कांग्रेस- एमाले गठबन्धन भ्रष्टाचार लुकाउनः राजेन्द्र पाण्डे

रूपन्देही । नेपाल समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हाल गठन भएको कांग्रेस–एमाले गठबन्धन सरकार आफ्ना भ्रष्टाचार लुकाउन बनेको आरोप लगाएका छन्।

दाङको घोराहीमा आयोजित लुम्बिनी प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा पाण्डेले बालकोट र बुढानिलकण्ठ जोडिनुको एउटै कारण भूटानी शरणार्थी प्रकरण र गिरिबन्धु प्रकरण रहेको दाबी गरे। उनले यो सरकार देश र जनताको हितका लागि नभई नेताहरू र कार्यकर्ताहरूको स्वार्थ पूर्तिका लागि बनेको बताए।

‘भ्रष्टाचारका फाइल खोल्न होइन, बन्द गर्न कांग्रेस र एमाले एक भएका हुन्,’ उनले भने। पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले पनि सरकारको आलोचना गर्दै सत्तामा रहेका नेता, कार्यकर्ता र कर्मचारीहरूको सम्पत्ति शुद्धीकरण गर्ने हिम्मत देखाउन सरकारलाई चुनौती दिए।

उनले सोही प्रकृतिका मुद्दामा रवि लामिछानेलाई जेल पठाइने र सत्ता पक्षका व्यक्तिहरू सजिलै उम्किने प्रचलन गलत र प्रतिशोधपूर्ण रहेको टिप्पणी गरे ।

महासचिव घनश्याम भुसालले दुई तिहाइ बहुमत प्राप्त गरेपनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन र समावेशी पुनःसंरचनाको अवसर गुमाएको आरोप लगाए। ‘ओलीले संसद विघटन, दल विभाजनजस्ता कार्य गरेर देशलाई पछाडि धकेले,’ भुसालले भने । पार्टीका उपमहासचिव मेटमणि चौधरीले समाजवादी पार्टी मात्र देशको नेतृत्व गर्न सक्षम रहेको दाबी गरे।

‘कांग्रेसले प्रजातन्त्रको मुद्दा बोकेको हो, त्यो पूरा भइसकेको छ । अहिलेको गणतान्त्रिक अवस्थामा कांग्रेसको आवश्यकता छैन,’ उनले भने । त्यस्तै उनले एमालेलाई नीति निर्माणको नाममा संस्थागत भ्रष्टाचारमा लिप्त रहेको र जनताप्रति उत्तरदायी हुन नसकेको आरोप पनि लगाए।

प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले समाजवादी पार्टी संविधानअनुसार जनता समक्ष आफ्ना कार्यक्रम लिएर जान सफल भएको उल्लेख गर्दै नेपाली विशेषताको समाजवादलाई महाधिवेशनबाट पारित गरी समृद्धिको यात्रामा अघि बढिरहेको बताए ।

कार्यक्रममा सहभागी बृस्पति अधिकारी, अब्दुल हुसेन खाँ लगायत नेताहरूले शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि समाजवादी पार्टी नै एक मात्र विकल्प भएको धारणा व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *