काठमाडौं । राष्ट्र बैकको नयाँ गभर्नरमा योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल प्रस्ताव गरिएका छन् । तर, गभर्नर पदमा दावेदारीलाई उनको विज्ञताले समर्थन गर्दैन, भने कानूनतः पनि योग्य छैनन् ।
पौडेलले आज गभर्नर सिफासि समितिको सदस्यबाट राजीनामा दिए, आफैं गभर्नर बन्ने प्रयोजनका लागि । खेलको अम्पायर नै खेलाडी बनेर मैदानमा उत्रिएको रोचक दृष्य देखिएको छ । तब न यो नेपाल हो । यहाँ ‘टाउके’ हरुको कुरा मिलेपछि जे पनि चल्छ । अब यो सिफारिस समिति भंग गरेर नयाँ बनाइने छ, पौडेललाई गभर्नर बनाउनकै निम्ति । पहिले रिजल्ट, त्यसपछि परीक्षा । गभर्नर चयन भइसके, सिफारिस समिति बन्नै बाँकी छ ।
खैर, यो प्राविधिकरुपमा ‘मिलाउने’ कुरा भयो । पौडेल गभर्नर बन्न अयोग्य ठहरिने मुख्य विषयवस्तु भने दुईवटा छन् । पहिले कानूनी प्रावधानको चर्चा गरौं ।
डा. पौडेल गभर्नर बन्न कानूनतः योग्य नरहेको देखिन्छ । नेपाल राष्ट्र बैङ्क ऐनले कुनै राजनीतिक दलमा सदस्य नभएको व्यक्ति मात्रै गभर्नर बन्नसक्ने भनेर स्पष्ट उल्लेख गरेको छ ।
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा २१ मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालक बन्नका लागि योग्य नहुने सातवटा अवस्थाहरु राखिएका छन्, जसको पहिलो उपदफामा भनिएको छ– राजनीतिक दलको सदस्य वा पदाधिकारी । अर्थात्, कुनै पनि दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ती गभर्नर बन्न अयोग्य हुन्छ ।
नयाँ गभर्नरको लागि अघि सारिएका डा. पौडेल निधारमै कांग्रेसको ठप्पा लागेका व्यक्ति हुन् । उनले २०७९ मा भएको आम निर्वाचनमा चितवन १ बाट कांग्रेसबाट उम्मेदवारी दिएर रास्वपाका हरी ढकालसँग पराजित भएका थिए ।
कानूनतः कुनै पार्टीबाट चुनाव लड्नका लागि सो पार्टीको सदस्य हुनु अनिवार्य छैन । तर कांग्रेस स्रोतका अनुसार पार्टीको क्रियाशील सदस्यका हैसियतमा स्थानीय कमिटीले उनलाई उम्मेदवारमा सिफारिस गरेको थियो । पौडेलले ७–८ वर्ष अगाडि नै चितवनको रत्ननगरबाट कांग्रेसको क्रियाशील सदस्यता लिएको र नियमित नविकरण गराइरहेको विश्वस्त स्रोतले बतायो ।
गभर्नर बन्न मैदानमा उत्रिइसकेपछि पौडेलले आफ्नो क्रियाशील सदस्यता खारेज भइसकेको वा आफूले त्यागिसकेको अथवा लिँदै नलिएको दावी गर्ने सम्भावना छ । यदि कांग्रेससँग मिलेर क्रियाशील सदस्यता लुकाउन सफल भए भने पनि पौडेलको चयनमा प्रश्न उठ्ने नै छ किनकी उनी ‘कांग्रेस’ हुन् भन्नेमा कसैलाई शंका छैन । कांग्रेससँगको आवद्धताकै कारण उनी धेरै अनुभविहरुलाई पन्छाएर योजना आयोगको उपाध्यक्ष पड्काउन सफल भएकोमा कुनै द्वीविधा छैन । कांग्रेसबाट डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा पौडेललाई आर्थिक सल्लाहकार समेत बनाएका थिए ।
कानूनले ‘पार्टीको सदस्य वा पदाधिकारी नरहेको’ भन्नुको आशय पार्टीमा आस्थावान नरहेको भनेर बुझ्नुपर्ने कानूनविदहरुको भनाइ छ । एउटा पार्टीबाट चुनाव लडिसकेका व्यक्ति स्वतः अयोग्य हुनुपर्ने उनीहरु बताउँछन् ।
संविधानविद भीमार्जुन आचार्यले भने, ‘यदि कांग्रेसको क्रियाशील सदस्यता लिनुभएको अवस्था हो भने उहाँलाई गभर्नर बनाइनु सीधै कानून विपरित हुन्छ । यदि त्यो होइन भने पनि कानूनको मर्म र भावना विपरित हुन जान्छ । एउटा पार्टीप्रति आस्थावान वा सो पार्टीबाट कुनै पनि लाभ प्राप्त गरेको व्यक्ति त्यस पार्टीप्रति निरन्तर वफादार हुने भएकाले निस्पक्ष तवरबाट भूमिका निर्वाह गर्न सक्दैन भन्ने कानूनको मर्म हो । पौडेललाई गभर्नर बनाइएमा यो मर्ममा आघात पुग्ने छ र अदालति निरुपणको विषय बन्न सक्छ ।’
पौडेल आजका दिनसम्म पनि खुलेरै कांग्रेसमा छन् । उनी कांग्रेसको कोटाबाट नै नयाँ गभर्नर सिफारिस समितिका सदस्य बनेका हुन् । गभर्नर बनाइन लागेको पनि कांग्रेस कोटाबाटै हो । योभन्दा ठूलो प्रमाण अरु के हुन्छ ?
यतिबेला तत्कालीन ‘एम अधिकारी प्रकरण’ लाई पनि सम्झिन सकिन्छ । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई एमालेले एम अधिकारी नाममा पार्टीको अर्थ तथा योजना विभागमा राखेको विषय सार्वजनिक भएपछि ठूलै हंगामा भएको थियो । गभर्नर अधिकारीले आफू ‘एम आधिकारी’ नभएको झूटो प्रष्टीकरण दिए र यो प्रकरण यत्तिकै सेलायो । एम अधिकारी उनै हुन् भनेर पुष्टि हुने कागजात कसैले पछार्न सकेन । फलतः पद जोगियो । अहिले विश्व पौडेलले पनि त्यसैगरी आफ्नो कांग्रेससँगको आवद्धता लुकाउने प्रयास गर्ने पक्का छ ।
अब दोस्रो विषयमा जाउँ । राष्ट्र बैकको गभर्नर भनेको यस्तो पद हो, जसमा उच्चस्तरको विज्ञता र अनुभव चाहिन्छ । यी दुवै पक्षमा पौडेल कमजोर छन् । हो, पौडेलसँग औपचारिक अध्ययनको कमी छैन । डबल डिग्री र पिएचडी गरेका छन् । तर, गभर्नरले दैनन्दिन सामना गर्नुपर्ने विषयसँग उनले पढेको विषय मेल खाँदैन ।
गभर्नरको मुख्य जिम्मेवारी भनेको देशको मौद्रिक नीति बनाउने हो । मौद्रिक नीतिले देशको सिंगो अर्थतन्त्रलाई प्रभावित र चलायमान बनाउँछ । तर, पौडेल मौद्रिक नीतिका जानकार होइनन् । मौद्रिक नीति न उनको औपचारिक अध्ययनको विषय हो, न उनले यसमा कुनै अनुभवै बटुलेका छन् ।
पौडेलले चीनमा कम्प्युटर इन्जिनियरिङमा ब्याचलर्स गरेपश्चात अमेरिकामा मास्टर्स र पीएचडी गरे । उनले पहिलो डिग्री कम्युटर साइन्समा र दोस्रो डिग्री कृषि अर्थशास्त्रमा (टेक्सासबाट) गरेका हुन् । त्यसपछि उनले अमेरिकाकै युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कृषि र साधनस्रोत अर्थशास्त्रमा पिएचडी गरेका हुन् ।
उनी पढाइ सकेर २०११ मा नेपाल आए । त्यसपछि काठमाडौं युनभर्सिटीमा सहायक अध्यापकका रुपमा पिरियड बेसिसमा काम गरे । पौडेलले संस्थागत रोजगारी सुरु गरेको २०१५ मा हो । पहिलोपटक उनले एमसीसीमा इकोनोमिस्टको जागीर पाए । उनी त्यसबेला कृष्ण ज्ञवालीको अन्डरमा बसेर काम गर्थे ।
डा. पौडेललाई नजिकबाट चिनेकाहरु उनलाई मुलधारका अर्थशास्त्री नै मान्दैनन् । उनी प्राय इतिहासका कुरा गर्छन् । उनको लेखनी पनि बढी इतिहास प्रेरित नै हुन्छ ।
पार्टीको फेरो नसमाति अघि नबढ्ने बुझेपछि पौडेल कांग्रेससँग नजिकिन थाले । सुरुमा उनी कांग्रेसभित्रका दुई अर्थशास्त्री डा. गोविन्द राज पोखरेल र डा. स्वर्णिम वाग्लेको पछिपछि हिँड्थे । डा. वाग्लेले नै उनलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग परिचय गराइदिएका थिए ।
वाग्लेले पार्टी छोडेपछि संस्थापन पक्षले विश्व पौडेललाई गु्रम गर्न थाल्यो । एक हिसाबले भन्दा स्वर्णिमले पार्टी छोड्नु नै विश्वलाई भाग्योदय चिठ्ठा परेझैं भयो । उनले देउवा दम्पत्तिलाई रिझाउँदै एकपछि अर्को अवसर हात पार्दै गए । पत्रिकाहरुमा लेख लेखेर आफ्नो एकेडेमिक प्रोफाइल बलियो बनाउन पनि सफल भइरहेका थिए ।
कांग्रेसकै एक नेता भन्छन्, ‘हाम्रो पार्टीमा अहिले ‘गतिला’ मान्छेको खडेरी छ । पहिलेपहिले हामीसँग एकसे एक घघडान अर्थशास्त्रीहरु हुन्थे । अहिले भएका अलिअलि पनि शेखर कोइरालातिर छन् । यसैको फाइदा विश्व पौडेलले उठाइरहेका हुन् । उनीसँग न हिजो राष्ट्रिय योजना आयोगको उपाध्यक्ष चलाउने ल्याकत थियो, न भोलि राष्ट्रबैंक चलाउने ल्याकत छ ।’
पौडेलको तुलनामा गुणाकर भट्ट गभर्नर पदका लागि धेरै गुणा योग्य हुन् । उनले राष्ट्र बैंकमा नै ३० वर्ष सेवा गरेर अनुभव बटुलिसकेका छन् । यसअघिका गभर्नर महाप्रसाद अधिकारी पनि उत्तिकै अनुभवि थिए । तर, यदि डा. विश्व पौडेललाई गभर्नर बनाइयो भने उनी राष्ट्र बैककै इतिहासमा कम अनुभवि र ‘विज्ञताहिन’ गभर्नर कहलाउन सक्नेछन् ।
डा. पौडेल कुनै योग्यता नै नभएका अल्लारे व्यक्ति भने होइन । उनीसँग बलियाे शैक्षिक पृष्ठभूमि छ । विकास अर्थशास्त्रमा उनको राम्रो दख्खल रहेको जानकारहरु बताउँछन् । उनी विस्तारै राजनीतिसमेत बुझिरहेका एक अध्ययनशील व्यक्ती हुन् । तर, उनको अध्ययनको विषय, अनुभव र सुम्पिन खोजेको जिम्मेवारीबीच भने तालमेल मिल्दैन ।

Leave a Reply