बोधिसत्व सिद्धार्थको जन्मकथा

मायादेवीको स्वप्न

सन्तानको प्रतीक्षामा लामो समय बितिसकेको थियो । शाक्य राजा शुद्धोदनका सन्तान थिएनन् । समृद्ध कपिलवस्तुमा असार पूर्णिमालाई भव्य उत्सवका रूपमा मनाउने चलन थियो । पूर्णिमाको सात दिन अघिबाटै मायादेवीले मद्यपान गरिनन् । चन्दन, माला आदिले सजिएर उत्सवको आनन्द लिइन् । पूर्णिमाको बिहानै नुहाइन्, व्रत बसिन्, दानपुण्य गरिन् । चार लाख मुद्राको महादान गरिन् । उनको शरीरमा आभुषणको अभाव थिएन । स्वादिष्ट भोजन गरी खोपीमा आराम गर्न जाँदा उनको मन आध्यात्मिक भावले पुलकित थियो ।

मध्यरातमा दिव्य शरीर भएका चार देवता आए । उनीहरूले मायादेवीलाई पलङसहित हिमालयतर्फ लगे । सात योजन अग्लो सालको वृक्षमुनि एक आसन थियो । साठी योजन फैलिएको मनोशिला भनिने आसन । त्यसमा उनलाई राखेर देवताहरू गए । त्यत्तिकैमा देवकन्याहरूको समूह आयो । उनलाई अनोतप्त दहमा लगेर दिव्य स्नान गराइयो । नुहाएपछि मायादेवी मनुष्य गन्धले रहित भइन् । दिव्य वस्त्र पहिर्‍याइयो । चन्दनको लेप लगाइदिए देवीहरूले । मायादेवी दिव्यफूलहरूले सजिइन् । नजिकै चाँदीको पर्वतमा सुनको विमान थियो । त्यसभित्र पूर्वतिर सिरान पारेर देवकन्याहरूले मायादेवीलाई सुताइदिए ।

सुनको अर्काे पर्वतबाट एउटा सेतो हात्ती ओर्लियो । एकछिन यताउता टहलियो र त्यही चाँदीको पर्वतमा उक्लियो । हात्तीको चाँदी जस्तो सेतो सुँडमा सेतै कमल थियो । हात्ती मायादेवी रहेको विमानमा प्रवेश गर्‍यो, पलङलाई तीन पटक प्रदक्षिणा गरी दाहिने कोखबाट पेटमा प्रवेश गर्‍यो । यो सबै सपना थियो ।

स्वप्न विश्लेषण

मायादेवीले सपनाबारे राजालाई सुनाइन् । भोलिपल्ट राजाले ६४ मूल ब्राह्मणलाई आमन्त्रण गरे । भुईं गोबरले पोतियो । लावा र फूल आदिले सजाइयो । बहुमूल्य आसनहरू बिछ्याइए । आसनस्थ ब्राह्मणहरूलाई सुन र चाँदीका थालमा घ्यू, मह र सख्खर मिसाइएको खीर दिइयो । नयाँ वस्त्र र गाई दानसमेत गरियो । ब्राह्मणहरू सन्तृप्त भए । राजाले सपनाबारे बताएर सोधे, ‘किं भविस्सति ?’ अर्थात्, सपनाको फल के हुनेछ ?

ब्राह्मणहरूले सपना विश्लेषण गरे । भने– ‘भय मान्नुपर्दैन महाराज, तपाईंकी देवीको कोखमा गर्भ प्रतिष्ठित भएको छ । त्यो पुरुष गर्भ हो, स्त्री गर्भ होइन । छोरा जन्मनेछन् । ती पुत्र घरमा बसे भने चक्रवर्ती सम्राट बन्नेछन् । यदि घरबाट निस्केर प्रव्रजित भए भने परम ज्ञानी बुद्ध बन्नेछन् ।’

ब्राह्मणहरूले सपना विश्लेषण गरे । भने– ‘भय मान्नुपर्दैन महाराज, तपाईंकी देवीको कोखमा गर्भ प्रतिष्ठित भएको छ । त्यो पुरुष गर्भ हो, स्त्री गर्भ होइन । छोरा जन्मनेछन् । ती पुत्र घरमा बसे भने चक्रवर्ती सम्राट बन्नेछन् । यदि घरबाट निस्केर प्रव्रजित भए भने परम ज्ञानी बुद्ध बन्नेछन् ।’

यसरी असारको पूर्णिमामा बोधिसत्वले गर्भ प्रवेश गर्नुभयो । त्यो दिन उत्तराषाढ नक्षत्र परेको थियो । त्यस समयमा ३२ किसिमका शुभलक्षण प्रकट भए । यस प्रसङ्गको विस्तार जातक निदानमा पाइन्छ ।

मायादेवीको अलौकिक स्वभाव

बोधिसत्व गर्भमा प्रतिष्ठित भएदेखि चार देवपुत्रले पहरा दिए, बोधिसत्वकी मातालाई कुनै सङ्कट नआओस् भन्ने उद्देश्यले । त्यसयता मायादेवीलाई पुरुषप्रति आसक्ति उत्पन्न भएन । उहाँले धेरै लाभ र इज्जत हासिल गर्नुभयो । थकानको अनुभूति भएन । कुनै रोगले छोएन । कोखमा रहेका बोधिसत्वबारे सोच्दा सेतो मणिमा बेरिएको पहेँलो धागा जस्तै आकृृति मस्तिष्कमा घुम्थ्यो । तथापि राजाले सुसारेहरूको सङ्ख्या भने बढाइदिएका थिए ।

मायादेवी माइत जाँदै

मायादेवीले १० महिनासम्म बोधिसत्वलाई गर्भमा धारण गर्नुभयो, कुनै भाँडोमा तेल राखिए जस्तै । १० महिना बितेको पत्तै भएन । रानीले माइत जाने इच्छा प्रकट गरिन् । राजासँग भनिन्, ‘इच्छामहं देव, कुलसन्तकं देवदहनगरं गन्तुं ।’ ‘हुन्छ’, राजाले भने । कपिलवस्तुदेखि देवदहसम्मको बाटो सम्याइयो । केराका स्तम्भहरूले सजाइयो । भरिएका घडाहरू राखिए । ध्वजा र पताकाहरू फर्फराइए । सुनको पाल्की तयार भयो । एक हजार कर्मचारीको समूहसहित विशाल सेवकमण्डली पनि साथमा जाने भयो ।

लुम्बिनीमा जन्म

वैशाख पूर्णिमाको दिन । सुनको पाल्कीमा रानीको सवारी चल्यो । कपिलवस्तु र देवदहको बीचमा पर्छ लुम्बिनी उद्यान । बुद्धवंश–अर्थकथाकार उल्लेख गर्छन्, द्विन्नं पन नगरानं अन्तरे उभयनगरवासिनंपि लुम्बिनी वनं नाम मंगलसालवनं अत्थि । लुम्बिनीको वनलाई मङ्गल सालवन भनिन्थ्यो । फेददेखि टुप्पैसम्म ढकमक्क फुलेको वन । हाँगा र फूलहरूमा पाँच किसिमका भमराको मधुर ध्वनि गुञ्जिरहेको थियो । चराहरूको चिरबिरले सौन्दर्य स्वयं सुशोभित भए झैं लाग्थ्यो । लुम्बिनी वन स्वर्गीय चित्तलता वन जस्तै शोभायमान भइरहेको थियो । मानौँ कुनै प्रतापी राजाको भव्य बजार जस्तै । लुम्बिनी ऐश्वर्यले भरिभराउ देखियो ।

वनक्रीडाको रहर भयो रानीलाई । मन्त्रीहरूले मायादेवीलाई सालवनमा लिएर गए । रानी मङ्गल सालमुनि पुगिन् । उनलाई सालको हाँगा समाउन मन लाग्यो । निदानकथा उल्लेख गर्छ, ‘सा मङ्गलं सालमूलं गन्त्वा सालसाखायं गण्हितुकामा अहोसि ।’ सालको हाँगा झुकेर उनको हात नजिकै आइपुग्यो । दाहिने हात फैलाएर हाँगो समाइन् मायादेवीले । त्यही समयमा प्रसव वेदना उत्पन्न भयो । साडीको पर्दा बनाइयो । पुरुषहरू त्यहाँबाट पर गए ।

पुत्रलाभ भयो । चार महाब्रह्मा सुनको जालो लिएर त्यहाँ उपस्थित थिए । उनीहरूले बोधिसत्वलाई त्यस जालोमा लिए । माता मायादेवीका अगाडि उपस्थित भएर महाब्रह्माले भने– ‘खुसी हुनुहोस् माता, तपाईंलाई महाप्रतापी पुत्रलाभ भएको छ ।’

मानौँ, भर्खरै प्रवचन सकेर धर्मासनबाट ओर्लंदै गरेको प्रवक्ता जस्तै । सिँढीबाट ओर्लंदै गरेको व्यक्ति जस्तै  । दुवै हात र पाउहरू फैलिएका । शुद्ध रेशमी कपडामा राखिएको चम्किलो मणि जस्तै । बोधिसत्व रगतादि फोहरसहित जन्मनुभएन । आकाशबाट दुई पानीका धाराहरू प्रकट भए । एउटा चिसो र अर्काे उष्ण । बोधिसत्व र उहाँकी मातालाई शीतलताको अनुभूति भयो ।

चार महाराजले मृगको सुकोमल छालामा बोधिसत्वलाई लिए । त्यसपछि मानिसहरूले दोसल्लाले बनेको गद्दामा बोधिसत्वलाई लिए । मानिसहरूको हातबाट मुक्त भएर बोधिसत्व उभिनुभयो । र, पूर्वदिशामा हेर्नुभयो । अनन्त ब्रह्माण्ड मानौँ एक आँगन जस्तै बनेर बोधिसत्वमा केन्द्रित भयो । देवता र मनुष्यहरूले चन्दन र फूल वर्षाएर पूजा गरे । उनीहरूले भने– ‘महापुरुष, यहाँ तपाईं समान नै कोही छैन भने तपाईंभन्दा ठूलो को नै होला ?’

पुत्रलाभ भयो । चार महाब्रह्मा सुनको जालो लिएर त्यहाँ उपस्थित थिए । उनीहरूले बोधिसत्वलाई त्यस जालोमा लिए । माता मायादेवीका अगाडि उपस्थित भएर महाब्रह्माले भने– ‘खुसी हुनुहोस् माता, तपाईंलाई महाप्रतापी पुत्रलाभ भएको छ ।’

यसै क्रमले बाँकी तीन दिशामा पनि बोधिसत्वले निरीक्षण गर्नुभयो । आफू समान कोही देखिएन । त्यसपछि बोधिसत्व उत्तर दिशामा सात पाइला हिँड्नुभयो । महाब्रह्माले सेतो छाता ओढाए । सुयाम नामक देवताले चँवर हम्किए । अन्य देवताहरूले बाँकी राजकीय सामग्रीहरूका साथ अनुगमन गरे । सातौं पाइलापछि उहाँले उद्धोष गर्नुभयो– ‘अग्गोहमस्मि लोकस्स, जेट्ठोहमस्मि लोकस्स, सेट्ठोहमस्मि लोकस्स, अयमन्तिमा जाति, नत्थिदानि पुनब्भवो ।’ अर्थात्, लोकमा अग्र पुरुष म नै हुँ, लोकमा ज्येष्ठ पुरुष म नै हुँ, यो अन्तिम जन्म हो, यसपछि कुनै जन्म हुनेछैन ।’

जम्मा तीन पटक बोधिसत्वले जन्मनासाथ बोल्नुभएको छ । पहिलो– महोसध पण्डितका रूपमा जन्म लिँदा । दोस्रो– वेस्सन्तर राजकुमार भएर जन्मिँदा । तेस्रो– यो अन्तिम जन्ममा ।

यस पटक पनि बत्तीस शुभ लक्षण देखापरे । माताको गर्भमा प्रतिष्ठित हुने बेलामा जस्तै । राहुलमाता यशोधरा त्यही दिन जन्मिइन् । सारथि छन्न, अमात्य कालुदायी, राजकुमार आनन्द पनि । हात्ती आजानीय र घोडा कन्थक जन्मिँदा उता महाबोधि वृक्ष अङ्कुराउँदै थियो । बहुमूल्य रत्नले भरिएका चार घडा फेलापरे । कपिलवस्तु र देवदह दुवैतिर विशेष खुसियाली छायो । बोधिसत्वलाई कपिलवस्तु लगियो ।

कपिलवस्तुमा कालदेवल

कपिलवस्तुमा शुद्धोदन महाराजलाई पुत्र प्राप्ति भएको छ । ती कुमार बोधिवृक्षमुनि बसेर बुद्ध बन्नेछन् । यस्तो भन्दै देवताहरूले उत्सव मनाइरहेका थिए ।

असित कालदेवल शाक्यकुलका पुरोहित थिए । शुद्धोदनका पिता सिंहहनुकै पालादेखि । शुद्धोदन राजकुमार हुँदा उनले शिल्पाचार्यको कार्यसमेत गरे । शुद्धोदन राजा हुँदा पनि उनी नै पुरोहित थिए । एक दिन उनले राजालाई भने– ‘महाराज, प्रव्रजित हुन्छु ।’ उनका लागि अलग्गै उद्यान तयार गरियो । त्यही साधना गर्न थाले । कपिलवस्तुको राजपरिवारमा भोजनपान गर्थे । दिवा विहारका लागि हिमालयदेखि देवलोकसम्म पुग्थे ।

त्यस दिन कालदेवल देवलोक पुगेका थिए । देवताहरूलाई त्यति धेरै खुसी देखेर उनले सोधे– ‘किन हो तपाईंहरू यति धेरै सन्तुष्ट भएर क्रीडा गरिरहनुभएको ? त्यसको कारणबारे मलाई पनि बताउनुहोस् ।’ देवताहरूले भने– ‘मित्र, शुद्धोदन राजाका छोरा जन्मिए । उनी बोधिवृक्षमुनि बुद्ध बन्नेछन् । र, धर्मचक्र प्रवर्तन गर्नेछन् । तिनको अनन्त बुद्धलीला देख्न र धर्म सुन्न पाइने भयो । यसैले हामी यति खुसी छौँ ।’

तपस्वी कालदेवल तुरुन्त कपिलवस्तुतर्फ हानिए । उनी शुद्धोदनको दरबारमा प्रवेश गरे । र, निर्धारित आसनमा बसे । कालदेवललाई हतार थियो, भने– ‘महाराज, तपाईंलाई पुत्रलाभ भएछ, हेरौँ ।’

तीमध्ये कौडिन्य सबैभन्दा कान्छा थिए । उनले एक  औँला उठाएर भने– ‘निश्चय नै यिनी बुद्ध बन्नेछन् । यिनको घरमा रहने कुनै सम्भावना नै छैन ।’

राजाले छोरालाई कालदेवलतर्फ बढाए । शिशुका पाउ कालदेवलका जटामा परे । कालदेवलका पनि वन्दनीय बोधिसत्व । बोधिसत्वको शिर कालदेवलको पाउमा राख्नुहुँदैनथ्यो । त्यस्तो भएको भए उनको शिर टुटेर सात टुक्रा हुन्थ्यो । तपस्वीले पनि जानाजान आफूलाई नष्ट गर्न चाहेनन् । उठेर बोधिसत्वलाई अञ्जलिबद्ध प्रणाम गरे । यो सबै देखिरहेका राजा स्वयंले पनि पुत्रको वन्दना गरे ।

कालदेवलको शोक

कालदेवलले शरीर लक्षण विचार गरे । र, आवर्जन गरे, बुद्ध बन्छन् कि बन्दैनन् ? निश्चय गरे कि अवश्य बुद्ध बन्नेछन् । तपस्वी मन्द मुस्कुराए । फेरि विचार गरे– यिनी बुद्ध बन्दा मैले देख्न पाउँछु वा पाउँदिनँ ? देख्न पाउँदिनँ । अगाडि नै मृत्यु हुनेछ । र, अरूपलोकमा जन्मनेछु । त्यहाँ हजारौँ बुद्ध गए पनि ज्ञान प्राप्त गर्न असम्भव छ । यस्ता अद्भूत पुरुष बुद्ध बनेको मैले देख्न नपाउने भएँ । यसले मलाई धेरै हानि हुने भयो ।

कालदेवल रुन थाले । मानिसहरूलाई अचम्म लाग्यो । अघि भर्खर मुस्काएका तपस्वी आँसुका धारा बगाइरहेका थिए ।

‘भन्ते, हाम्रा आर्यपुत्रलाई कुनै सङ्कट त छैन ?’, मानिसहरूले सोधे ।

‘यिनलाई कुनै सङ्कट छैन । अवश्य बुद्ध बन्नेछन्’, ऋषिको सहज उत्तर ।

त्यसो भए तपाईं किन रुनुभएको हो ?

यस्ता अद्भूत पुरुष बुद्ध बनेको देख्न पाउनेछैन । यो मेरो लागि ठूलो हानि हो । म मेरैबारे चिन्ता गरेर रोएको हुँ ।

भाञ्जा नालकलाई भावी बुद्धका नाममा प्रव्रजित हुन प्रेरित गरे कालदेवलले । अनि सुरु गरे हिमालयको यात्रा ।

नामकरण र भविष्यवाणी

पाँचौँ दिनमा नामकरण गर्ने शाक्यकुलको परम्परा थियो । बोधिसत्वलाई पनि पाँचौँ दिनमा नुहाइयो । चार किसिमका सुगन्धले राजभवन लिपियो । लावासहित पाँच किसिमका फूलहरूले सजाइयो । पानी नमिसाइएको दूधमा खीर पकाइयो । १०८ ब्राह्मण आमन्त्रित थिए । उनीहरूलाई राजभवनमा सत्कार गरियो । बसालियो । अनि सोधियो बोधिसत्वको लक्षणबारे– ‘के हुनेछ यिनको भविष्य ?’

त्यो समय ८ ब्राह्मण प्रसिद्ध थिए । वेदका छ अङ्गमा पारङ्गत । उनीहरू– राम, ध्वज, लक्ष्मण, मन्त्री, कौडिन्य, भोज, सुयाम तथा सुदत्त हुन् ।

बोधिसत्व गर्भमा प्रतिष्ठित हुँदा पनि यिनीहरूले नै लक्षण विचार गरेका थिए । तीमध्ये सात ब्राह्मणले दुई औँला उठाए । र, दुई सम्भावनाको भविष्यवाणी गरे, यस्ता लक्षण भएको पुरूष घरमा बसे चक्रवर्ती सम्राट हुनेछन् । गृहत्याग गरेर प्रव्रजित भए भने बुद्ध बन्नेछन् । साथै उनीहरूले चक्रवर्ती सम्राटको वैभवबारे पनि चर्चा गरे ।

तीमध्ये कौडिन्य सबैभन्दा कान्छा थिए । उनले एक  औँला उठाएर भने– ‘निश्चय नै यिनी बुद्ध बन्नेछन् । यिनको घरमा रहने कुनै सम्भावना नै छैन ।’

उनको जन्मका कारण मातापिता र राज्यको कामना सिद्ध भएको थियो । अतः बालकको नाम सिद्धार्थ राखियो । पालिमा भनिएको सिद्धत्थको संस्कृतकरण सिद्धार्थ हो । यही नाम धेरैको मानिसको आध्यात्मिक प्यास मेटाइदिनाले अझ सार्थक बन्यो ।

(लेखक आचार्य लुम्बिनी बौद्ध विश्वविद्यालयका उप-प्राध्यापक हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *