तिलोत्तमा दलित ज्ञान उत्सवको सन्देश: पछाडि पारिएको समुदायलाई मूल प्रवाहमा ल्याउन सहकार्य जरुरी

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा सञ्चालित दुई दिने ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ शनिवार सकिएको छ।

न्याय, समानता र अधिकारका लागि दोस्रो संस्करणका रूपमा ज्ञान उत्सव गरिएको हो। उत्सवको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले एक समारोहका बिच समापन गरेका हुन्।

मन्त्री तिमिल्सेनाले पछाडि पारिएको दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन जनप्रतिनिधिको भूमिका हुनुपर्ने बताए। उनले लुम्बिनी प्रदेश सरकारले दलित अधिकार ऐन ल्याउने तयारीमा जुटेको समेत बताए। उनले तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सव गरेर नमूना काम गरेको बताए ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकालाई मानवताको सहर बनाउने अभियानअन्तर्गत ज्ञान उत्सव गरेर सफलतापूर्वक सम्पन्न गरिएको बताए।

यसअघि शनिवारको छलफलमा पूर्वमन्त्री मीन विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तोला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी संघीयतामा दलित सवाल र प्रतिनिधित्व विषयमा छलफल गरिएको थियो।

छलफलमा सहभागीहरूले दलित समुदायका लागि संघीयता हर्ष न बिस्मातको अवस्थामा रहेको बताउँदै प्रतिनिधित्वको सवालमा केही सुधार भए पनि त्यो पर्याप्त नभएको बताए।

बहससँगै विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीतसंगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव र सामाजिक जागरणको विषयमा चर्चा गर्दै उत्सव उत्साहका साथ सम्पन्न भएको वन तथा वातावरण समितिका संयोजक एवम् कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए।

उत्सवलाई दलित समुदायको अधिकार र सवाललाई पुनः बहसमा ल्याउने र स्थानीय सरकारले दलितको आत्मसम्मान बढाउन आयोजना गरिएको कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए।

न्याय, समानता र अधिकार भन्ने नाराका साथ आयोजित ज्ञान उत्सवको उद्घाटन पूर्वमन्त्री एवं संघीय सांसद छविलाल विश्वकर्माले गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *