काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँच अर्ब रूपैयाँको प्रारम्भिक लगानीमा आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक सुरूवात गरेको छ ।
कम्पनीको केन्द्रीय कार्यालयको उद्घाटन नेपाल लाइफका अध्यक्ष गोविन्द लाल संघई र बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले संयुक्त रूपमा गरे।
२५ औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा नेपाल लाइफले लगानी विविधिकरणलाई संस्थागत स्वरूप दिन यो कदम चालेको हो । अध्यक्ष संघईले नेपाल लाइफले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै सर्वाधिक विश्वासिलो बीमा कम्पनीको रूपमा आफूलाई स्थापित गरिसकेको उल्लेख गरे । उनले लगानी विविधिकरणमार्फत उच्च प्रतिफल दिने लक्ष्यसहित सहायक कम्पनी स्थापना गरिएको जानकारी दिए ।
कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले बीमा कम्पनीहरूका लागि बीमा कोषको सही सदुपयोग र विविधिकरण आवश्यक रहेको उल्लेख गर्दै नेपाल लाइफको यो कदम दीर्घकालीन दृष्टिकोणको लागि उदाहरणीय रहेको बताए। उनले लगानी कम्पनीमार्फत जोखिम न्यूनीकरण तथा नवीन रणनीति अपनाउँदै जानुपर्ने आवश्यकता औंल्याए ।

सञ्चालक सदस्य कमलेश कुमार अग्रवालले कम्पनीसँग हालसम्म २ खर्ब २५ अर्ब रूपैयाँको बीमा कोष रहेको जानकारी दिँदै, आगामी पाँच वर्षमा यो कोषलाई ५ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य सुनाए । लक्ष्य प्राप्तिका लागि नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको स्थापना अपरिहार्य रहेको उनको भनाइ थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यो नयाँ कम्पनी नेपाल लाइफको कोर भ्यालु वृद्धि गर्ने दिशामा रणनीतिक टेवा हुने विश्वास व्यक्त गरे। उनले बीमा ऐनअनुसार विविध लगानीको दायरा फराकिलो बनाउँदै जानुपर्ने बाध्यता रहेको उल्लेख गरे।
इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास थापाले सुरक्षित र विवेकशील ढंगले लगानी गर्ने प्रतिबद्धता जनाए । नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनीका अध्यक्ष अमित कुमार कयालले बीमा कोष व्यवस्थापनको नयाँ संस्कृति नेपालमा सुरु भएको भन्दै योजना, कार्यान्वयन र नियमनका तीनवटै पक्ष सन्तुलनमा राख्दै विश्वसनीयता कायम राख्ने बताए।
कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केवलकार, जलविद्युत्, सौर्य ऊर्जा लगायतका क्षेत्रहरूमा लगानी विस्तार गर्ने योजना रहेको पनि जानकारी दिइएको छ। हाल हेटौंडा, इटहरी र विराटनगरमा जग्गा खरिद प्रक्रिया अगाडि बढेको र यो आर्थिक वर्षभित्र थप ६ स्थानमा जग्गा खरिदको योजना रहेको कम्पनीले जनाएको छ।
नेपाल लाइफको यो नवीन प्रयासले नेपाली बीमा तथा वित्तीय क्षेत्रमा लगानीको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।

Leave a Reply