कैलाली । विकास र समृद्विको लागि बाजुराको बुढीगंगा नगरपालिकामा आजबाट विकास कचहरी सुरु हुने भएको छ ।२९ गतेसम्म बुढीगंगा नगरपालिकाको केन्द्रमा हुने कार्यक्रममाको पूर्व प्रदेश प्रमुख देबराज जोशीले एक भब्य समारोहकाबीच आज उद्घाटन गर्ने नगर प्रमुख रामबहादुर बाँनियाले जानकारी दिएका छन् ।
सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढीगंगाको विकास र समृद्विको अघि बढाउन “समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी” आयोजना गर्न लागिएको हो ।जिल्लाको विकास निर्माणका लागि जिल्लाको सबै राजनीतिक दल र जनप्रतिनिधि एक ठाउँमा ल्याउने कार्यक्रमको उदेश्य रहेको छ ।
बिहान ११ बजेबाट सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसएको नगर प्रमुख बाँनियाले जानकारी दिए । ‘बाजुरामा समस्या मात्रै छैन समस्या भन्दा धेरै सम्भावना छ । बाजुरामा विभेद र विवाद मात्रै छैन त्यो भन्दा धेरै एकता र अपनत्व छ ।बाजुरामा सङ्कट मात्रै छैन त्यो भन्दा धेरै अवसरहरू छन् । त्यही कुराको सुरुवादीका लागि कार्यक्रम गर्न लागिएको हो,’उनले भने।
। स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सुरक्षित पूर्वाधारको सम्भावना तीन दिनको कार्यक्रमले प्रस्ट पार्ने उनले बताए । आगामी २० वर्षसम्मको स्वरूप तयारी गर्ने कार्यक्रम आयोजना गरिएको प्रमुख बानियाको भनाइ छ ।
बाजुराको विकासमा यहाँका राजनीतिक दलहरूको साझा सहमति र बुझाई लगायतका विषयमा बहस तथा संवाद कार्यक्रम हुने छ । विकास कचहरी कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा अवधारणा पत्र बनाएर सोही अवधारण पत्रका आधारमा संवाद छलफल र बहस गरिने छ ।
स्थानीय तहमा रहेको विकास सम्बन्धी समस्या, आवश्यकता र प्राथमिकतालाई पहिचान गरेर यथार्थमा आधारित समाधानहरू लगायत विषयमा छलफल बहस तथा संवाद गर्ने तयारी छ ।
सबै राजनीतिक दललाई विकास र संवृद्धिको विषयमा एक ठाउँमा ल्याउन कार्यक्रमले ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।पूर्व प्रदेश प्रमुख देवराज जोशी, पूर्व मन्त्री कर्णबहादुर थापा, पूर्व प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य पदम शाही सहित दलका नेता, जनप्रतिनिधि सबै सहभागी रहनेछ। विकास र समृद्धिको लागि सबै दललाई एक ठाउँमा ल्याएर गरिन लागेको विकास जिल्लाको लागि मात्रै होइन प्रदेशकै लागि नवीन कार्य हो।

Leave a Reply