रुपन्देही । बुद्ध जयन्तीको अवसरमा आयोजित लुम्बिनी सांस्कृतिक तथा खाना महोत्सव २०८२ को सोमवार सुरु भएको छ ।
होटल व्यवसायी संघ लुम्बिनी लगायतका संघ संस्थाहरूले संयुक्तरूपमा उक्त महोत्सवको आयोजना गरेका हुन् ।
यो महोत्सवले बौद्ध कालीन समयको नाट्य श्रृङ्खला र रैथाने खानालाई समेत प्रबर्द्धन गर्ने उद्देश्य राखेको छ । उक्त उत्सवमा देशभित्र र बाहिरबाट आएका बौद्ध धर्मावलम्बीहरूसहित स्थानीयहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महोत्सवको उद्घाटन गर्दै गौतम बुद्धले प्रतिपादन गरेका वाणी, वचन र सिद्धान्तहरू दिन प्रतिदिन सत्य सावित हुँदै गएको बताए ।
उनले विश्वमा देखापरेको अशान्ति र हिंसाको अन्त्यका लागि बुद्धले अंगालेको मार्ग नै शान्तिको सन्देशको रुपमा स्थापित भएको धारणा व्यक्त गरे।
‘हामी गर्व गर्न सक्छौं, शिर उचो पारेर, छाति चौडा पारेर भन्न सक्छौं । बुद्धको सन्देश विश्व शान्तिको लागि उपयुक्त छ’ उनले भने, ‘यो पवित्र भूमिमा जन्मिएका हौं भनेर विश्वमा चिनाउने अवस्था पुगेका छौं ।’
एक अर्को प्रसंगमा मुख्यमन्त्री आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि व्यवसाय क्षेत्रमा लगानी बढेको तर नियमित उडान नहुनु चिन्ताको विषय भएको उल्लेख गरे ।
यसप्रति प्रदेश सरकार संवेदनशील र गम्भीर बनेको जानकारी दिँदै अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्न संघीय सरकारको ध्यानाकर्षण गरिएको र यसले चाँडै निकास पाउने विश्वास व्यक्त गरे । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशको मुहार फेरिने भनाइ उनको छ ।

Leave a Reply