१. परिचय
आज २५६९ औं बुद्ध जयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । सिद्धार्थ गौतमको जन्म ई.पू ५६३ को बैशाख शुक्लपूर्णिमाका दिन लुम्बिनीको रमणीय उपवनमा भएको थियो । उनका पिता कपिलवस्तुका शाक्यवंशी राजा शुद्धोदन र माता मायादेवी थिइन् । शाक्य वंशमा जन्मेकोले उनलाई शाक्यमुनि पनि भनिन्थ्यो ।
मायादेवी सुत्केरी हुन माइती देवदह जाँदै गर्दा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थ जन्मिएका थिए । उनको जन्म भएको ३१८ वर्षपछि तथा आफ्नो राज्याभिषेकको बीसौं वर्षमा सम्राट अशोकले यसै स्थानमा एक पाषण स्तम्भ निर्माण गरे । त्यो स्तम्भ अहिले पनि त्यहाँ मौजुद छ । सिद्धार्थ जन्मिएको सातौं दिनमा मायादेवीको मृत्यु भएपछि सिद्धार्थको पालनपोषण सौतेनी आमा प्रजापति (मायादेवीकी बहिनी) ले गरिन् ।
सिद्धार्थ तरुण हुँदै जाँदा संसारदेखि केही विरक्त, भावुक र बढी नै विचारमग्न देखेर आफ्नो छोरा साधुहरुको बहकाउमा लागेर गृह त्याग गरेर जाने त होइन भन्ने डर पिता शुद्धोधनलाई थियो । त्यसै डरले १६ वर्ष पुग्ने बित्तिकै सिद्धार्थको विवाह छिमेकी राज्य कोलियकी राजकुमारी यशोधरा (कपिलायनी)सँग गरिदिए । सिद्धार्थ दम्पती २९ वर्षको हुँदा छोरा राहुलको जन्म भयो ।
एकातर्फ वृद्ध, रोगी, मृत र प्रव्रजितका दृश्यहरु अर्कोतर्फ तत्कालीन समाजका शोषण, दरबारभित्रका दाउपेच र जीवनका अनेक दु:ख देख्दा संसारसँगको उनको विरक्ति पक्का भइहाल्यो र राहुल जन्मिएको सातौं दिन आषाढ पूर्णिमाको रातमा सिद्धार्थ गृह त्याग गरेर निस्किए । त्यसरात तत्कालीन मगधको राजधानी राजगृहनजिकै अनोमा नदीमा पुगे र त्यहीँ सांसारिक भोगविलासलाई तिलाञ्जली दिएर गेरुवावस्त्र पहिरिए । त्यहाँबाट उनी पहिले आलारकालम र पछि उद्दक रामपुत्त कहाँ गए, ध्यान र योगका केही कुरा सिके तर सन्तुष्ट भएनन् ।
ज्ञान आर्जनको विकल्प खोज्दै उनी उरुभेला (बोधगया) पुगेर अन्य पाँच परिव्राजकहरु कौडन्य, वप्प, भद्धिय, महानाम र अस्सजितसहित करिब छ वर्षसम्म योग र अनशनको घोर शरीरपीडन तपस्या गरे । यति कठोर तपस्याबाट पनि ज्ञान प्राप्त नभएपछि उनले दोस्रो मार्गको खोजी गर्न थाले । जर्जर र रोगी शरीरले गरेको ध्यानबाट ज्ञान मिल्दैन भन्ने निचोडमा पुगेपछि सिद्धार्थले दालभातलगायत आहार ग्रहण गर्न थाले । त्यो देखेर सँगै रहेका पाँचैजना भिक्षुहरु उनलाई छोडेर हिंडे । त्यसपछि सिद्धार्थले केही स्थूल आहार खाएर वोधगयाको निरञ्जना नदीको किनारमा ७ हप्तासम्म तपस्या गरे । यसै मध्यममार्गको अवलम्बनबाट उनले इ.पू. ५२८ बैशाख पूर्णिमाको दिन ज्ञान (बुद्धत्व) प्राप्त गरे । त्यही ज्ञान सिद्धार्थको दर्शन बन्न पुग्यो ।
बुद्धको दर्शनको सार चार आर्य सत्य निम्न छन्- १. संसारमा दु:ख छ, २. दु:खको कारण छ, ३. दु:खको निरोध हुन्छ, ४. दु:ख निरोधको उपाय छ । यस सम्यक् ज्ञानको प्राप्तिपछि नै उनले बुद्धत्व प्राप्तिको घोषणा गरे । ज्ञानार्जनको दुई महिनापछि असार पूर्णिमाको दिन वाराणसीको उत्तर मृगदावन (सारनाथ)मा साधना गरिरहेका पाँच गृहत्यागीहरु जोसित पहिले बुद्धले सँगै कठोर तपस्या गरेका थिए, कौडन्य, वप्प, भद्दिय, महानाम र अस्सजितलाई प्रथम उपदेश दिए । ज्ञान प्राप्त गरेपछि उनलाई सिद्धार्थ गौतमबाट भगवान बुद्ध, गौतम बुद्ध आदि नामले पुकारिन थालेको हो । त्यसपछिका ४५ वर्षसम्म विभिन्न स्थानमा पुगेर आफ्नो ज्ञानको प्रचार र उपदेश दिए ।
२. बुद्धका चार आर्य सत्यहरु-
२.१. दु:ख छ – जन्म, बुढ्यौली, मरण, शोक, रोदन, मनको खिन्नता- दिक्दारी दु:ख हो । अप्रियसँग संयोग र प्रियसँग वियोग दु:ख हो, इच्छा गरेर नपाउनु पनि दु:ख हो । संक्षेपमा पाँचवटै उपादान स्कन्ध दु:ख हुन् । प्रत्येक व्यक्तिले यस्ता दु:खबाट बढ्नैपर्छ । यसलाई दु:ख आर्य सत्य भनिन्छ ।
२.२. दु:खको कारण छ – मानिस सधैँ असन्तुष्ट हुन्छ र कुनै न कुनै तृष्णाको पछि लागिरहेको हुन्छ । यसैबाट दु:खको सुरुवात हुन्छ । तृष्णा, लोभ, मोह, द्वेष, ईर्श्या, अहंकार, क्रोध दु:खका कारणहरु हुन् ।
२.३. दु:खको निरोध हुन्छ तृष्णाको शमन वा परित्यागपछि दु:ख निवारण गर्न सकिन्छ । तृष्णाको निरोधले उपादानको, उपादानले भवको, भवले पुनर्जन्मको निरोध गर्छ । जन्म निरोधले बुढेसकाल, मरण–शोक, दु:ख, रुवाइ, खिन्नताको नाश गर्छ र दु:खको अन्त्य हुन्छ ।
२.४. दु:ख निरोधको उपाय छ- दु:ख निरोध गर्ने उपाय नै बुद्धको समग्र दर्शनको केन्द्रबिन्दु हो । दु:ख निरोध मार्ग भनेको आर्य अष्टांगिक मार्ग हो । बुद्धले भोग विलासमा आशक्ति र शरीर पीडनको बाटो छोडेर मध्य (मज्झ) मार्गबाट निर्वाण सुख प्राप्त गर्न सकिन्छ र त्यो मध्य-मार्ग अष्टांगिक मार्ग हो भनेको कुरा संयुक्तनिकाय, धर्मचक्र प्रवर्तनसूत्रमा उल्लेख छ ।
३. आर्य अष्टांगिक मार्ग
दु:ख निरोधको उपायको रुपमा बुद्धले प्रतिपादन गरेको आर्य अष्टांगिक मार्ग नै बुद्ध दर्शनको आधारस्तम्भ हो । यो कुनै काल्पनिक कुरा नभएर व्यावहारिक जीवनको बाटो हो । जसको सही अनुशीलन गर्दा मानिसले दु:खको भवसागरबाट पार पाउँछ । अष्टांगिक मार्ग सचेतन अवस्थामा बाँच्ने मार्ग हो । सचेत अवस्थाको अभ्यास गर्नाले चित्तमा एकाग्रता आउँछ । अनि ज्ञान (प्रज्ञा) प्राप्त गर्न सकिन्छ । सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि, सम्यक् दृष्टि र सम्यक् संकल्प नै अष्टांगिक मार्ग हुन् । दीर्घनिकाय महासत्तिपठानसूत्तमा बुद्धले भनेका छन्- भिक्षुहरु हो ! यसै (माथि उल्लिखित आर्यअष्टांगिक मार्ग) लाई दु:ख निरोधगामिनी प्रतिपद् आर्य सत्य पनि भनिन्छ । जसलाई प्रज्ञा, शील र समाधिअन्तर्गत विभाजन गर्न सकिन्छ ।
क) प्रज्ञा यसमा निम्न दुई मार्ग पर्दछन्
१. सम्यक् दृष्टि– जुन कुरा वा वस्तु जस्तो छ त्यसलाई त्यस्तै रुपमा बुझ्नु, तिनकै गुण, धर्म र स्वभावमा देख्नु वा अनुभव गर्नु सम्यक् दृष्टि हो । कायिक, वाचिक र मानसिक कर्महरु राम्रा नराम्रा जस्ताको त्यस्तै थाहा पाउनु सम्यक् दृष्टि हो ।
“बौद्ध वाङ्मयमा निम्न पाँच विषयमा ठिक धारणालाई सम्यक् दृष्टि भनिन्छ– क) कर्म र कर्मफलप्रतिको ठिक धारणा, ख) ध्यानको महत्व बारे ठिक धारणा, ग) अनित्यता र यथाबोध बारे ठिक धारणा, घ) क्लेश निर्मूल पार्ने मार्ग बारे ठिक धारणा, ङ) निर्वाणको महत्व बारे ठिक धारणा” ।
२. सम्यक् संकल्प– आशक्ति, तृष्णा, द्वेष, हिंसा आदिबाट टाढै रहनु सम्यक् संकल्प हो । यसअन्तर्गत कामभोगबाट मुक्त हुने संकल्प, भलाइको चिन्तन र करुणामय संकल्प पर्दछन् । राहुल संकृत्यायनले राग, हिंसा, प्रतिहिंसारहित संकल्पलाई नै ठीक संकल्प हो भनेका छन् । अर्थात् राग, द्वेष र मोहरहित चिन्तनलाई सम्यक् संकल्प भनिन्छ ।
ख) शील यसमा निम्न तीन मार्ग पर्दछन्
३. सम्यक् वचन– झुठो नबोल्नु, कडा नबोल्नु, चुगली नगर्नु र नचाहिँदो नबोल्नुलाई सम्यक् वचन भनिन्छ । अरुलाई चोट नपुर्याई बोल्नु, खिल्ली नउडाउनु र गलत प्रचार गर्नुहुँदैन । सम्यक् वचनअन्तर्गत पर्ने चार कुराहरु–असत्य वचन नबोल्नु, चुक्ली लगाउने काम नगर्ने, कडा र अपशब्द नबोल्ने र अनावश्यक निन्दा र व्यर्थको गफ नगर्नु । व्यर्थका हजारौं शब्द बोल्नुभन्दा एउटा सार्थक वचन बोल्नु वेश हुन्छ । जसलाई सुनेर मनमा शान्ति हुन्छ ।
४. सम्यक् कर्म– हिंसा, चोरी, अरुलाई हानि हुने र व्यभिचाररहित कर्म नै सम्यक् कर्म हो । नैतिक र पवित्र कर्म गर्नु, प्राणीमाथि दयाभाव राख्नु, अरुको भलाइ गर्नु र ब्रम्हचर्याको पालना गर्नु सत्कार्य हुन् । यसअन्तर्गत निम्न कार्य पर्दछन्– क) प्राणी हिंसा नगर्नु, ख) चोरी नगर्नु, ग) कामभोगसम्बन्धी मिथ्याचार नगर्नु ।
५. सम्यक् आजीविका– जीवनयापनको क्रममा अरुलाई दु:ख नदिनु, धोका नदिनु, नैतिकतापूर्ण काम गर्नु र पवित्र उद्योग गर्नु । हतियार, मानिस (प्राणी), मासु, मादक पदार्थ र विषको व्यापारबाट गरिने जीविकालाई बुद्धले झुठोजीविका भनेका छन् । इमानदारितापूर्वक श्रम र उत्पादन गरेर वा उत्पादक, श्रमिक र उपभोक्ताको हितको प्रतिकूल नहुने गरी व्यापार, व्यवसायबाट गरिएको आजीविका सम्यक् आजीविका हो ।
ग) समाधि यसमा निम्न तीन मार्ग पर्दछन्
६. सम्यक् प्रयत्न– इन्द्रियहरुलाई संयम राख्ने, खराब भावनालाई रोक्ने तथा असल भावना उत्पन्न गरी त्यसलाई स्थिर राख्ने प्रयत्न नै सम्यक् प्रयत्न हो । मनको विकार र दुर्गुण हटाएर सद्गुण विकास गर्ने मानसिक प्रयासलाई सम्यक् प्रयत्न भनिन्छ ।
७. सम्यक् स्मृति– खराब र स्वार्थी भावना त्याग गर्नु, सँधै सचेत र सतर्क रहनु, सत्य र यथार्थको स्मरण गर्नु नै सम्यक् स्मृति हो । शरीरमा जुनबेला जस्तो संवेदना उत्पन्न हुन्छ त्यसलाई त्यस्तै अनुभव गर्नु सम्यक् स्मृति हो । शरीर, वेदना र चित्तका स्वभावहरु बदलिइरहेका हुन्छन् । तिनै बदलिइरहेका संवेदनाहरुलाई सोही रुपमा स्मरण गर्नुपर्दछ ।
८. सम्यक् समाधि– सम्यक् समाधिले मनलाई नियन्त्रणमा लिनुका साथै राग, द्वेष र मोहविहीन राख्नसक्छ । मनमा संग्रहित विक्षेपहरुलाई हटाएर मन, वचन र कर्मलाई एकाग्र गर्न नियमित अभ्यास गर्नुपर्छ । सुखभोगको अभिलाषा, द्वेषभाव, डाह–ईष्र्या, अल्छीपन, चञ्चलता र आशंकाले सम्यक् समाधिमा व्यवधान ल्याउँछ ।
४. बुद्धको महापरिनिर्वाण
ज्ञान प्राप्तिपछिका ४५ वर्षसम्म बुद्धले निरन्तर आफ्नो ज्ञानको प्रचारप्रसार, प्रवचन, धर्मदेशना गरे । इ.पू. ४८३ मा ८० वर्षको उमेरमा मल्ल गणराज्यको राजधानी कुशीनगर (हाल भारतको गोरखपुरमा पर्ने देवरिया जिल्लाको वन)मा निर्वाण प्राप्त गरे । बुद्धका उपदेशहरुले सबै प्राणीहरुको हित गरेकाले कालान्तरमा उनका उपदेशहरुलाई धर्म र उनलाई देवताको रुपमा मान्न थालियो ।
बुद्धले आजीवन दिएका उपदेश, शिक्षा, दर्शनलाई सँगालेर बनाइएको बुद्ध धर्मको मूल ग्रन्थलाई त्रिपिटक भनिन्छ । जसको अर्थ तीनवटा टोकरी भन्ने हुन्छ । बुद्धले बताएका ३२ भौतिक गुणहरुको सविस्तार वर्णन गरिएको त्रिपिटकमा गौतम बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यका २ हजार गरी ८४ हजार ८४ हजार ज्ञान सूत्रहरु संगृहित छन् । त्रिपिटकलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक गरी तीन समूहमा विभाजन गरिएको छ । बुद्धको प्रमुख दार्शनिक सिद्धान्त प्रतित्य–समुत्पाद हो ।
बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानव समुदायलाई दिएका छन् । यसैकारण बुद्धका विचार विश्वव्यापी रुपमा बुद्ध दर्शन, बुद्ध धर्म, सम्प्रदाय वा पथको रुपमा लिने र अवलम्बन गर्ने गरिन्छ । एसियाका तारासमेत भनिने तिनै महान् बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाका दिन भएकोले आजको दिन हामी सबैका लागि निकै महत्वपूर्ण छ ।

Leave a Reply