रुपन्देही । कालीगण्डकी क्षेत्रमा मात्र पाइने शालिग्रामका विषयमा प्रचारप्रसार, प्रवर्द्धन, महत्त्वका विषयमा जानकारी दिन रूरू क्षेत्रमा शालिग्राम महोत्सव नै आयोजना गरेर नयाँ सन्देश दिन खोजिएको छ ।
पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रहेको रुरुक्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा आयोजना गरिएको महोत्सवमा नेपाल तथा भारतमा नाम चलेका सन्तहरु सहभागी गराएर धार्मिक पर्यटन क्षेत्रमा नयाँ सन्देश दिन खोजिएको आयोजकको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकारको समन्वयमा पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरुक्षेत्र गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको आयोजना तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिले यसको व्यवस्थान गरेका छन् । भारतको विभिन्न क्षेत्रका सन्तहरु, पत्रकारहरुसहित ठूलो समूह यहाँ पुगेका छन् ।
महोत्सवको लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक धाम रुरुक्षेत्रमा शालिग्राम दिवसलाई पर्यटन डिभिजन कार्यालय रुपन्देहीले समन्वय गरेर भारतबाट ठूलो संख्यामा पत्रकारहरुलाई यहाँ पुर्याएको छ ।
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगममा अवस्थित रुरुक्षेत्र हिन्दू धार्मिक ग्रन्थ बराह पुराणमा यस स्थानको पौराणिक इतिहास र स्वस्थानी किताबमा यहाँ सतीदेवीको दन्त पतन भएको वर्णन गरिएको छ। नेपालमा रहेका हिन्दू धर्मावलम्बीहरूको चार वटा धार्मिक क्षेत्रहरू रुरुक्षेत्र, बराह क्षेत्र, पशुपति क्षेत्र र मुक्ति क्षेत्रमध्ये यो पनि एक हो ।
महोत्सवमा विविध धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रम समावेश गरेर रुरुक्षेत्रको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्वलाई बाहिर ल्याउन खोजिएको छ । महत्वपूर्ण स्थलमा आयोजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार भइ पर्यटनको विकासमा टेवा पुर्याउने विश्वास गरिएको पर्यटन व्यवसायीले बताएका छन्।
ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईका अनुसार महोत्सवमा पण्डित नारायणानन्द आचार्यले शालिग्रामका विषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि चैतन्य कृष्ण महाराजले टिप्पणी गर्ने कार्यक्रम रहेकाले उनका अनुवाईहरु यहाँ धेरै पुगेका छन् ।
ऋषिकेशव भगवान र कालीगण्डकीका साथै रिडी रूरू क्षेत्रका विषयमा विज्ञ मुरली मोहन बास्तोलाले प्रस्तुत गर्ने कार्यपत्रमा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति रमेश ढकालले टिप्पणी गर्नेछन् । महोत्सवले कालीगण्डकी नदी र शालिग्रामको महत्त्वलाई प्रचारप्रसारमा सहयोग पुग्ने विश्वासका आधार यति ठूलो कार्यक्रम आयोजना गरिएको भट्टराईले बताएका छन् ।
महोत्सवमा १ हजार ८ शालिग्रामको पुजन, बिक्री वितरण, ऋषिकेशवको रथयात्रा, झाँकी र्यालीलगायत भजनकिर्तन, कालीगण्डकीमा सन्ध्याकालीन आरती गर्ने कार्यक्रमले धेरैको ध्यान तानेको छ । धार्मिक प्रचारप्रसार हुनुका साथै प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यवसायीको छ ।
रूरू क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व भएकाले भारतसहित नेपालका विभिन्न स्थानबाट दर्शनार्थी यहाँ आउने गर्छन् । कालीगण्डकीमा स्नान गर्ने र प्रसिद्ध ऋषिकेशव मन्दिरमा दर्शन गर्ने प्रचलन छ । सोह्रौ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरको भन्न किवंदन्ती रहेको छ। कालीगण्डकी नुहाउन र ऋषिकेशव, गायत्रीमाता लगायत विभिन्न देवालयहरूको दर्शन गर्न भक्तजनहरू आउने गर्छन् ।
ऋषिकेशव मन्दिर र यस क्षेत्रलाई रूरू कन्याको जन्मस्थल भनिन्छ । मणिमुकुन्द सेनबाट ऋषिकेशवको मूर्ति प्राप्त गरी स्थापना गरेको प्रसिद्ध ऋषिकेशव मन्दिरले धार्मिक पर्यटकको लागि आर्कषण बन्नसक्ने विश्वास छ । जैविक विविधताले भरिपूर्ण पवित्र तीर्थस्थल नजिक मठ मन्दिर, पार्टी पौवा, पोखरी आदि रहेका छन् ।
यस क्षेत्रको प्रचारप्रसारमा ध्यान नदिएको, गुरुयोजना निर्माण नभएको, सम्पूर्ण धरोहरहरुको संरक्षण, शवदाह गृह निर्माण नदी तथा वातावरण संरक्षण गर्नु लगायतका काममा चासो दिनुपर्ने स्थानीयको सुझाव छ ।
स्याङ्जामा ‘कालीगण्डकी ए’ जलविद्युत् परियोजना सञ्चालन भएपछि मिर्मिमा ताल बनेको छ । रिडी क्षेत्र भने सुख्खा बनेको छ । मिर्मिदेखि पाल्पाको यम्घाको दर्पुकसम्म सुख्खाजस्तै बनेको छ । रूरू कन्याको जन्मस्थल समेत भएको विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । भृगुऋषि और्व ऋषि आदिको एकमात्र तपोभूमि यस स्थललाई मानिदै आएको छ ।
जानकारहरुका अनुसार हिमाल, पहाड र तराईको भूगोलले भरिएको नेपाल प्राकृतिक सुन्दरतामात्र होइन, धार्मिक र सांस्कृतिक सम्पदाको पनि धनी राष्ट्र हो। यस्ता सम्पदामध्ये एउटा दुर्लभ र विशिष्ट सम्पदा हो — शालिग्राम।
धार्मिक दृष्टिकोणले अत्यन्तै पूजनीय मानिने शालिग्राम न केवल श्रद्धा र आस्थाको केन्द्र हो, यो नेपालकै भूगर्भीय इतिहास बोकेको प्राकृतिक चमत्कार पनि हो। हिन्दू धर्मअनुसार शालिग्राम भगवान विष्णुको साक्षात प्रतीक मानिन्छ। खासगरी कालीगण्डकी नदीमा पाइने यी अद्भुत कालो ढुंगाहरू पुराणदेखि हालसम्म धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा चर्चाको केन्द्रमा छन्।
शालिग्रामको उल्लेख वेद, पुराण, महाभारत र रामायणजस्ता ग्रन्थहरूमा पाइन्छ। विष्णु पुराण, गरुड़ पुराण र स्कन्द पुराणमा शालिग्रामको पूजा गर्दा करोडौं यज्ञको फल प्राप्त हुने उल्लेख गरिएको छ। जनविश्वास अनुसार, त्रेतायुगमा भगवान रामले पनि शालिग्रामको पूजा गरेका थिए। शालिग्रामले भक्ति र मोक्षका मार्ग खोल्ने विश्वास गरिन्छ। शालिग्रामसम्बन्धी विभिन्न धार्मिक मान्यताहरूले नेपाललाई विश्वव्यापी धार्मिक नक्शामा राख्ने काम गरेका छन्। यिनको प्रयोग वैदिक कर्मकाण्ड, विवाह, ब्रतबन्धदेखि मृत्यु संस्कारसम्म पनि हुने गर्छ।
शालिग्राम के हो ? कहाँ पाइन्छ शालिग्राम ?
शालिग्राम एक प्रकारको जीवाश्म हो जुन लाखौं वर्ष पुरानो अमोनाइट नामक समुद्री जीवको संरचना हो। यी जीवाश्महरू कालीगण्डकी नदीको धारले बगाउँदा गोलो, चिल्लो र विभिन्न आकृतिको कालो ढुंगा बन्न पुग्छन्। केहीमा शंख, चक्र, गदा, पद्म लगायत विष्णुका प्रतीक चिह्नहरू देखिन्छन्, जसले यिनलाई धार्मिक रूपमा अझै महत्वपूर्ण बनाउँछ।
विश्वमा शालिग्राम मुख्यतया नेपालको कालीगण्डकी नदीको तटमा मात्र पाइन्छ। मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, पाल्पा र गुल्मी हुँदै बग्ने कालीगण्डकी नदी शालिग्रामको एकमात्र स्रोत हो। यी ढुंगाहरू समुद्री जीवाश्म भएकोले यिनको वैज्ञानिक मूल्य पनि छ। भारत, श्रीलंका, थाइल्याण्डलगायत देशहरूमा शालिग्रामको माग उच्च भए पनि स्रोत नेपालमै सीमित छ।
धार्मिक महत्व
शालिग्राम भगवान विष्णुको साक्षात प्रतीक मानिने भएकाले यसको पूजा विशेष रूपमा वैष्णव परम्परामा गनिन्छ। शालिग्राम बिना तुलसी विवाह, विष्णु पूजा, लक्ष्मी पूजा, र पितृकार्य अपूर्ण मानिन्छ। हिन्दू समाजमा शालिग्रामलाई घरमा राखेर दैनिक पूजा गर्ने चलन छ। यसको उपस्थितिले घरमा सकारात्मक ऊर्जा, समृद्धि र शान्ति ल्याउने विश्वास गरिन्छ। धार्मिक दृष्टिकोणले शालिग्राम कुनै मूर्ति होइन, साक्षात शालिग्रामशिला हो — जसलाई बिना प्राणप्रतिष्ठा पनि पूज्न सकिन्छ।
शालिग्रामको प्रयोग विविध धार्मिक विधिहरूमा गरिन्छः
दैनिक पूजास् प्रत्येक बिहान शुद्ध जलले शालिग्राम स्नान गराई तुलसी दल अर्पण गरेर पूजा गरिन्छ।
व्रत र पर्वहरूमास् एकादशी, जन्माष्टमी, र तुलसी विवाहका अवसरमा विशेष पूजा गरिन्छ।
संस्कारहरूमास् विवाह, उपनयन, श्राद्ध र तर्पणजस्ता संस्कारमा शालिग्राम अनिवार्य मानिन्छ।
धार्मिक पर्यटनमास् रुरु क्षेत्र, मुक्तिनाथ, देवघाटलगायत स्थानहरू शालिग्राम दर्शनका लागि पर्यटक र तीर्थयात्रीहरू आकर्षणका केन्द्र बनेका छन्।
शालिग्राम नेपालको अमूल्य धार्मिक सम्पदा भए तापनि यसको संरक्षण र व्यवस्थापनमा चुनौतीहरू रहेको यसका अभियान्ताहरु बताउँछन्ः
अनियन्त्रित सङ्कलनः स्थानीय बासिन्दा र पर्यटकहरूले शालिग्राम लिने क्रममा अन्धाधुन्द सङ्कलन भएको पाइन्छ। यसले नदी प्रणालीको जैविक सन्तुलनमा असर पारिरहेको छ।
निर्यातको नियमन अभावस् धार्मिक कारण देखाएर ठूलो परिमाणमा शालिग्राम भारत लगायत देशहरूमा निकासी हुने गरेको पाइन्छ। तर यसमा सरकारी नीति स्पष्ट छैन।
वैज्ञानिक अध्ययनको कमीः जीवाश्मको रूपमा शालिग्रामले भूगर्भीय अनुसन्धानका लागि मूल्यवान सामग्री भए पनि वैज्ञानिक अध्ययन न्यून छ।
धार्मिक पर्यटनको सम्भावना अपर्याप्तः रुरु क्षेत्र, मुक्तिनाथजस्ता स्थानमा महोत्सव र प्रचारप्रसार भए पनि समग्र व्यवस्थापनमा सुधार आवश्यक देखिन्छ।
प्रथम रुरु क्षेत्र शालिग्राम महोत्सव २०८२’ जस्ता प्रयासहरूले धार्मिक पर्यटन प्रवर्द्धनतर्फ आशा जगाएका छन्। यस्ता महोत्सवहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्छन्, जसले स्थानीय रोजगारी, सांस्कृतिक सम्प्रेषण र राष्ट्रिय आम्दानीमा सकारात्मक प्रभाव पार्न सक्छ।
प्रदेश सरकार, स्थानीय निकाय र मठमन्दिरहरूबीच समन्वयको खाँचो छ। शालिग्राम प्राकृतिक, धार्मिक र वैज्ञानिक सम्पदा भएकाले यसलाई संरक्षण गर्न आवश्यक छ। यसको लागि केही उपाय अपनाउन सकिने सरोकारवालाले बताएका छन् ।
संविधानिक संरक्षणः शालिग्राम क्षेत्रलाई राष्ट्रिय सम्पदा घोषणा गर्दै संरक्षण नीति ल्याइनुपर्छ।
अनियन्त्रित निकासीमा रोकः शालिग्रामको निर्यातमा कडा निगरानी र दर्ता प्रणाली लागू गरिनुपर्छ।
वैज्ञानिक अध्ययन प्रवर्द्धनः विश्वविद्यालयहरू र अनुसन्धान संस्थाले शालिग्रामको भूगर्भीय, जीवाश्मीय र धार्मिक पक्षमा अध्ययन बढाउनुपर्छ।
धार्मिक र जैविक पर्यटनः धार्मिक विश्वास र प्राकृतिक सौन्दर्य समेटिएको क्षेत्रको समग्र व्यवस्थापन गरी पर्यटन पूर्वाधार विकास गर्नुपर्छ।
शालिग्राम नेपालका पहाडहरूले दिएको यस्तो वरदान हो, जसमा धर्म, विज्ञान र संस्कृति एकै ठाउँमा मिसिएको पाइन्छ। यस्ता अद्वितीय सम्पदाको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो। रुरु क्षेत्र, मुक्तिनाथ, देवघाट जस्ता तीर्थस्थलहरू केवल श्रद्धाको केन्द्र मात्र होइनन्, नेपाललाई धार्मिक पर्यटनको विश्व नक्शामा उभ्याउने सम्भावना बोकेको आधार हुन्। यस आधारमा शालिग्रामलाई राष्ट्रिय गहना बनाउँदै भावी पुस्ताका लागि संरक्षण गर्नु आजको आवश्यकता हो।
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री
गुल्मी र पाल्पाको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक ‘प्रथम रुरु क्षेत्र शालिग्राम महोत्सव २०८२’ उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन्।
आचार्यले रुरु क्षेत्र नेपालकै चारधाममध्ये एक रहेको बताउँदै ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले लुम्बिनी प्रदेशलाई तपोभूमिका रूपमा उल्लेख गर्दै यस्ता महोत्सवहरूबाट धार्मिक पर्यटन प्रवर्द्धन भई प्रदेशको समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएका स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताएका छन् ।
आचार्यले आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको बताएका हुन् ।
‘घुम्न जाऔं बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालिग्राम महोत्सव’ यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । उनले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दो क्रममा रहेको जानकारी दिए।
यस्तै मुख्यमन्त्री आचार्यले धार्मिक आस्था, नैतिक आचरण र संस्कृतिको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए । समाजमा बढ्दो अराजकताको कारण औंल्याउँदै उहाँले असल संस्कार, संस्कृति र मूल्यमान्यताहरूको जगेर्ना गर्न जरुरी रहेको धारणा उनले राखे ।
‘मुलुकमा अराजकता छाइरहेको छ । अराजकता छाउनुको पछाडिको एउटा कारण भनेको आज हामीले धर्म भुल्यौं, नैतिकता भुल्यौं, संस्कृति भुल्यौं । यी भुलेका कारणले आज युवाहरू अराजकतातिर धकेलिएका छन्’ मुख्यमन्त्री आचार्यले भने–‘त्यसैले हामीले धर्म र संस्कृतिको संरक्षण गर्न जरुरी छ । त्यो उद्देश्य राखेर पनि प्रदेश सरकारले यी कार्यक्रमहरूलाई अगाडि बढाएको हो ।’
मुख्यमन्त्री आचार्यले ऐतिहासिक सम्पदाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनबाट समृद्धिको यात्रा तय गर्न सकिने धारणा राखे । लुम्बिनी प्रदेश तपोभूमि भएको उल्लेख गर्दै उनले विभिन्न जिल्लाहरूका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व दर्शाउँदै रुरुक्षेत्रको शालिग्रामलाई विश्व जगतमा पुर्याउन सकिने र धार्मिक पर्यटकहरू भित्र्याउन सक्ने आधार रहेको स्पष्ट पारे ।
उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाणिनि ऋषिको जन्मस्थल र संस्कृत व्याकरण लेखन स्थान पाणिनि तपोभूमि लगायत प्रदेशका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई एक आपसमा जोड्ने गरी सरकारले योजना अघि बढाएको जानकारी दिए ।

Leave a Reply