अर्थमन्त्री विष्णु पौडेलकै कारण लुम्बिनी यति बनेको हो, अब गुरुयोजना रोके राम्रो सन्देश जाँदैनः ल्हारक्याल लामा (भिडिओ)

रूपन्देही । उत्तरी हिमाली जिल्ला सिन्धुपाल्चोकको हेलम्बुमा २०२१ सालमा जन्मिएका डा.ल्हारक्याल लामा (खेम्पो छिरिङ) करिब दुई वर्षयता लुम्बिनीको विकासका लागि दौडिरहेका छन् । २०८० साल साउनमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएकोदेखि हालसम्म २१ महिना दौडधुपमै बिताएको उनी बताउँछन् ।

उनले नियुक्त भएदेखि नै कुनै सेवासुविधा नलिने घोषणा गरेका थिए । अहिलेसम्म आफूले चाहे जसरी काम गर्न नसकेकोमा उनी चिन्ता व्यक्त गर्छन्, तर विश्वमा लुम्बिनीको गरिमा उँचो बनाएको ल्हारक्यालको दाबी छ ।

विश्वमा लुम्बिनीको महत्व र गरिमा बढाउन हिमालको मान्छे तराईमा बसेको बताउने उनले लुम्बिनी गुरुयोजना पूरा गर्ने र केही महत्वपूर्ण योजना अघि सारे पनि संघीय सरकारबाट पाउने बजेट रोकिएको बताए ।

गुरुयोजना कार्यान्वयनमा चुनौती, बजेट अभाव, पदाधिकारी तथा कर्मचारीबीचको बेमेल तथा आगामी योजनाका विषयमा उनै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामासँग नेपाल प्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानीः

– लुम्बिनीलाई कसरी बुझ्नुभयो ?

अहिले आध्यात्मिकवादमा लुम्बिनीको निकै राम्रो सन्देश गएको छ, अन्तर्राष्ट्रिय मञ्चमा । बुद्धका चार धाम छन्– जन्मेको लुम्बिनी, बुद्धत्व प्राप्त भएको बोधगया, पहिलो धर्मदेशना गरेको स्थान सारनाथ, महापरिर्निमाण भएको कुशीनगरमध्ये सबैभन्दा व्यवस्थित रूपमा लुम्बिनी नै रहेको छ । यो संसारका बुद्ध धर्मावलम्बीहरूले बुझेको कुरा हो ।

म जीवनको एक भाग पूरा गर्न यहाँ आएको हुँ । एक्लै हिँडेर एक्लै गरेर यसलाई अघि बढाउन सकिँदैन । गौतम बुद्ध आफैं उपाध्यक्ष भएको भए पनि अहिलेको अवस्थामा काम गर्नसक्ने अवस्था थिएन । धेरै मेहनत गरेको छु मैले । कुनै सुविधा लिएको छैन । जति दिन बस्छु, यहाँको भलाइका लागि गर्नेछु । सबैको समन्वयमा काम अघि बढाउने हो ।

– कोषमा नियुक्त भएको २१ महिना भयो । के थिए प्राथमिकता, कसरी काम गर्नुभयो ?

विश्वभरका सवा अर्व बौद्धमार्गीको सबैभन्दा ठूलो पवित्र तीर्थस्थलको रूपमा प्रख्यात लुम्बिनीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिले विश्व जगतको आर्कषणको केन्द्रको रूपमा रहेको छ । यसको विकास र संरक्षण गर्नु मूल दायित्व हो । यहाँ आउँदा मेरो पहिलो प्राथमिकता नै सुशासन कायम गर्ने र विकृति विसंगति हटाउने थियो । दोस्रो– गुरुयोजना पूरा गर्ने, तेस्रो– अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने, चौथो– दुई छिमेकी मुलुकबाट जतिसक्दो धेरै पर्यटक ल्याउने लक्ष्य राखेर काम थालेको थिएँ । केही कामले गति लिएको छ, तर जति सोचेको थिएँ, त्योअनुसार बजेट अभावले काम हुनसकेको छैन । अहिले विश्वमा यसको निकै सकारात्मक सन्देश दिन सकिएको छ ।

– अन्तर्राष्ट्रिय सम्बन्ध बलियो भयो भन्नुभयो ? कसरी सम्भव भयो ?

म यहाँ आएदेखि नै विभिन्न देशका उच्च तहका कूटनीतिक व्यक्तिहरूलाई लुम्बिनी ल्याउन धेरै मेहनत गरेँ । मेरो पनि केही अन्तर्राष्ट्रिय नेटवर्क रहेको छ । चीन, भारत, अमेरिका, श्रीलङ्काका राजदूत, केही मन्त्रीहरू तथा अन्य उच्च तहका व्यक्तिहरू आउँदा लुम्बिनीलाई धेरै पक्षबाट लाभ भयो । हामीले चीनसँगै बुद्धमार्गी भएका अन्य देशमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधा उडानका लागि आग्रह गरेका छौँ । त्यो सम्बन्धमार्फत यहाँको भौतिक विकासका लागि पनि कतिपय निकायलाई आग्रह गर्न सकिन्छ ।

अर्कोतिर उच्च तहका व्यक्तिहरूले लुम्बिनीको बारेमा सकारात्मक काम गरिदिँदा यहाँ आउने पर्यटक सङ्ख्या स्वाभाविक रूपमा वृद्धि हुन्छ । त्यसअनुसार अहिले वृद्धि पनि भएको छ । हाम्रो ध्यान विश्वभरका बुद्धमार्गीहरूको आस्थाको केन्द्रविन्दु लुम्बिनीको प्रवर्द्धन र विकास गर्ने हो । त्यसको लागि उच्च तहका व्यक्तिहरूसँग सम्बन्ध वृद्धि पनि एउटा महत्वपूर्ण कामै हो ।

– तपाईं आउनुअघि र अहिलेसम्म गुरुयोजनाको अवस्था के छ ?

म हिमालको मान्छे लुम्बिनीलाई विश्वमा चिनाउन र केही नयाँ काम गर्न आएको हुँ । मेरो यहाँ आउने कुनै व्यक्तिगत स्वार्थ छैन । मैले कुनै सेवासुविधा नलिने सुरुमै घोषणा गरेर त्यसैलाई कार्यान्वयनमा लगेको छु । मैले काम गर्न थालेको २१ महिना पुगेको छ । केही महत्वपूर्ण काम भएका छन् । म आउँदा लुम्बिनी एक प्रकारले अस्तव्यस्त थियो भन्दा हुन्छ । बुुद्ध जन्मस्थल लुम्बिनीभित्रको सडक, विद्युत, सडकको साइड लाइन, पानी र विभिन्न गेटहरूको अवस्था लथालिङ्ग थियो, तर गुरुयोजना सक्न जुन लक्ष्य थियो त्यो काम हुनसकेको छैन ।

अहिलेको भन्दा अघिको अर्थ मन्त्रालयबाट यहाँको बजेट कटौती भएर समस्या भयो । अहिले पनि चाहे जसरी बजेट आउन नसकेर सकिन लागेको गुरुयोजना अलपत्र परेको हो । अहिलेको अर्थमन्त्री विष्णु पौडेलले यहाँको लागि राम्रो गर्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद । अब आउने बजेटमा यसलाई पूरा गराउने दायित्व पनि उहाँले लिनुहुन्छ भन्ने लाग्छ ।

म आएपछि सरोकारवाला ठेकेदार, योजना प्रमुख र कन्सल्टेन्सीहरूलाई राखेर चुस्त र दुरुस्त काम गराएपछि धेरै सुधार भएको पनि छ । लुम्बिनी परिसरभित्र सडक, विद्युत समस्या समाधान भएको छ, तर चालू बजेटमा बजेट कम भयो । लुम्बिनीसँगै कपिलवस्तु र परासीमा र रूपन्देहीको देवदहमा पनि केही महत्वपूर्ण अभियान थालियो, जसले ती क्षेत्रलाई चलायमान बनायो । कपिलवस्तुको तिलौराकोट अब विश्व सम्पदामा सूचीकृत हुँदैछ ।

यो बीचमा लुम्बिनीमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ल्याउन सफल भएर संसारभर फरक सन्देश गयो । गुटेरेसले अशोक स्तम्भबाट गौतम बुद्ध शान्तिको सन्देशको प्रतीक भनेर सन्देश दिँदा लुम्बिनीको गौरव संसारभर थप उच्च भयो, अनि त्यही आधारमा विश्वका घुम्नैपर्ने सूचीको नवौं स्थानमा लुम्बिनी परेको हो । त्यसैगरी लुम्बिनीमा ठूल्ठूला पूजा भएका छन् । ७ देखि ९ दिनसम्म विभिन्न पूजाआजाका कर्म हुँदा फरक फरक मुलुकका बौद्ध धर्मावलम्बीहरूको भ्रमण वृद्धि भएको छ ।

लुम्बिनीमा विराट चक्र विज्ञान तथा ध्यानसहितको प्रयोगात्मक शिविर भयो । यो बीचमा विभिन्न देशका प्रधानमन्त्रीदेखि विभिन्न उच्च ओहोदामा बसेका व्यक्तित्वहरूलाई लुम्बिनीमा ल्याएर धेरै कार्यक्रम भए, त्यसैगरी थप विभिन्न गुम्बाहरू निर्माण भएका छन् । निर्माण सुरु गरेका गुम्बाहरू लम्ब्याउने नभएर छिटो निर्माण सम्पन्न गर्ने लक्ष्यलाई अघि सारेँ । धेरै गुम्बाहरूको निर्माणको काम भइसकेको छ । गुरुयोजनामा विनियोजित सरकारी बजेटविना करोडौँको काम गर्न सकिएका छन् । संसारमा यसको पक्षमा आध्यात्मको पक्षमा निकै ठूलो सकारात्मक सन्देश दिन सकिएको छ । यो ठूलो उपलब्धि हो ।

– लुम्बिनी गुरुयोजना सम्पन्न गर्न किन ढिलाइ भएको हो ?

गुरुयोजना बनेको ४७ वर्षसम्म पनि सम्पन्न हुन नसक्नु संसारभरका बौद्धमार्गीहरूका लागि लज्जाको विषय छ । यो अवस्था हटाउन सबैको मेहनत जरुरी छ । राज्यले बजेट सुनिश्चित गर्न गरेको विलम्ब र विनियोजित बजेटको कार्यान्वयनमा भएको विलम्बका कारण गुरुयोजना सम्पन्न नभएको सबैलाई थाहा छ । यसअघि बजेट विनियोजन भएर ठेक्का लागेका कतिपय काममा पनि ढिलासुस्तीका कारण अस्तव्यस्त जस्तै थिए, तर अहिले कार्यशैली फेरिएको छ । यद्यपि चाहिनेभन्दा निकै कम बजेट विनियोजन भएकाले त्यो समस्या हटाउन चुनौती छ ।

लुम्बिनी गुरुयोजना सुरु भएको साढे ४ दशकभन्दा धेरै समय भएको छ । संघीय सरकारकै गौरवको आयोजना तत्काल पूरा हुन सम्भव हुँदैन, तर मैले काम थालेपछि छिटो पूरा गर्ने संकल्प गरेको थिएँ, चाहे जसरी काम नभएको सत्य हो । यहाँको विकासका लागि बजेट अभाव र केही हदसम्म इच्छाशक्तिको पनि कमी देखिन्छ । राष्ट्रिय गौरवको आयोजना अलपत्र जस्तै भएकाले यो तत्काल पूरा हुने सम्भावना देखिँदैन । गुरुयोजनाअन्तर्गतका ६ वटा भवन, फोहोर व्यवस्थापन, नदी डाइभर्सनबाहेकका धेरै योजना बहुवर्षीय ठेक्का लागिसकेर पनि बजेट नहुँदा रोकियो ।

बजेट सुनिश्चितताको अभावमा यसअघि अलपत्र परेका योजनाहरू म आएपछि सुचारु हुने चरणमा छन् । अहिले सबै अन्तिम चरणमा छ, ८८ प्रतिशत काम भएको छ । बजेट सुनिश्चित भए गुरुयोजनाअनुसार काम सकिन्छ । अहिलेको अर्थमन्त्रीले यो विषय गहिरो तरिकाले बुझ्नुभएको छ । ७-८ अर्बको बजेटमा ३ देखि ४ वर्षमा गुरुयोजनाअन्तर्गतका सबै काम सक्नेगरी योजना बनाइएको छ । फोहोर व्यवस्थापन र नदी डाइभर्सनको काम ठेक्का प्रक्रियामा गइसकेको छ । पूर्ववत बनेका, तर गुरुयोजनाको मापदण्ड नपुगेका ५ वटा भवन र अन्य केही योजनाका कामहरू गर्न बाँकी छ । त्यो पनि छिट्टै सकिनेछन् ।

– आन्तरिक सुशासन कम तथा पदाधिकारी र कर्मचारीबीच बेमेल बढ्यो भन्ने छ, के हो वास्तविकता ?

लुम्बिनी विकास कोषको प्रशासनमा केही कमजोरी रहेको थियो । म आएपछि बुद्ध जन्मेको ठाउँमा हामीले जति दिन बस्न सकिन्छ, त्यति दिन राम्रो गरौँ, त्यो हाम्रो जीवनको लागि महत्वपूर्ण पुण्य हुन्छ, यदि नगरे त्यो महापाप हुन्छ भन्ने सन्देश दिने काम गरेपछि प्रशासनमा धेरै सुधारका काम भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको छ । आन्तरिक आम्दानीमा उल्लेख्य वृद्धि भएको छ, तर सुशासनलाई धेरै सुधार गर्नुपर्ने अझै बाँकी छ । पहिले त चिन्तनमै सुधार गर्नुपर्नेछ । पदाधिकारी, कर्मचारी तथा अन्य योसँग जोडिएका सबैले यो विषयमा सोच्न जरुरी छ । पदाधिकारी, कर्मचारीबीच समस्या छैन, कमजोरी भएका सुधार गरेर जाने हो ।

– चुनौती के देख्नुभयो, कसरी समाधान गर्ने सोच्नुभएको छ ?

यसलाई विश्व शान्तिको केन्द्र बनाउनैपर्छ, जति सकिन्छ गर्नुपर्छ भन्ने अठोट लिएरै लुम्बिनी रोजेको हुँ । त्यसमा सरकारले बजेट दिएर साथ दिनुपर्छ भने स्थानीय, मिडिया र अन्तर्राष्ट्रिय जगत सबैको साथ अनिवार्य चाहिन्छ । काम गर्न सहज वातावरण बन्दैछ । स्थानीय, प्रदेश सरकार सहभागी भएरै लुम्बिनीको विकास गर्नुपर्दछ । लुम्बिनी स्थानीयकै हो, त्यसकारण कार्यक्रम गर्दा स्थानीयको पनि सहभागिता गराउने काम भएको छ, तर महत्वपूर्ण काम गर्दा समस्या किन आइरहेका छन् ? मैले पनि बुझ्न सकेको छैन ।

म बौद्ध समुदायको मान्छे, गौतम बुद्धको जन्मस्थल लुम्बिनी बनाउने मेरो जिम्मेवारी हो । प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विभिन्न दस्ताबेज युनेस्को र विश्व सम्पदा केन्द्रमा पेस भएका छन् । लुम्बिनीमा बर्थिङ सेन्टरको नीति तथा कार्यक्रममा घोषणा भएको छ । यो कार्यक्रम लागू गर्दा विश्वका धेरै बुद्धिस्टहरूलाई यहाँ आएर बच्चा जन्माउन आकर्षित गर्न सकिन्छ । किनकि बुद्ध जन्मेको ठाउँमा मेरो बच्चा जन्मियोस् भन्ने इच्छा धेरै बुद्धिस्टहरूको हुन्छ । त्यस आधारमा मैले सरकारसँग बर्थिङ सेन्टरको लविइङ गरेको हो । गुरुयोजना पूरा गर्ने मेरो प्रतिबद्धता नै भयो ।

– लुम्बिनीको विकाससँगै देवदह, तिलौराकोट र रामग्राम नसमेटिएको गुनासो किन आउँछ ?

भगवान गौतम बुद्धको जन्मस्थल यहाँ भए पनि शाक्यहरूको दरबार तिलौराकोट, गौतम बुद्धको मावली रूपन्देहीको देवदह, भगवान गौतम बुद्धको अस्तु रहेको नवलपरासीको रामग्राम क्षेत्रको विकास गर्नुपर्छ अन्यथा अधुरो हुन्छ । त्यही आधारमा बृहत्तर लुम्बिनीको योजना अगाडि सारिएको हो । देवदह उत्खनन् भइरहेको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल भएको छ । रामग्राममा केही महिना अघिमात्र बृहत् कार्यक्रम गरिएको छ, जसले विश्वका धेरै ठाउँमा रामग्रामबारे प्रचार भएको छ । लुम्बिनी गुरुयोजनासँगै कपिलवस्तु र नवलपरासीको विकासका लागि योजना बनाएका छौँ ।

– गुरुयोजना पुनर्संरचनाको आवश्यकताको बहस उठेको छ, कसरी लिनुहुन्छ यसलाई ?

यो गुरुयोजना धेरै वर्ष पहिलेको अवस्थालाई हेरेर बनाइएको हो । अहिले धेरै अवस्था फेरिएको छ । समयअनुसार परिवर्तन गर्न सकिन्छ, तर यसका लागि विज्ञहरूसहित बस्नुपर्छ । यो हामीले भन्ने र गर्ने विषय होइन । हामी बनाइएका कार्ययोजना कार्यान्वयनका लागि आएका हौं । पहिले पुरानो गुरुयोजना सकौं, त्यसपछि यसलाई नयाँ आवश्यकताका आधारमा नयाँ मोडलमा बनाऔं । मेरो प्रस्ट कुरा यही हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *