सामाजिक सञ्जालको फेक एकाउण्टमा सामान देखाएर साढे २ करोडबढी ठगी, ७ जना पक्राउ

धनुषा । सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू १९ देखि २३ वर्ष उमेर समूहका छन् ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-१ बस्ने २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका-२ बस्ने २२ वर्षीय श्यामसुन्दर महरा, सोही नगरपालिका-१ बस्ने २० वर्षीय राम कुमार महरा, सर्लाही बरहथवा नगरपालिका-७ बस्ने २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला नगरपालिका-१ बस्ने २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीरकुमार महतो र गौशाला नगरपालिका-२ बस्ने १९ वर्षीय अमित साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरूले इन्स्टाग्राम, टीकटक, फेसबुकलगायतका प्लाटफार्मबाट विभिन्न कम्पनीका मोबाइल, लत्ताकपडालगायतका सामान सस्तोमा दिने भनी विश्वासमा पारेर लोभ देखाई ठग्ने गरेका थिए । ठगीमा परेकाहरूको उजुरीको आधारमा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूले ठगी गर्न सामाजिक सञ्जालका २१ वटा एकाउन्ट तथा पेजहरू प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । ती एकाउण्टमा पोष्ट गरिएका फोटो तथा भिडिओ हेरेर सर्वसाधारणले ती सामान किन्ने भनी सम्पर्क गर्दा अग्रिम भुक्तानी गर्नुपर्छ भनी विभिन्न व्यक्तिको नाममा बैंक, वित्तीय संस्था तथा वालेटहरूमा खाता खोल्न लगाई अनलाइनबाट रकम पठाउन लगाएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाको साथबाट बरामद भएको मोबाइलबाट विभिन्न बैंक वित्तीय संस्था तथा वालेट १८७ वटा खाताहरूको विवरण फेला भेटिएको छ । खातामा हालसम्म २ करोड ६३ लाख ९३ हजार १९१ रूपैयाँ कारोबार भएको पाइएको छ ।

उनीहरूमाथि ठगी कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी कारवाही अघि बढाइएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *