निलम्बन फुकुवापछि आदिल अन्सरी क्रिकेटमा फर्किए, पहिलो खेलमा डकआउट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेसँगै आदिल अन्सारी क्रिकेटमा फर्किएका छन् । उनलाई क्यानले बैशाख २१ गते निलम्बन फुकुवा गरेको थियो ।

त्यसपछि उनी बाराबाट तेस्रो जनकपुरधाम मेयर कप खेलिरहेका छन् । सोमबार भएको पहिलो खेलमा पर्साविरुद्ध उनी कुनै पनि रन नजोडी आउट भए । उनलाई खेलको ८औं ओभरको पाँचौं बलमा रञ्जित कुमारले बोल्ड गरेका थिए ।

उक्त खेलमा बाराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको पर्सा १७ ओभर ३ बलमा ६२ रनमा समेटियो । आदिलले बलिङ गर्ने अवसर भने पाएनन् ।

बैशाख २६ मा सुरु भएको उक्त प्रतियोगिता जेठ २ गतेसम्म चल्नेछ । प्रतियोगितामा मधेशका ८ जिल्लासहित १२ टोलीले सहभागिता जनाएका छन् । भारतको पूर्णिया, दिल्ली, लखनउ र मुजफ्फरपुरका टोली पनि प्रतियोगितामा सहभागी छन् । १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।

२०७९ पुस ९ देखि २७ गतेसम्म आयोजित नेपाल टी-२० का दौरान स्पट फिक्सिङमा मुछिएपछि तत्कालीन राष्ट्रिय टीमका सदस्यसमेत रहेका अन्सारीलाई क्यानले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो । जिल्ला अदालत काठमाडौंले आदिललाई सफाइ दिएसँगै क्यानले निलम्बन फुकुवा गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *