काठमाडौं । अदालतले दिएको आदेश अटेर गर्दै नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई साधारणसभा प्रवेश गर्न रोक लगाएको छ । आज धुलिखेलमा हुन लागेको साधारण सभामा सहभागी हुन छोरा गौरवसहित पुगेका थापा गेटमै रोकिएका हुन् ।
उच्च अदालत पाटनले थापाका बाबुछोरालाई साधारण सभामा सहभागी हुन पाउने अन्तरिम आदेश गरेको थियो । सो आदेशको प्रतिलिपिसमेत बोकेर उनीहरू धुलिखेल पुगेका थिए । तर, गेटमा रहेका सुरक्षाकर्मी र स्वयम् सेवकले आफूहरूलाई भित्र पस्न नदिएको थापाले नेपाल प्रेससँग बताए । ‘हामीलाई गेटमा रोकिएको छ । प्रवेश पास चाहिने बताइरहेका छन् । तर, एन्फाले प्रवेश पास दिन मानेको छैन,’ उनले भने ।
यो पनि पढ्नुहोस्- १० वर्षपछि एन्फाको साधारणसभामा भाग लिँदै गणेश थापा, अदालतले खोलिदियो बाटो
गणेश थापा आरसी ३२ क्लबको प्रतिनिधिका रूपमा एन्फाको साधारणसभामा जान लागेका हुन् । उक्त क्लबले वैशाख १५ गते थापालाई प्रतिनिधि चयन गरेको थियो ।
यस्तै, गौरव थापा काठमाडौं जिल्ला फुटबल संघले साधारणसभामा प्रतिनिधि चयन गरेको छ । उनीहरू दुवैले साधारण सभामा भाग लिन पाउने अन्तरिम आदेश उच्च अदालत पाटनले गरिसेकेको छ ।

Leave a Reply