी युद्धकालीन समयकै कार्यदिशालाई पकडि राख्नु । २०६४ मा भद्रगोलमा गोल हानेपनि शान्तिपूर्ण प्रतिस्पर्धाको रणनितिमा अन्योल रहनु ।

२. पार्टी फुट र विभाजनको सिकार हुनु । जस्तै आज माओवादी केही रेकर्डेट र सुन्नमा समेत आएका २८ टुक्रामा विभाजन भएको छ । जसको कारण जनमत र जनसम्बन्ध पनि विभाजित हुने नै भयो ।

३. जनसम्बन्धमा दरार पर्नु- नेता कार्यकर्ताको जीवनशैलीमा आएको परिवर्तनका कारण नेता कार्यकर्ता, जनतासँगको सम्बन्धमा संकट पर्नु ।

४. माओवादी नेतृत्वबाट जनअपेक्षा पूरा नहुनु ।

५. माओवादी माथि देशभित्रका सबै पुराना शक्तिहरू र घेराबन्दी गर्न केन्द्रित हुनु । जो पछिल्लो गठबन्धन मार्फत बनेको सरकारमार्फत पुष्टि हुन्छ

६. माओवादीले आफ्नो विगत भुल्नु ।

७. माओवादी सरकारमा हुँदा गरेका राम्रा कामहरु जनतामा स्थापित गर्न नसक्नु ।

८. चुनावमा गठबन्धन र तालेमेलमा लाग्नु । जसको कारण आफ्नो धरातलमा समेत अन्य दललाई स्थापित गर्नु ।

९. एमालेसँग एकता गरी पार्टी मर्ज गर्नु र एकतासमेत असफल हुनु ।

आफ्नो विरासत फर्काउन गरिरहेको प्रयत्न

१. विकसित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितसहित शान्तिपूर्ण चुनावी अथवा शान्तिपूर्ण संसदीय प्रतिस्पर्धाको लागि स्पष्ट विचार दृष्टिकोण, रणनीति र कार्यनीतिको अभावलाई आसन्न महाधिवेशन बाट हल गरि नयाँ समाजवादी मुल्यमान्यताको विकास गर्न लागिएको प्रयत्न ।

२. फुट र विभाजनमा परेका सम्पूर्ण माओवादी घटकलाई केन्द्रित गर्ने, अझ समाजवादी गणतन्त्रवादी र राष्ट्रवादी शक्तिहरूलाई समेत समेटेर वृहत् मोर्चा र समाजवादी पार्टीसमेत निर्माण गर्न गरिएको प्रयत्न ।

३. नेता कार्यकर्ताको सम्बन्धमा घनिष्टता बढाउने गरी बैठक, छलफल, विधि प्रक्रियागत तरिकाले निर्णय गर्ने र कार्यंन्वयनमा समेत जाने गरि आन्तरिक जीवनमा आवश्यकताअनुसार प्रतिस्पर्धात्मक ढंगले संगठनको अपडेट गर्ने प्रयत्न ।

४. अभियानमार्फत जनस्तरसम्म पुगी जनता- शुभचिन्तकका सुझाव र गुनासाहरू संकलन गरिरहेको छ । विगत केही महिनाअगाडि ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ चलाइएका अभियान र हालै हुलाकी राजमार्ग केन्द्रित र केही पछि हुने मध्यपहाडी अभियानमार्फत गरिएका र गरिने प्रयत्न ।

५. आफ्नो वर्ग, धरातल, सहिद परिवार, बेपत्ता परिवार र भुइँमान्छेको सम्बन्धमा युद्धकालीन तरिकाले नवीकरण गर्न गरिएको प्रयत्न ।

६. नेता कार्यकर्तामा, कार्यकर्ता जनतामा जाने विधि तय गरी हरेक सदस्यको कार्यक्षेत्र मार्फत आफ्नो जिम्मेवारीमा जान गरेको निर्देशन र गरिएको प्रयत्न ।

७. राष्ट्र जनताको विषयमा वैकल्पिक भिजन र दृष्टिकोणमा क्लियर गर्दै पुराना पार्टीहरूमा अब्बल र फरक देखाउन गरिएको प्रयत्न ।

८. सरकारमा हुँदा गरेका जनपक्षीय कामहरू स्थापित गर्दै पछिल्लो पटक प्रचण्ड सरकारमा हुँदा गरेका भ्रष्टाचारविरोधी अभियान र पहलमार्फत शुसासन र सुव्यवस्थाका लागि गरिएको प्रयत्न ।

९. चुनावी तालमेल हैन आफ्नो बलबुतामा, आफ्नै धरातलमा भरपरेर नयाँ एजेण्डासहित जनतामा जान गरिएको प्रयत्न ।

निचोड

कठिन परिस्थितिबाट जन्मिएको, हुर्किएको, विकसित भएको, ठूलो बनेको र हेर्दाहेर्दै सानो बनेको अनुभवसहित माओवादीले आफूलाई अगाडि बढाउनै पर्दछ । अध्यक्ष प्रचण्डले माथि पेश गरिएका सफलता, असफलता र सम्भावनाका आधारहरूको नेतृत्व आफैँ गरिहेको प्रष्ट देख्न सकिन्छ । प्रचण्डको पहलकदमी र सक्रियताको निचोड फेरी यो देशको आशा विश्वास र भरोसाको वैकल्पिक शक्ति माओवादी नै हो भन्ने महसुस गराउनै पर्दछ ।

पूर्वपश्चिम, हिमाल पहाड मधेश र गाउँ शहरको यात्रामा प्रचण्डको भ्लादमीर पुटिन शैलीको मर्निङवाकबाट सुरुहुने दिनचर्या, निरन्तर अन्तरक्रिया, छलफल, जनभेटघाट, जनसभा, संसदभित्रका सम्बोधन, धरातलमा आलोचितसहित एकागरता, प्रतिस्पर्धीसँग तीखो मुकावला अझ आवश्यक बलिदानको लागि खुल्ला तत्परता, विगतको सपना र आदर्श पूरा गर्ने प्रतिवद्धता सहित व्यक्त क्रियाशील हुटहुटीले माओवादीलाई पुरानो विगत र उचाइमा पुर्‍याउन अवश्य सम्भव छ ।

माओवादीविरुद्ध देशकै पहिलो ठूलो दल र दोस्रो ठूलो दल मिलेर सरकार निर्माण गर्नु माओवादी शक्तिशाली भएको ठोस उदाहरण हो, यसलाई जनतासँगको तागतमा जोड्दै जानु, पार्टीभित्र विकास हुँदै गएको केन्द्रिकृत संकल्प, सत्ता गठबन्धनका विरुद्धको स्थानीय उपनिर्वाचनको परिणाम, स्ववियू निर्वाचन र पछिल्लो माओवादीको पक्षमा निर्माण भएको देशव्यापी लहरले पुष्टि गर्दछ ।

(लेखक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।)

Comments

One response to “प्रचण्डको पछिल्लो सक्रियताको संकेत- अब यसरी तंग्रिन्छ माओवादी आन्दोलन”

  1. samir Avatar
    samir

    माओवादी यो देशको लागि अभिशाप हो! हत्यारा माओवादीहरुले जुनसुकै तर्क दिए पनि १७००० नेपालीको बर्बर हत्या र त्यो आतंककारी गतिविधि हामी नेपालीहरुले कहिल्यै बिर्सने छैनौं । माओवादी हत्याराहरुको नाम इतिहासमा खलनायकको रूपमा लेखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *