भारत-पाक तनावप्रति नेपालको चिन्ता, मिसाइल आक्रमणबारे मौनता

काठमाडौं । भारत र पाकिस्तानबीच चुलिएको तनावलाई लिएर सरकारले आज औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छ । भारतप्रति सहानूभुति दर्शाउने विज्ञप्ति परराष्ट्र मन्त्रालयले आज जारी गरेको हो ।

विज्ञप्तिमा भारत र पाकिस्तानबीचको बढ्दो तनावको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ । तर, भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणबारे विज्ञप्तिमा केही पनि उल्लेख छैन ।

मन्त्रालयले अप्रिल २२ मा भारतको पहलगाममा भएको आतंकवादी आक्रमणको नेपाल सरकारले निन्दा गरेको स्मरण गराएको छ र यस्ता गतिविधिको विरोध गर्ने जनाएको छ ।

साथै, नेपाल सरकारले कुनै पनि छिमेकी राष्ट्रहरुका विरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता विज्ञप्तिमा व्यक्त गरिएको छ ।

‘आफ्नो भूमिमा कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो छिमेकी राष्ट्रहरुको विरुद्ध प्रयोग गर्न दिने छैनौ’, विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस्, परराष्ट्रले निकालेको विज्ञप्तिको नेपाली अनुवाद

 

नेपाल सरकार
परराष्ट्र मन्त्रालय
काठमाडौं, नेपाल
प्रेस विज्ञप्ति

भारतको पहलगाममा २२ अप्रिल २०२५ मा भएका निर्दोष पर्यटकहरूमाथिको आतंकवादी आक्रमण, जसमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य ज्यान गुमाएका थिए, त्यसपछिको भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार गम्भीर चिन्तित छ। त्यस दुःखद घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भएर उभिएका थिए ।

यस सन्दर्भमा स्मरणीय छ कि नेपालले उक्त बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरुपमा भर्त्सना गरेको थियो, जुन आतंकवादका सबै प्रकारको विरोधमा नेपालको दृढ अडानसंग मेल खान्छ। नेपाल आतंकविरुद्धको लडाइँमा सबैसंगै उभिएको छ। आफ्नो सिद्धान्तमा आधारित अडान अनुसार नेपालले आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि दुस्मन शक्ति वा तत्वलाई आफ्नो भूमिको प्रयोग गर्न दिनेछैन ।

नेपालले तनावको न्यूनिकरण होस् भन्ने आशा राख्दछ र यस क्षेत्रको दीर्घकालीन शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दछ।

परराष्ट्र मन्त्रालय
नेपाल सरकार
२०२५ मे ८

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *