देश र जनताको लागि केही गर्न नसकिने भन्दै सांसद पदबाट गीता गुरुङको राजीनामा

दाङ । लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गीता सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।

लुम्बिनीका सभामुखसमक्ष मंगलबार उनले बुझाएको राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेकी छन् ।

‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ’, उनले लेखेकी छन् ।

जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै उनले आजकै मितिबाट लागू हुने गरी राजीनामा पेश गरेकी हुन् । राजीनामापछि गुरुङले मोबाइल स्वीचअफ गरेकी छन् ।

लामो समयदेखि पार्टी र उनीबीच अन्तरविरोध रहेको बताइएको छ ।

संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको सुनेको तर जानकारी नदिएको नेपाल प्रेसलाई बताएका छन् । आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको उनले सुनाए ।

‘गुरूङ पार्टीक‍ो सम्पर्कमा नरहेको र दलको बैठकमा बोलाउँदा नआएको सत्य हो, सदनमा पनि अधिकांश दिन उपस्थित हुनुहुन्न । राजीनामा आए स्वीकृत गर्ने हो, विधिमा बस्नुपर्छ नि !’, उनले भने ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले राजीनामा कार्यालय आइनसकेको र आफूले मिडियाबाट सुनेको बताएका छन् ।

‘सभामुखसँग सम्पर्क गर्दैछु, उहाँ कार्यालय आउँदे हुनुहुन्छ, मिडियाबाट जानकारी पाएका छौं, ओपचारिक छैन’, उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *