राजदेवी पञ्चावती मन्दिरमा आज एकैदिन करिब २५ हजार बलि

जनकपुरधाम । सिरहाको लहान नगरपालिका-१५ ढोढनास्थित राजदेवी मञ्चावती मन्दिरमा पशु बलि चढाउने भक्तजनको भिड लागेको छ ।

मन्दिरमा बोकाको बलीका लागि रातिदेखि नै श्रद्धालु लामवद्ध छन् । मन्दिरमा केहिबेर अघि मात्र पूजा सकिएको छ । लहान नगरपालिकाका मेयर महेश चौधरी पनि पूजामा सहभागी बने । पूजा सकेलगत्तै बलि चढाउन थालिएको हो ।

बिहान ४ बजेअघिबाटै भक्तजनको भिड लागेको स्थानीय शम्भु चौधरीले जानकारी दिए ।

उनका अनुसार मनोकामना पूरा भएपछि श्रद्धालु भक्तजनले आजकै दिन (बुद्ध पूर्णिमा) मन्दिरमा आएर पशु बलि चढाउने गरेका छन् । यहाँ भाकल गरेअनुसारको बोका, पाठी, परेवा, कुखुरा र हाँस चढाउने गरिन्छ । यसवर्ष करिब २५ हजार बोकाको बलि चढ्ने अनुमान छ ।

राजदेवी माताको शक्तिले पशुपन्छी बलिको क्रममा बग्ने रगतमा झिँगा नलाग्ने र दुर्गन्ध पनि नफैलिने स्थानीय बताउँछन् ।

मन्दिर आसपासमा ठूलो मेला पनि लागेको छ । भिड र गर्मीका कारण कतिपय श्रद्धालु खुल्ला चौरमै बलि दिएर फर्किरहेका छन् ।

मन्दिर लहान बजारदेखि करिब ८ किलोमिटर उत्तरमा पर्छ । लहानदेखि मन्दिरसम्मको सडक अस्तव्यस्त बनेको छ । चारपाङ्ग्रे गाडी लिएर मन्दिरसम्म पुग्ने सक्ने अवस्था छैन । यहाँ वर्षेनी पूजापाठ गर्ने तथा बली चढाउने श्रद्धालु भक्तजनको संख्या बढ्दै गएको स्थानीय बताउँछन् ।

मन्दिर १ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा अवस्थित छ । यो मन्दिरमा मूर्ति (राजदेवीको प्रतिमा) छैन । मन्दिरमा भाकल गरेमा सन्तान प्राप्त हुने, दिर्घरोगीलाई निको हुने, रोगब्याधी नलाग्ने तथा कुनैपनि मनोकांक्षा पूरा हुने जनविश्वास छ । बाराको गढीमाई मन्दिरपछि दोस्रो ठूलो संख्यामा पशुपक्षीको बली दिइने मन्दिरको रुपमा राजदेवीलाई चिनिन्छ ।

स्थानीय तेजनारायण चौधरी मेला भर्न र बली चढाउन भारतबाट समेत श्रद्धालु भक्तजन आउने गरेको साथै यो संख्या वर्षेनी बढिरहेको बताउँछन् ।

आजकै दिन किन चढाइन्छ बली ?

थारु समुदायको बाहुल्य रहेको ढोडना गाउँको बीचमा राजदेवी पञ्चावती मन्दिर अवस्थित छ । पहिले यहाँ जंगल र चरण क्षेत्र थियो । यहाँ स्थानीय गाई चराउन जान्थे । चराउन लगेका गाईहरू अचानक हराउन थालेपछि गाउँलेले स्थानीय धामी स्वर्गीय दिलाराम भट्टलाई समस्या सुनाएका थिए ।

धामी दिलारामले त्यस ठाउँमा पुगेर तन्त्र साधना गरेपछि राति सपनामा देवीले दर्शन दिएको र देवीले धामीलाई शुक्ल पूर्णिमाको दिन बली चढाए समस्या टर्ने बताए अनुसार बली प्रथा सुरु भएको किंवदन्ती छ । यो सयौं वर्ष पुरानो कुरा भएको र धामीकै सल्लाह बमोजिम बली प्रथा सुरु भएको स्थानीय सुनाउँछन् ।

पछिल्लो समय यहाँ शनिबारका दिन पनि श्रद्धालु पूजा गर्न आउन थालेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *