श्रमिक दाजु, श्रमिक दिदी खोल न यी आँखा
असारे गाउने किसान दाजु सुनौँ न यही भाका
कलम समाउने ए लेखक साथी कलम उठाउन
आइपुग्यो प्यारो एकीकृत माले जनतालाई जगाउन
आइपुग्यो हाम्रो कम्युनिष्ट पार्टी जनतालाई जगाउन
पार्टी बन्यो । त्यसलाई विचार, सिद्धान्त, नीति र नेतृत्व चाहिन्थ्यो । त्यसको अभाव थिएन ।
पार्टी स्थापित हुनुपर्ने जनताको बीचमा, त्यहाँ के भनेर पुग्ने ? त्यो बेलाको नेपाली समाज आंशिक रूपमा मात्रै शिक्षित थियो । त्यस्तो समाजमा मार्क्सवादी विचारमात्रै बोकेर जान्छु भन्दा जनताले बुझ्ने थिएनन् । त्यसैले न्याय र समानताका कुरा गर्दै जनताबीच जानुपर्ने थियो । त्यसका लागि जनताको जिब्रोमा झुण्डिने एउटा गीत चाहिने भयो ।
२०३५ सालमा मोदनाथ प्रश्रित, जीवराज आश्रित, एकदेव ज्ञवालीहरूसँगै प्रदीप नेपाल पनि थिए । उनको हातमा कलमसँगै गितार थियो । ‘डी मेजर’ कर्डमा थिचिएको औंला चल्दै गयो । सँगसँगै एउटा ऐतिहासिक पार्टी गीत निस्कँदै गयो ।
सहिदको रगतले लत्पतिएको रक्तिम झन्डा हो
हसियाँमाथि हतौडा हुनु एकताको चिह्न हो
स्कुल पढाउने एक शिक्षक साथी यही कुरा बुझाउन
आइपुग्यो प्यारो एकीकृत माले जनतालाई जगाउन
आइपुग्यो हाम्रो कम्युनिष्ट पार्टी जनतालाई जगाउन
पाँच दिनअघि दिवंगत एमाले नेता, प्रगतिशील साहित्यकार तथा लेखक प्रदीप नेपाललाई गीतका यी पंक्तिले जिउँदै राखिरहेका छन् ।
२०३६ सालको विद्यार्थी आन्दोलनपछि व्यवस्थाको परीक्षणका लागि जनमतसंग्रह गर्न राजा वीरेन्द्र मञ्जुर भए । दलहरू खुलाप्रायः भए । भर्खरै गठन भएको नेकपा मालेका निम्ति जनताबीच जान त्यो मौका निकै फलदायी थियो । उसले यही गीतको भाका बोकेर जनतामा पार्टी परिचित गराउने अभियान नै चलायो । गीतमा पहिला ‘नेकपा माले’ नै थियो । ‘एकीकृृत माले’ चाहिँ २०४७ मङ्सिरमा मार्क्सवादीसँग एकता भएर पार्टीको नाम अगाडि एकीकृत थपिएपछि कायम गरिएको हो ।
बहुदलले जनमतसंग्रह जित्न सकेन । मुलुक ‘सुधारिएको’ पञ्चायत व्यवस्थाबाटै अगाडि बढ्ने भयो । राजनीतिक दलमाथिको प्रतिबन्ध कायम भयो । अब यो गीत जनमतसंग्रहमा जसरी खुलेआम गाउन नसकिने भयो । त्यसपछि नेकपा मालेले जेजस्ता गतिविधि चलायो, त्यो विद्यार्थी संगठनको माध्यमबाट अगाडि बढ्न थाल्यो ।
चौथो महाधिवेशनबाट देशका कम्युनिष्ट घटकमा विभाजन शुरु भएको थियो । विद्यार्थी घटक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चाहिँ एउटै र साझा थियो । त्यो पनि २०३६ सालको पाँचौं महाधिवेशनसम्म मात्रै कायम भयो । त्यसपछि मोहनविक्रम पक्षीय खेमा एकातिर, मालेपक्षीय खेमा अर्कोतिर भयो । मोहनविक्रम पक्षीयले अ.ने.रा.स्व.वि.यु. छैटौं र माले पक्षले अनेरास्ववियु पाँचौंका रूपमा आफ्ना गतिविधि अगाडि बढाए । त्यसक्रममा छैटौंको अध्यक्ष लीलामणि पोखरेल भए, पाँचौंका टंक कार्की ।
सांस्कृतिक फाँटबाट पार्टी निर्माण हुन्छ भन्ने अभ्यास जनमतसंग्रहबाट शुरु गरिसकेको मालेले २०३८ मा अखिल पाँचौंमा अलग्गै सांस्कृतिक मोर्चाको निर्माण गर्यो । त्यसलाई उपत्यका सांस्कृतिक कमिटी (उसाक) नामकरण गरियो । त्यसको संस्थापक अध्यक्ष थिए, माधव प्रधान । उनी संगठनका अध्यक्ष टंक कार्कीसँगै ताप्लेजुङबाट काठमाडौं झरेका थिए । यद्यपि उक्त सांस्कृतिक मोर्चा निर्माणमा कार्कीको भन्दा मुख्य भूमिका प्रदीप नेपालको थियो ।
अखिलले उकास स्थापना गरेपछि दुई गीत निकै स्थापित भए । एउटा त ‘आइपुग्यो प्यारो नेकपा माले’ हो । अर्को थियो, ‘बिहानीको घाम जस्तै रातो, लेकाली गुराँस जस्तै रातो, अनेरास्ववियुको झन्डा हो यो, रगतले रंगिएको रातो ।’
‘आइपुग्यो प्यारो नेकपा माले’ गीतका वास्तविक शब्द सर्जक प्रदीप नेपाल एक्ला थिएनन्, तर संगीत चाहिँ उनकै थियो । २०४७ सालमा पार्टी खुला भएपछि पञ्चायतकालीन गीतहरू रेकर्डिङ गर्ने, क्यासेटमा निकाल्ने र त्यसलाई बेचेर खर्च चलाउने क्रम चल्यो । २०४९ सालमा सम्पन्न एमालेको पाँचौं महाधिवेशन आयोजक कमिटीअन्तर्गत प्रचार समितिले ‘आशाको किरण’ शीर्षकमा क्यासेट एल्बम तयार पार्यो । त्यसमा यो गीत उल्लेख थियो । सबैभन्दा बढी पनि यही चल्यो, तर त्यसमा न प्रदीप नेपालको स्वर थियो, न त उनीबारे केही उल्लेख नै गरियो । मुख्य कलाकारका रूपमा राजन राई, राजेन्द्र महर्जन र दिनेश श्रेष्ठ थिए । गीतमा बेदना थुलुङ, प्रेमा महर्जन, संगीता राई र यमुना महर्जनको पनि स्वर थियो ।
उसाकका संस्थापक अध्यक्ष माधव प्रधान सम्झन्छन्, ‘जनमत संग्रहपछि उसाक बन्यो, प्रदीप कमरेडकै पहलमा ।’ त्यसपछि जनसांस्कृतिक परिवारका नाममा पार्टीले सांस्कृतिक गतिविधि सञ्चालन गर्न थाल्यो, त्यसको नेतृत्व प्रदीपले गरेको प्रधानले बताए ।
‘२०४४ सालमा उहाँकै अगुवाइमा राष्ट्रिय जनसांस्कृतिक मञ्च स्थापना भयो । अध्यक्ष मोदनाथ प्रश्रित र महासचिव रामचन्द्र भट्टराई हुँदा म पनि केन्द्रीय सदस्य भएँ’, उनले भने, ‘तर हाम्रा गतिविधि कहिले उसाकका नाममा त कहिले जनसांस्कृतिक परिवारका नाममा चलिरहेका थिए ।’
जनसांस्कृतिक मञ्चभित्र लेखक, कवि र कलाकारलाई पनि समेट्नुपर्ने अवधारणा प्रदीप नेपालबाटै आएको उनी बताउँछन् । ‘हुन त प्रदीपभन्दा पनि दिग्गज व्यक्तित्व प्रश्रित हुनुहुन्थ्यो, हाट्टहुट्ट चाहिँ प्रदीपकै चल्थ्यो’, उनले भने । प्रदीप लेख्ने, गीत गाउने, बाजा बजाउनेसहित जनसांस्कृतिक मञ्चको अवधारणाभित्रका सबै भूमिकामा भएका कारण पनि उनी चल्ताफिर्ता भएको उनको भनाइ छ ।
प्रदीपको सक्रियतामा अखिलले उपत्यका सांस्कृतिक कमिटी पायो । पार्टीका निम्ति राष्ट्रिय जनसांस्कृतिक मञ्चको स्थापना भयो । त्यसपछि उनी चाहिँ अलिक स्वतन्त्र जस्तो देखिने गरी ‘कोरस समूह’ निर्माणमा अग्रसर भए । स्वतन्त्रको आवरणमा पार्टीलाई सघाउने उद्देश्यसाथ उक्त समूह स्थापना भएको थियो । त्यसले तयार पारेका गीतमध्ये ‘नउठी भएन नेपालका दिदीबहिनी हो, के छ र बाँच्ने आधार कम्मरै नकसे’ निकै चल्यो । त्यसका गीतकार र संगीतकार प्रदीप नै थिए ।
कोरसमा अशोक राई (हाल जसपा नेता), साम्दे शेर्पा, राजन राई, बेदना थुलुङहरू थिए । राजन राईको गीत ‘शीरैमा मेरो शीरैको टोपी’, ‘कान थापेर सुनिदेऊ बहिनी रीतितिथि बिग्रेर गइसक्यो’ पनि कोरसकै सिर्जना थिए । सबै प्रदीपका शब्द थिएनन्, तर समूहको नेतृत्व उनकै थियो । २०४९ सालको महाधिवेशनपूर्व तयार पारिएको क्यासेट ‘आशाको किरण’ यही समूहको स्वर, संगीत र शब्दका गीतले भरिएका थिए । त्यसबेलासम्म जेबी टुहुरे, खगेन्द्र राईहरू पनि जनसांस्कृतिक मञ्चको नेतृत्वमा रहेका कारण उनीहरूले पनि ‘आशाको किरण’ मा योगदान गरेका थिए ।
प्रदीप नेपाल आफैंले २०२६ सालदेखि पार्टी सम्पर्कमा रहेको र नेतृत्व तहमा काम गरेको बताएका छन् । माधव प्रधानको अनुमान छ, उनी त्यसअघि नै राल्फा समूहबाट क्रान्तिकारी चेतसहित आन्दोलनमा जोडिएको हुनुपर्छ । सिरोज नामले उनी राल्फाकर्मीका रूपमा चिनिन्थे ।
प्रधान भन्छन्, ‘मैले २०२८ सालमा उहाँलाई पहिलो चोटि भेट्दा सिरोजकै नामले चिनेको हुँ, गितार बोकेर कुदिराख्ने मान्छे कलाकार नै हुनुपर्छ भन्ने लागेको थियो ।’
पछि पार्टीमा सांस्कृतिक फाँटको नेतृत्वसहित आएपछि पनि प्रदीपले सधैं पार्टीको गीत गाएर नहुने भन्ने गरेको प्रधान सम्झिन्छन् ।
राल्फा जनताको बीचमा चेतनापरक सांगीतिक प्रस्तुति पेश गर्ने जुझारु समूह थियो, तर पार्टीभित्र त्यसलाई अराजक जत्थाका रूपमा चित्रित गरिनाले प्रदीप नेपाल त्यसबाट अलग भए ।
राल्फा अभियानका अगुवा गायक रामेशका अनुसार २०२४ सालदेखि नै प्रदीप उक्त समूहबाट अलग भएका हुन् । ‘उन्नत विचार भएको, राष्ट्रिय र वर्गीय उत्थानको बाटोमा लाग्छु भन्दै उहाँ निस्कनुभयो’, उनले भने, ‘पछि हामी पनि कोअर्डिनेशन केन्द्र हुँदै नेकपा मालेमा जोडियौं ।’
प्रदीपले नै रामेशसहित आफ्ना सहोदर दाइ मञ्जुललाई पनि मालेमा जोडेका थिए । ‘त्यसबेला हामीले कोअर्डिनेशन केन्द्र, माले हुँदै एमालेसम्म बन्ने कुरामा योगदान गरेका हौं, तर लामो समय त्यहाँ रहन सकिएन’, रामेश भन्छन्, ‘२०३९ सालमा गुटबन्दी शुरु भएपछि म अलग भएँ ।’
प्रदीप नेपालसँगको राजनीतिक सहकार्य लामो नहुनुमा उनको व्यवहार कारक भएको रामेशको स्मरण छ । ‘हामी उहाँका दाजु नै थियौं, मञ्जुल त आफ्नै दाजु, तर म अलिक ठूलो हुँ, पार्टीको मान्छे, नेता हुँ भन्नेखालको एक किसिमको उच्चताको अहंकार जस्तो देखिन्थ्यो’, उनले भने । यद्यपि व्यक्तिगत सम्बन्ध राम्रै थियो ।
‘मन्त्री हुँदा केही राम्रो काम गरौं भन्ने उहाँलाई लागेको थियो’, उनले भने, ‘भेट्न पनि गयौं, तर पुरानो कर्मचारीतन्त्रले सबैथोक गालेको, सडेको अवस्थामा केही काम गर्ने वातावरण नै भएन ।’
हेर्नुस् म्युजिक नेपालद्वारा युट्युबमा अपलोड गरिएको गीत

Leave a Reply