निजात्मक अनुभूतिलाई जोडेर गजल लेख्न माहिर छिन् गजलकार संगीता थापा । उनका गजलहरु सिर्फ सूत्रहरुमा मात्रै बाँधिएका हुन्नन् । उनका गजलका शेरहरु गहिरा अर्थ बोकेका हुन्छन् । त्यसैले नेपाली गजलको फाँटमा संगीताको बेग्लै परिचय छ ।
गजलकारको अलवा संगीता रंगकर्मी पनि हुन् । दुई दर्जन बढी नाटकहरुमा अभिनय गरिसकेकी छन् । त्यस्तै उनी अभिनीत ‘खजुरे ब्रो’, ‘खुस्मा’ जस्ता चलचित्र प्रदर्शन भइसकेको छ भने ‘जेरी अन टप’, ‘यार्सागम्बु’ र ‘माइतीघर’ आउँदै गरेको चलचित्र हुन् ।
गायिका बन्न काठमाडौं छिरेकी संगीतालाई एक दिन कान्छो दाइले भने, ‘तिमीले गजल पनि बुझ्न जरुरी छ ।’ यसपछि उनी नियमित कार्यक्रम गर्ने संस्था मधुवनतिर पुगिन् । त्यहाँ अरु गजलकारका गजल सुन्थिन्, ताली पड्काउँथिन् । एक दिन चिनेको दाइले उनलाई भने, ‘अर्को हप्ताबाट गजल लेख्न कोसिस गरेनौं भने ढोकाबाटै छिर्न दिँदैनौं ।’
सिनियर दाइको माया मिसिएको यो घुर्कीका कारण उनी गजलकार बनिन् । संगीतमा स्नातकसम्म गरिन्, तर भोकलमा समस्या आएकाले छ, सात वर्ष नै आराम गर्नुपर्ने भयो । संगीता सुनाउँछिन्, ‘मान्छेले फ्रस्टेसन निकाल्ने बाटो खोज्दो रहेछ । बाटो भेटेन भने जे पनि हुँदो रहेछ । मसँग पनि संगीतप्रतिकोे सपनामा तुसारापात भएको फ्रस्टेसन थियो । त्यसलाई पोख्न मैले गजल भेटाएँ जस्तो भयो । अनि आफ्नो कुरा लेख्न सुरु गरेँ ।’
डेढ दशकदेखि लेखनमा सक्रिय संगीताले नेपाली गजलले झेलेको थुप्रै आरोहअवरोह देखिन् । गम्भीर गजलकारका गम्भीर गजलहरु पढिन् । हल्लावाज गजलकारका हर्कत र रवैया पनि देखिन् । अध्ययन, मिहेनतबिना कसरी हिट हुने भनेर मात्रै कस्सिने गजलकारहरु समेत देखिन् ।
यस्ता हर्कत र रवैयामाथि मकवानपुरकी संगीताको एक वाक्य छ, ‘गजल लेखन हल्ला गरेजस्तो सजिलो छैन ।’
भिडिओ
गजल लेखनको अलवा संगीता आफू भने रंगमन्च र चलचित्रमा अभिनय गरिरहन्छिन् । म्युजिक भिडियो, सर्ट फिल्महरु समेत छाड्दिनन् । यही कारण उनको काठमाडौं बसाई हिजोको तुलनामा केही सहज बनेर गएको छ ।
उनी सुनाउँछिन्, ‘हिजो गजल मात्रै लेख्दा आर्थिक व्यवस्थापन अलि गाह्रो हुन्थ्यो । तर गजलले मलाई सिंगै नेपाल घुमायो । मैले नेपाल चिन्ने अवसर नै गजलको कार्यक्रमहरुका कारण पाएँ । अहिले फाइनान्सियल्ली अलि सजिलो भएको छ । म अभिनयको अलवा भ्वइस डबिङको काम गर्छु, गीत लेख्छु, कम्पोज पनि गर्छु ।’
प्रस्तुत छ संगीताका केही प्रतिनिधि गजलहरु:
किन पत्थर हुने श्राप मैले अक्सर पाएँ ?
फेरि चिठ्ठामा पनि शिशाकै घर पाएँ !
मर्नु पनि त मिलनको एक बिन्दु रहेछ
तिमी आउदैछौ रे मलामी, खबर पाएँ !
हराएपछि यी आँखाहरूको भिडमा
आफूलाई खोजेँ, ऐनामा भर्खर पाएँ !
म भाग्यमानी मैन, केकमा बालिएको
तिम्रो जन्मदिनमा निभ्ने अवसर पाएँ !
०००
ऊ पुरानो मकानमा फर्किन चाहन्छ
जिब्रो फेरि उखानमा फर्किन चाहन्छ
छतको गमलामा मुस्कुराइ रहने फुल
फेरि यो बगानमा फर्किन चाहन्छ !
घिसारिँदै बधशाला पुगेको त्यो पाठो
आमा भेट्न बथानमा फर्किन चाहन्छ !
दर्दनाक जीवन बोकी फर्किएको छु
को फेरि मुग्लानमा फर्किन चाहन्छ ?
लगाउनु छ आँगनमा गुन्द्री बुन्ने तान
हतासो नि तानमा फर्किन चाहन्छ
दन्त्य कथाको पात्र गजल सुनाउदै
यो युगको जुवानमा फर्किन चाहन्छ
०००
समयले नै गर्यो सम्झौता मसँग
भाग लाग्यो मा ऊसंग, बा मसँग
तँलाइ फकाएर दिन काट्न पाऊँ
हरेक दिन ए छोरी ! रिसा मसँग
हेर्दिनँ भन्छु उसलाई हेरिरहन्छ
आँखाले पनि गर्यो धोका मसँग
नदेखा तेरो घाउ उप्काई उप्काई
ए मन, अब तँ केही लुका मसँग
यो समय डाँकु रहेछ सब लुट्यो
लुट्न सकेन दुःखको मेला मसँग
०००
‘तिमी जुन हौ, त्यो दाग होइन’
यो मैले चाहेको जवाफ होइन !
निदाउनु पर्नेछ चितामाथि पनि
हुन त यो आमाको काख होइन
मलाई मेरै हालतमा छोडिदेऊ
सानो अनुरोध हो, दवाब होइन
नभेटिन सक्छन् तिम्रा तस्बिरहरू
मेरो दिल हो दिल ! दराज होइन
हामीले बुझेनौं हाम्रो सम्बन्धमा
लेख्नै पर्ने शब्द ‘तलाख’ होइन
उसले मागेको तिम्रो जिन्दगी हो
तिम्रो जिन्दगीको हिसाब होइन
कस्को बाटो हेर्दै बसेकी छ्यौ संगी ?
प्रश्नहरू पठाउनु गुलाफ होइन
०००
जुधाएर नजर ती दामी तिमीले
बनायौ मलाई बिरामी तिमीले
थियो शान्त मेरो मनको तलाउ
नसोधी पठायौ सुनामी तिमीले
म घाइते छु घाइते ! गरेछौ नि प्रहार
नछामी कलेजी नछामी तिमीले
यहाँ प्रेम रोगले म ढल्दैछु ‘संगी’
पठाउनु साथी मलामी तिमीले

Leave a Reply