काठमाडौं । ‘तीनपाते’, ‘वाफ’ जस्ता छोटा म्युजिकल फिल्महरूको कथावाचनबाट प्रभावित दर्शकले अहिले सिंगै चलचित्रको स्वाद चाख्न पाइरहेका छन् । सुजन चापागाईंको स्वर, नवीन चौहानको कथा-निर्देशन, विपीन कार्की र मिरुना मगरलगायत कलाकारको अभिनयको प्याकेज रहेको ‘ऊनको स्वीटर’ अहिले हलहरूमा चलिरहेको छ ।
‘ऊनको स्वीटर’को खासियत हो, धरणीधर काफ्ले र फूलमाया गुरुङको मन छुने प्रेमकथा । लिम्बूहरूको घनाबस्ती रहेको पूर्वी पहाडी जिल्ला पाँचथरमा अल्पसंख्यकको रूपमा रहेको काफ्ले र गुरुङको प्रेमकथालाई ‘ऊनको स्वीटर’मा देखाइएको छ । निर्देशक चौहानले निर्देशनको कुरुष चलाएर स्वीटर जसरी नै फिल्मको कथालाई बुन्ने कोसिस गरेका छन् ।
हातले बुनेको ऊनको स्वीटरको स्वभाव हो– एक ठाउँमा उध्रिएको धागो तानिरह्यो भने स्वीटरले आकारमात्रै होइन, आफ्नो अस्तित्व नै गुमाउँछ । कतै धागो चुँडिएला या काटिएला कि भनेर बडो जतनले लगाउनुपर्ने हुन्छ । फिल्म ‘ऊनको स्वीटर’ पनि ठाउँ-ठाउँमा उध्रिन खोज्याखोज्यै गर्छ । फिल्मलाई उध्रिन नदिन चौहानले भरमग्दुर प्रयत्न गरेका छन् । उनको त्यही कोसिसले नै फिल्म हेर्नलायक बनेको छ ।
फिल्मको मुख्य कलाकार धरणीधर काफ्लेले घर निर्माण गर्ने मिस्त्रीको काम गर्छन् । यही पेशाले उसको जीविका चलेको छ । काफ्लेको परिवार सिंगै लिम्बू गाउँमा एक्लो परिवार हो । लामो समयदेखि लिम्बू समाजमै हुर्किएकाले काफ्लेको लवजमा लिम्बू लवज मिसिइसकेको छ । ऊ जातले मात्रै काफ्ले, स्वभाव र व्यवहारले लिम्बू हो । रिस नै देखाउने सन्दर्भमा त लिम्बूभन्दा माथि छ ।
धरणीधरको एक भाइ, एक आमा छन् । भाइ अलि झिल्के छ, दिलीप रायमाझीको फ्यान हो । गाउँकै एक सांस्कृतिक कार्यक्रममा आङ्देम्बे थरकी लिम्बूनीलाई भगाउँछ । छोराचेली भगाइदिने भाइप्रतिको रिस आङ्देम्बेहरूले दाजुमाथि पोख्छन् । सिंगै आङ्देम्बेहरू काफ्लेलाई घर बनाउने काम नदिने निर्णयमा पुग्छन् ।
अब काफ्लेको सकसपूर्ण दिनहरू सुरु हुन्छ । सँगै कथा फ्लासब्याकमा जान सुरु गर्छ । फ्लासब्याकममा काफ्ले खानदानको वैमनस्यता देखाइएको छ । सबै काफ्लेहरू झापा झर्दा यी काफ्लेमात्रै किन पाँचथरमै रोकिए भनेर देखाइएको छ । काफ्लेहरूले दलितलाई गर्ने विभेद देखाइएको छ । फ्लासब्याकमै काफ्लेको फूलमाया गुरुङ (मिरुना मगर)सँगको प्रेमकथा देखाइएको छ । फिल्मको मूल मर्म नै काफ्ले-गुरुङको प्रेमकथा हो । यो कथा निर्देशक चौहानले दर्शकको मनलाई छुने गरी भनेका छन् ।
फ्लासब्याकसम्म पुग्नलाई निर्देशकले जसरी कथाको पृष्ठभूमि निर्माण गरेका छन्, त्यो भने एकदमै जिकज्याक छ । एकदमै धेरै जम्पकटको प्रयोग गरिएको छ, तर तालमेलविना प्रयोग गरिएको छ । कहाँको सन्दर्भ कहाँ लगेर जोडिएको छ । एउटा प्रसंगमा भिज्दै गएको दर्शक अचानक अर्को प्रसंगमा भिज्न बाध्य हुनुपर्छ । उपकथाको निर्माणमा यति धेरै हतारो गरिएको छ कि दर्शक नै अलमलमा पर्छ ।
सायद फिल्मलाई छोटो बनाउने ध्याउन्नमा निर्देशक चौहान निर्मम भएका हुन सक्छन् । यद्यपि फिल्म पाँच-सात मिनेट लामो भएको भए पनि समस्या आउँदैनथ्यो । अथवा फ्लासब्याक अघिको समयलाई मीठासपूर्ण तरीकाले छोट्याएको भए अलि कम बिझाउँथ्यो कि !
धरणीधर काफ्लेको जीवनमा भाइले ल्याइदिएको सामाजिक संकट र यसपछि आउने विगतको कथापछि भने चलचित्रले गति लिन्छ । विस्तारै चौहानले ‘सिग्नेचर कथावाचन’को माध्यमबाट दर्शकमा मादकता थप्दै लैजान्छन् । दर्शक कथामा डुब्दै जान्छन् । फिल्मको अन्तिमसम्मै काफ्लेको प्रेमकथाले दर्शकलाई डुबाइरहन्छ ।
फिल्मको अर्को खासियत हो, डिटेलिङ । पुराना नोट (राजाका फोटा भएका)हरूको प्रयोगदेखि गोल्डस्टार जुत्तामार्फत चौहानले फ्लासब्याकको कथाको समय भन्न खोजेका छन् । कलाकारको ड्रेसअप, साँघु, घट्टाहरूको प्रयोग गरेका छन् । उकाली-ओरालीमा पैदल यात्रा गर्नुपर्ने अवस्थाले पनि कथाको समय भन्छ । जब कि वर्तमान समयको कथामा भने गाउँमा रोड आइसकेको छ । जिपहरू चल्न सुरु गरिसकेका छन् ।
‘ऊनको स्वीटर’को कथा अलिकति सुस्त छ । विस्तारै, आरामले कथा भनेका छन् चौहानले । उनलाई कथा भन्नमा कुनै हतारो छैन । लिम्बू समाज हुन्छ नै यस्तै, विस्तारै भाका र लय हालेर बोल्छन्, आरामले कुरा गर्छन् । भूगोल र समुदायअनुसार कथाको गति निर्माण गरेका छन् चौहानले ।
फिल्ममा एउटा दृश्य छ, जहाँ काफ्लेले फूलमायाको गोठको छानोमा सानो छिँडी बनाइदिएका हुन्छन् । उक्त छिँडी खोल्दा घरभित्र जूनको उज्यालो पर्छ । उज्यालोले काफ्लेको अनुहारलाई छपक्कै देखाउँछ । केहीबेर लामो दृश्यमा फूलमायाको अनुहारमा भने राम्रोसँग जूनको उज्यालो पारिएको छैन । बरु आगोको राप पारिएको छ । जून जस्तै निश्चल प्रेमको प्रस्ताव लिएर पुगेका काफ्ले र आफ्नै दुःखसँग जुधिरहेकी फूलमायाको मनस्थितिलाई देखाउन चौहानले गज्जबले कलाको प्रयोग गरेका छन् ।
त्यस्तै अर्को दृश्य छ, जहाँ काफ्ले र गुरुङ एकै ओछ्यानमा सुत्छन् । उनीहरूबीचको अन्तरंग सम्बन्ध देखाउन चौहानले रंगीबिरंगी ऊनका धागोहरू देखाएका छन् । अनेक रङमा पोतिएका धागोका लाछीहरूबाट वाफ निस्किरहेका छन् । पानी चुहिरहेका छन् । अनि विस्तारै गुरुङको कुरुसहरूमा ती लाछीहरू उनिन थाल्छन्, स्वीटरको रूपमा । त्यो स्वीटर काफ्लेले लगाउन पाउँछन् त ? दर्शकमा यही कौतुहलता सृजना गर्दै कथा अगाडि बढेको छ ।
काफ्लेको प्रेम असफल हुन्छ भनेर चौहानले सुरुमै खुलाएका छन् । एक्लो जीवन जिइरहेका चौहानले फ्लासब्याकको कथा भनिरहँदा मात्रै गुरुङसेनी आउँछिन् । गुरुङसेनीले काफ्लेका लागि बुनिदिएको स्वेटर समयमै नसकिनुले पनि कथाको समाप्तीलाई इंगित गरेको छ । यद्यपि क्लाइमेक्सबारे दर्शकलाई सुरुमै थाहा भए पनि कथाले बिझाउँदैन ।
अर्को दृश्य पनि छ, जहाँ लिम्बूनीसँग गाउँ छाडेका धरणीधरको भाइ घर आउँछ । काफ्लेलाई ढोगिदिन्छ । प्रेममा असफलता झेलिरहेका, भाइकै कारण गाउँलेबाट बहिष्कार झेलिरहेका धरणीधरले गालीको साटो भाइलाई माया देखाउँछन् । जिम्मेवारीले थिचिएको काफ्लेको अनुहार यसवेला हेर्नलायक छ । काफ्ले जस्तो पात्रलाई विपीनले मात्रै न्याय गर्नसक्छ कि झैं लाग्छ ।
फिल्मलाई गीत र संगीतले अझै मीठो सुर दिएको छ । सिनेम्याटोग्राफी र पूर्वी भेगको भूगोल अनि निर्माण टीमको मेहनतले फिल्मलाई अझै मीठो बनाएको छ । लिम्बू समुदायभित्र बाँचिरहेका अन्य समुदायको कथाले दर्शकलाई मोहित तुल्याउन सक्छ । ‘ऊनको स्वेटर’लाई ‘तीनपाते’, ‘वाफ’ जस्ता म्युजिकल फिल्मको ठूलो पर्दाको अवतरण भन्दा फरक पर्दैन ।
तर ‘ऊनको स्वेटर’मा निर्देशक चौहानले सुषुप्त रूपमा भन्न खोजेको कुरा भने अलि जटिल छ । यो फिल्म अन्तरसांस्कृतिक सम्बन्धमाथि निर्मित छ । यहाँ लिम्बूहरूको बाहुल्यभित्र काफ्लेलाई अल्पसंख्यक बनाइएको छ । र, काफ्लेको निरीहतालाई पस्किन खोजिएको छ । हेर्दाखेरि सामान्य लाग्ने यो सन्देश राजनीतिक रूपमा भने गम्भीर प्रकृतिको छ । एक निरीह पात्र खडा गरेर सायद चौहानले सांस्कृतिक सामीप्यता र प्रेम सम्बन्ध मात्रै भन्न खोजेका होलान्, तर लिम्बू समाजभित्र काफ्ले पात्रको जसरी कोरियोग्राफी गरिएको छ, त्यसले त्यति मात्रै भन्दैन । लिम्बू समुदायलाई सत्ताको रूपमा देखाइएको छ भने काफ्लेहरूलाई सीमान्तमा बाँचेको निरीह समुदाय !
पहिचान र मौलिकताको पेचिलो बनिरहेको समयमा अन्तरसांस्कृतिक सम्बन्ध जस्तो जटिल विषयमा हात हाल्दा कस्तो राजनीतिक सन्देश जाला भनेर सर्जक सचेत हुनैपर्छ । ‘ऊनको स्वेटर’मार्फत चौहानले लिम्बूहरूको बस्तीमा काफ्ले, मगर, गुरुङहरूको संस्कृतिलाई देखाउने कोसिस त गरेका छन् । यद्यपि पहिचानको आन्दोलन र सीमान्तीकृत समुदायप्रति भने चौहानको दृष्टिकोण अस्पष्ट र धरमर रहेको प्रमाणित हुन्छ । लिम्बूहरूलाई सत्ताधारी देखाएर काफ्लेलाई निरीह देखाएका छन् । राजनीतिक रूपमा यो खतरनाक सन्देश हो, तर समुदायको नभएर मान्छेको मात्रै कथा भन्न खोजेका हुन् भने त्यो अलग कुरा हो ।

Leave a Reply