अहिले भारत र पाकिस्तानबीच सुरु भएको सैन्य लडाइँले विश्वलाई नै त्रसित बनाएको छ । समग्र दक्षिण एसियाले त ठूलै खतराको रूपमा लिएको छ । कश्मीरलाई केन्द्र बनाएर सुरु भएको यो लडाइँले गर्दा हिमालय क्षेत्र विशेष प्रभावित भएको छ र द्वन्द्वको ठूलो मारमा यही क्षेत्रका बासिन्दा पर्ने निश्चित छ । यो विषम परिस्थितिमा नेपाल आफ्नो ऐतिहासिक तटस्थताको नीति पूर्ण रूपमा पालना गर्दै समग्र क्षेत्रमा शान्तिको विशेष प्रयास गर्नुपर्छ । युद्धरत पक्षहरूलाई तत्काल वार्तामा आउन आह्वान गर्दै नैतिक दबाब सिर्जना गर्ने कामको नेतृत्व गर्नुपर्छ ।
हाल नेपाल सार्क क्षेत्रको अध्यक्ष राष्ट्र हो । नेपालले अध्यक्षको हैसियतको व्यवहार देखाउन सक्नुपर्छ । भारत र पाकिस्तान दुवै अहिले कुनै ठूला युद्ध अथवा सानामसिना लडाइँसमेत चाहँदैनन् । साना कुराले युद्ध भड्किन सक्छ र नचाहँदानचाहँदै ठूला युद्धमा परिणत हुनसक्छ । युद्धहरू महँगा छन्, ठूलो क्षति हुनाको साथै आर्थिक राजनीतिक रूपमा ध्वंशात्मक पनि हुनसक्छ । संसारकै गतिला सैन्यशक्ति भएका यी दुई देशलाई यो जोखिमको बारेमा पूर्ण रूपमा थाहा छ नै, तर अनेकखाले आन्तरिक र बाहिरी कारणले युद्धमा अग्रसर हुन बाध्य हुन्छन् । अहिलेको अवस्था त्यस्तै हो । यस्तो घडीमा छिमेकी देशहरूले मध्यस्थता गरेर स्थितिलाई सामान्यीकरणतर्फ लान ठूलो भूमिका खेल्ने ठाउँ सधैं बाँकी राख्न आवश्यक हुन्छ ।
अहिले केही नेपाली सरकारी र राजनीतिक शक्तिहरूले एक पक्षीय रूपमा युद्ध भड्काउने तरिकाका अभिव्यक्तिहरू दिन थालेको देखिन्छ । आफ्नो राजनीतिक दाउपेचको लागि भारतीय शक्तिकेन्द्रहरू धाउन बानी परेकाहरू देशको दीर्घकालीन तटस्थताको नीतिविपरीत भारतीय युद्ध दाउपेचको लागि प्रयोग हुने भनाइहरूमा आफ्नो स्वर मिलाउन लागेको देखिन्छ । नेपाल जस्तो भूराजनीतिक रूपमा संवेदनशील ठाउँमा रहेको देशले कुनै हालतमा आफ्नो नीतिमा तलमाथि ल्याउनुहुँदैन । पक्षधरता नेपालको हितमा छैन । शान्ति स्थापना गर्ने कार्यको लागि आवश्यक पहल र युद्ध अन्त्य गर्ने एउटा तटस्थ भूमिको रूपमा नेपाली हिमालयलाई प्रयोग गर्ने कूटनीति नेपालको हितमा हुन्छ र समग्र दक्षिण एसियामा शान्ति स्थापना गर्न सहयोग पुग्छ ।
आफ्नो राजनीतिक दाउपेचको लागि भारतीय शक्तिकेन्द्रहरू धाउन बानी परेकाहरू देशको दीर्घकालीन तटस्थताको नीतिविपरीत भारतीय युद्ध दाउपेचको लागि प्रयोग हुने भनाइहरूमा आफ्नो स्वर मिलाउन लागेको देखिन्छ ।
युद्ध चर्किंदै गएमा नेपालले अनेक कठिनाइ भोग्नुपर्ने हुन्छ ।
पहिलो– भारतीय सेनामा धेरै नेपाली काम गर्छन् । उनीहरू सधैं अग्रपंक्तिका लडाकुको रूपमा प्रयोग हुन्छन् । सयौं अथवा हजारौंको संख्यामा नेपालीहरू हताहत हुनसक्छन् । नेपाली गाउँगाउँमा भयावहको अवस्था आउनसक्छ । कारगिललगायतका युद्धमा मारिएका नेपाली युवाहरूको पीडा अहिलेसम्म हाम्रा गाउँहरूले भुल्न सकेका छैनन् । यो हिसाबमा जनसंख्याको हिसाबले भारतमा भन्दा नेपालमा ठूलो क्षति हुन आउनसक्छ । यो अवस्थामा युद्धको समर्थन होइन, बरु तत्काल अन्त्य गर्ने तटस्थ भूमिकाले मात्रै नेपाली गाउँहरूलाई शोकमा पर्नबाट जोगाउन सकिन्छ ।
दोस्रो– अहिलेको युद्ध कश्मीर र पश्चिमी हिमालय क्षेत्र केन्द्रित देखिन्छ । चर्किंदै गयो भने पश्चिमी नेपालसमेत प्रत्यक्ष निसानामा पर्ने सम्भावना हुन्छ । उछिट्टिएरै किन नहोस्, नेपाली भूमि कुनै ढंगको निसानामा पर्नसक्छ । यो अवस्था चर्कंदै गयो भने नेपाल युद्धको एउटा पाटो बन्नसक्छ । उत्तराखण्डदेखि कश्मीरसम्म पश्चिम नेपालका धेरै मानिस मजदुरी गर्न जाने गर्छन् । कोभिडको बेला जस्तो तहसनहस देखिएको थियो, फेरि देखिनसक्छ । आर्थिक रूपमा तहसनहस र राजनीतिक रूपमा विभाजित नेपालले यो अवस्थाको कल्पनासमेत गर्नुहुँदैन । नेपालले दूरदृष्टि राख्नुपर्छ र राष्ट्रिय एकताका साथ असंलग्न नीतिका आधारमा आफ्ना भनाइहरू सार्वजनिक गर्नुपर्छ ।
तेस्रो– नेपाल आर्थिक रूपमा झन्डै झन्डै भारत आश्रित देश हो । युद्ध चर्कंदै गयो भने नेपालमा ठूलो आर्थिक असर पर्छ । भारतले निर्यात बन्द गर्नसक्छ । अहिले नै भारतका दर्जनौं एयरपोर्ट बन्द छन् । त्यो अवस्था बढेर जानसक्छ । अहिले नै नेपालबाट बाहिर उडान गर्ने हवाई मार्गमा असर परिसकेको छ । बजार मूल्य बढेर जाने निश्चित नै छ । पाकिस्तानले चिनियाँ हतियार प्रयोग गर्ने कुराले भारत–चीन सम्बन्ध झन् टकराबमा पुग्नसक्छ, जसको प्रत्यक्ष आर्थिक असर नेपाललाई पर्ने निश्चित छ । त्यस्तो अवस्था आएमा के गर्ने भन्ने योजना नेपालले बनाउनुपर्छ । ठूला देशहरूबीच भएका यस्ता लडाइँले हिमालय क्षेत्रलाई निकै ठूलो नोक्सानी पुर्याउने देखिन्छ । हिमालय क्षेत्रको केन्द्रमा रहेको नेपालले आर्थिक जटिलतालाई ख्यालगरी तटस्थ रूपमा यो क्षेत्रका अन्य मुलुकहरूलाई समेत समेटेर दीर्घकालीन शान्तिको खाका तयार गर्न प्रस्ताव लानु उचित हुन्छ ।
पाकिस्तानले चिनियाँ हतियार प्रयोग गर्ने कुराले भारत–चीन सम्बन्ध झन् टकराबमा पुग्नसक्छ, जसको प्रत्यक्ष आर्थिक असर नेपाललाई पर्ने निश्चित छ । त्यस्तो अवस्था आएमा के गर्ने भन्ने योजना नेपालले बनाउनुपर्छ ।
चौथो– विश्व शक्तिराष्ट्रहरू पनि यो युद्धमा तानिन सक्छन् । अमेरिका यो लडाइँलाई तत्काल रोक्नुपर्छ भन्ने पक्षमा छ, तर पाकिस्तानले प्रयोग गरेको चिनियाँ युद्धक विमानले फ्रान्समा निर्मित र भारतले प्रयोग गरेको संसारमै कहलिएको राफेल युद्धक विमान धेरै संख्यामा खसालेको भन्ने कुराले एउटा सनसनी सिर्जना गरेको छ । चीनले आफ्नो प्रविधि जाँच गर्ने मौका पाएको छ भने आफ्नो सैन्य प्रविधि कमजोर हुन थालेको पो हो कि भन्ने पिर पश्चिमा देशमा पर्ने देखिन्छ । मध्यपूर्वदेखि युक्रेनसम्मको युद्धको बेला भएकाले विश्व भूराजनीतिक शक्तिहरू यो युद्ध रोक्ने पक्षमा जान्छन् नै, तर नेपाल जस्ता भूभागहरू सही ढंगले आफ्ना गतिविधिहरूलाई व्यवस्थापन गर्न नसके युद्धमा तानिन सक्छन् ।
लडाइँमा होमिएका देशका सञ्चारमाध्यमहरू युद्ध चर्काउने र उत्तेजित पार्ने काममा व्यस्त देखिन्छन् । तिनै सूचनाहरूलाई आधार बनाएर नेपालका नेताहरू, सरकारमा रहेका व्यक्तिहरू तथा आमनागरिक समाजले धारणा बनाउने र जे पायो त्यही अभिव्यक्ति दिने गर्ने हो भने हामी राष्ट्रिय स्वार्थलाई कमजोर पार्ने काम गर्दैछौं । जिम्मेवार छिमेकीको भूमिका निर्वाह गर्ने, भरपर्दो मध्यस्थताको खोजी गर्ने, अन्य देशहरूसँग सहकार्य गरी निकास निकाल्न नेतृत्व दिने, सार्कको भूमिका खोज्ने, अन्य क्षेत्रीय संगठनहरूलाई परिचालन गर्ने जस्ता काममा नेपालले ठूलो भूमिका खेल्नसक्छ । नेपाल जस्ता देशले खेल्ने यस्तो खाले भूमिका नै भारत र पाकिस्तानहरूका लागि ठूलो सहयोग हुन्छ ।
जिम्मेवार छिमेकीको भूमिका निर्वाह गर्ने, भरपर्दो मध्यस्थताको खोजी गर्ने, अन्य देशहरूसँग सहकार्य गरी निकास निकाल्न नेतृत्व दिने, सार्कको भूमिका खोज्ने, अन्य क्षेत्रीय संगठनहरूलाई परिचालन गर्ने जस्ता काममा नेपालले ठूलो भूमिका खेल्नसक्छ ।
केही हप्ताअघि आतंककारीहरूद्वारा कश्मीरमा गरिएको नरसंहार अहिलेको लडाइँको सुरुवात बिन्दु देखिए पनि यो अवस्था आउनुमा धेरै लामो इतिहास छ । दुवै मुलुकमा बढ्दो अतिवादले युद्धको अवस्था अझ बढेर जाने पनि हुनसक्छ । यस्तो अवस्थामा नेपाल जस्ता छिमेकी देशहरूले कसरी लडाइँ अन्त्य गर्न सहयोग गर्ने, आफ्नो सुरक्षा कसरी मजबुत बनाउने र अन्य मुलुकहरूलाई कसरी शान्तिको पक्षमा खडा गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । यसको लागि आन्तरिक रूपमा प्रस्ट नीति र क्षमताको विकास अनिवार्य छ ।
युद्धरत शक्तिहरूको पक्षमा र विपक्षमा संसदमा समेत बहस गरेको देख्दा उदेक नै लाग्यो । सीमित ज्ञान र विश्लेषणका आधारमा औपचारिक ढंगले नै पक्षविपक्षमा बहस गर्नु केटाकेटीपन हो । यो तरिकाको बहस गर्नुभन्दा त यो विषयमा बोलेरभन्दा नबोलेरमात्रै नेपालको हित हुन्छ । यस्तो संवेदनशील विषयलाई व्यक्तिगत विचारको रूपमा समेत बहसमा लानु अघि धेरै सोच्नु राम्रो हुन्छ ।
गरिब र सानो देश भन्ने लघुताभासबाट माथि उठेर हिमालय क्षेत्रको र दक्षिण एसियाको सबैभन्दा पुरानो देशको हिसाबले नेपालले आफ्नो भूमिका खोज्ने यो एउटा अवसर पनि हो । बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुराले मात्रै पुग्दैन, अब बुद्ध शिक्षालाई क्षेत्रीय भूराजनीतिक सन्तुलन र शान्तिको पक्षमा प्रयोग गर्न नेतृत्व प्रदान गर्नु नेपालको प्राथमिकता हुनुपर्छ ।

Leave a Reply