रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएका स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताएका छन् ।
पाल्पा, गुल्मी र स्याङ्जाको सिमानामा रहेको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको बताएका हुन् ।
‘घुम्न जाऔं बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । उनले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दो क्रममा रहेको जानकारी दिए।
यस्तै मुख्यमन्त्री आचार्यले धार्मिक आस्था, नैतिक आचरण र संस्कृतिको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए । समाजमा बढ्दो अराजकताको कारण औंल्याउँदै उहाँले असल संस्कार, संस्कृति र मूल्यमान्यताहरूको जगेर्ना गर्न जरुरी रहेको धारणा उनले राखे ।
‘मुलुकमा अराजकता छाइरहेको छ । अराजकता छाउनुको पछाडिको एउटा कारण भनेको आज हामीले धर्म भुल्यौं, नैतिकता भुल्यौं, संस्कृति भुल्यौं । यी भुलेका कारणले आज युवाहरू अराजकतातिर धकेलिएका छन्’ मुख्यमन्त्री आचार्यले भने–‘त्यसैले हामीले धर्म र संस्कृतिको संरक्षण गर्न जरुरी छ । त्यो उद्देश्य राखेर पनि प्रदेश सरकारले यी कार्यक्रमहरूलाई अगाडि बढाएको हो ।’
मुख्यमन्त्री आचार्यले ऐतिहासिक सम्पदाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनबाट समृद्धिको यात्रा तय गर्न सकिने धारणा राखे । लुम्बिनी प्रदेश तपोभूमि भएको उल्लेख गर्दै उनले विभिन्न जिल्लाहरूका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व दर्शाउँदै रुरुक्षेत्रको शालग्रामलाई विश्व जगतमा पुर्याउन सकिने र धार्मिक पर्यटकहरू भित्र्याउन सक्ने आधार रहेको स्पष्ट पारे ।
उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाणिनि ऋषिको जन्मस्थल र संस्कृत व्याकरण लेखन स्थान पाणिनि तपोभूमि लगायत प्रदेशका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई एक आपसमा जोड्ने गरी सरकारले योजना अघि बढाएको जानकारी दिए ।
नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक रुरुक्षेत्रमा ‘शालग्राम दिवस’ को अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा विविध धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रमहरू समावेश गरिएका छन् । ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण रुरुक्षेत्रमा आयोजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा भइ पर्यटनको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ ।

Leave a Reply