बर्दघाटका स्वयंसेविकालाई साढे दुई लाख रुपैयाँ प्रोत्साहन रकम र मोबाइल

रुपन्देही । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिकाले नगरमा रहेर सेवा गरी अवधि सकिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । यसअघि २ लाख दिइँदै आएकोमा अब आउँदो आर्थिक वर्षबाट त्यसमा ५० हजार थप गरिने भएको हो ।

बर्दघाट नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुती सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा समारोहमा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले उक्त घोषणा सहित प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

आउँदो आर्थिक वर्षमा स्वयंसेविकाहरुलाई एक एक थान मोबाल उपलब्ध गराउन र प्रोत्साहन भत्तामा वृद्धि गरी ढाई लाख पुर्याउने गरी सोही अनुरुप बजेट बिनियोजन गरिने नगरप्रमुख श्रेष्ठले बताए ।

‘पालिकाले स्वास्थ्य क्षेत्रमा गर्ने सबै गतिविधि र नागरिकको घरआँगनमै पुगेर सेवा प्रदान गर्ने कुरामा उहाँहरु बिनापारिश्रमिक अहोरात्र खट्नुभएको छ,आज नगरपालिका पूर्ण खोप एवम् संस्थागत प्रसुती सेवायुक्त नगर घोषणामा स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको छ त्यसैले यो घोषणा गरेको छु’, श्रेष्ठले भने ।

नगरपालिकाले नगरभित्र हाल सेवा दिइरहेका ४४ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई आगामी आ.ब.बाट १५ हजार बराबरको मोबाइलसमेत उपलब्ध गराइने नगरप्रमुख श्रेष्ठले बताए ।

सोही अनुरुप नीति तथा कार्यक्रममा समेट्ने गरी अघि बढ्न समेत स्वास्थ्य शाखालाई नगरप्रमुख श्रेष्ठले निर्देशन दिएका छन् ।

नगरप्रमुखको प्रतिबद्धतापश्चात् कार्यक्रममा सहभागी स्वयंसेविकाहरु निकै हर्षित हुँदै थप ऊर्जा मिलेको र निस्वार्थ समाजसेवाप्रति अझै थप मनोबल बढेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *