काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन रोक्न नमिल्ने भन्दै अन्तरिम आदेश दिएसंगै यस कम्पनीको आईपीओ जारी गर्ने बाटो खुलेको हो ।
धितोपत्र बोर्डले रोक्का गरेको रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया रोक्न काटेको पत्र कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले मिल्सको पक्षमा आदेश दिएको हो ।
बुक बिल्डिङबाट आईपीओ निष्कासनको दोस्रो चरणमा वैदेशिक रोजगारीमा जानेका लागि असार २७ गतेदेखि आवेदन खुलाउने तयारी थियो । यस्तै सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ निष्कासन गर्ने तयारीमा कम्पनी थियो ।
रिलायन्सले सार्वजनिक निष्कासन सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरी बोर्डबाट विवरण पत्र प्रकाशनको लागि स्वीकृति समेत प्राप्त गरेको थियो ।
तर, धितोपत्र बोर्डका तत्कालीन कार्यवाहक अध्यक्ष नरेन्द्रकुमार रानाले गत असार २६ गते कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रोकेका थिए ।
बोर्डले अध्यक्षको निर्णय अनुसार भन्दै धितोपत्र निष्कासन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्न बिक्री प्रबन्धकलाई निर्देशन दिइएको थियो ।
आईपीओ निष्कासन प्रक्रिया यथाशीघ्र अघि बढाई पाउँ भन्दै रिलायन्सले रिट दायर गरेको थियो । सोही रिटमा अदालतले रिलायन्सको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।
गत असारमा आईपीओ निष्कासन प्रक्रिया रोकिएको थियो । पाटन उच्च अदालतले बोर्डको असार २६ को पत्र प्रारम्भिक रूपमा नै कानुन सम्मत नदेखिएकोले सो रिट निवेदनको टुङ्गो नलागेसम्म उक्त रोक्का पत्र कार्यान्वयन नगर्नु नगराउनु र उक्त पत्रसँग सम्बन्धित सबै कार्यहरू रोक्का राख्नु भनी अन्तरिम आदेश जारी गरेको हो । यो आदेशसँगै अब आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।
रिलायन्स स्पिनिङ मिल्सले २०७८ मै बुक बिल्डिङ विधिबाट सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । लामो समयसम्म धितोपत्र बोर्डले स्वीकृति दिएको थिएन । बोर्डले २०८१ असार १४ गते अनुमति दिएको थियो ।
नियतवश ढिलाइ गरेको कम्पनीको आरोप
यस उद्योगले आक्रामकरुपमा व्यापार गर्दै आएको छ । कम्पनीको निरन्तर प्रगति भइरहँदा स्वार्थ समूहहरूले आईपीओ निष्कासनका लागि रोक लगाउन खोज्दै आएको कम्पनीको दाबी रहेको छ । धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासनमा नियतवश नै ढिलाइ गरेको कम्पनीको आरोप छ ।
यस्ता कम्पनीको प्रवर्द्धन गर्नुपर्नेमा अनाहकमा दुःख दिँदा भोलिका दिनमा यस्ता ठूला उद्योगहरू नै मुलुकबाट बाहिरिनुपर्ने अवस्था आउन सक्ने कम्पनीको भनाई छ ।
रिलायन्स स्पिनिङ्स मिल्स लिमिटेड स्थापना भएको २७ वर्ष नाघिसकेको छ । विसं. २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ्स मिल्सले हाल चार हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । यसमा लगानी १५ अर्ब नाघिसकेको छ ।
उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ । सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ ।
कम्पनीले केही वर्षदेखि नै वैकल्पिक ऊर्जा व्यवस्थापन र प्रयोग समेत गर्दै आइरहेको छ । आफ्नै सोलार प्यानलमार्फत ऊर्जा व्यवस्थापन गर्दै आइरहेको हो । रुफटपमा राखिएको सोलार प्यानलले ९ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।
कस्तो छ वित्तीय अवस्था ?
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा रिलायन्स स्पिनिङ मिल्सको वित्तीय अवस्थामा उल्लेख्य सुधार भएको छ । कम्पनीले चालु आवको चैतसम्ममा १ अर्ब २ करोड ८५ लाख ७ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आवको असारसम्ममा कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २५ रुपैयाँ ४९ पैसा पुगेको छ । गत आवको असारमा कम्पनीको इपीएस २ रुपैयाँ ९५ पैसा रहेको थियो ।
चालु आवको तेस्रो त्रैमाससम्ममा रिलायन्सले ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ । कम्पनीले आठ/आठ महिनामा लगानीकर्तालाई बोनस समेत दिँदै आएको छ ।
रिलायन्सले २०२४ मा ९ अर्ब २१ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । अघिल्लो वर्ष २०२३ मा १० अर्ब ६० लाखको व्यापार गरेको थियो । कम्पनीले सन् २०२२ मा १० अर्ब १० करोड ५० लाख र सन् २०२१ मा ७ अर्ब ७९ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

Leave a Reply