काठमाडौं । शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘जार’को उच्च माग आएपछि मल्टिप्लेक्सहरूमा शो थप गरिएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो चलचित्रप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित शहरका मल्टिप्लेक्सहरूमा शो थप गरिएको हो ।
सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा बढोत्तरी गरेको कार्यकारी निर्माता ज्योति क्षेत्रीले बताएकी छन् । त्यस्तै दार्जिलिङमा पनि चलचित्रको शो थप भएको छ ।
क्षेत्रीले भनिन्, ‘हाल प्रदर्शनमा आएका सबै शहरमा चलचित्रको माग उच्च छ । सम्बन्धित हलहरूले शो थपको लागि सम्पर्क गरिरहनु भएको छ । दर्शकले ‘जार’प्रति देखाउनुभएको प्रेम उत्साहजनक छ ।’
दोस्रो चरणमा नेपाली भाषीहरूको बाहुल्य रहेका शहरहरू मिरिक, आसाम, देहरादुन, धर्मशाला, दिल्ली, बैङ्गलोर, कोलकाता, हैदरावाद, गोरखपुरलगायतका ठाउँमा चलचित्र प्रदर्शनको क्रममा रहेको क्षेत्रीले जानकारी दिएकी छन् ।
निर्माता क्षेत्रीका अनुसार सुरुको दिन सुखद अकुपेन्सी पाएको यो चलचित्रको आजको अकुपेन्सी झनै राम्रो छ । आज हलमा दर्शकको अकुपेन्सी ७० प्रतिशतमाथि रहेको क्षेत्रीको भनाइ छ । चलचित्रको पहिलो दिनको ग्रस कलेक्सन भने आउन बाँकी छ।
शुक्रबारदेखि कलाकारसहितको निर्माण टीम काठमाडौंका विभिन्न हलमा पुगी दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिरहेका छन् ।
यसैबीच दर्शक प्रतिक्रिया लिन ठमेलस्थित छायाँ सेन्टर पुगेका निर्देशक लामालाई एक दर्शकले उपन्यास उपहार दिएका छन् । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित ‘जार’लाई उत्कृष्ट तरिकाले दृश्यभाषामा उतार्न सफल भएकोमा बधाई दिँदै एक दर्शकले नेपाली समाजको ऐतिहासिक कथा समेटिएका दुई उपन्यास उपहार गरेका हुन् ।
‘जार’मा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको प्रमुख अभिनय छ । अखिलेश राईको सम्पादन रहेको चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, निरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । नेपालमा यो चलचित्रलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले प्रदर्शन तथा वितरण गरेको छ ।

Leave a Reply