१० वर्षपछि एन्फाको साधारणसभामा भाग लिँदै गणेश थापा, अदालतले खोलिदियो बाटो

काठमाडौं । फिफाको १० वर्षे प्रतिवन्ध अन्त्य भएसँगै एन्फा पूर्वअध्यक्ष गणेश थापा फुटबल गतिविधिमा पुन सक्रिय हुन थालेका छन् । भोलि धुलिखेलमा हुने नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा उनी सहभागी हुने निश्चित भएको छ ।

एन्फाले थापालाई १६ अप्रिल २०१५ देखि लगाएको प्रतिवन्ध १५ अप्रिल २०२५ मा समाप्त भएको थियो । यो अवधिमा उनी फुटबलका तमाम गतिविधिहरुबाट टाढा थिए । प्रतिवन्धको अवधि गुजारेपछि उनी फेरि सक्रिय हुन लागेका हुन् । तर, एन्फाको वर्तमान नेतृत्व उनलाई रोक्ने प्रयासमा छ ।

प्रतिवन्ध अवधिमा थापाले सामाजिक सञ्जालमार्फत एन्फाभित्रका विसंगति र अनियमितताहरुबारे लेख्दै र बोल्दै आएका थिए । अब भने उनी प्रत्यक्षरुपमा भण्डाफोर अभियानमा जुटेका छन् । त्यही रणनीति अन्तरगत उनले भोलिबाट काठमाडौंमा सुरु हुने सभामा भाग लिन आँटेका हुन् ।

थापालाई एन्फाको साधारण सभामा भाग लिन  अदालतले पनि बाटो खोलिदिएको छ । एन्फाले आफूलाई रोक्न सक्ने आशंकामा थापाले अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । उच्चले उनको पक्षमा निर्णय लियो । गत वैशाख २१ गते सुदर्शनदेव भट्टको इजलासले एन्फाको साधारण सभामा सहभागी हुन निवेदकलाई कुनै वाधा व्यवधान र अवरोध नगर्न नगराउन अन्तरिम आदेश दिएको छ ।

तर, अदालतको यो आदेश रद्द गराउन एन्फाले भ्याकेटको निवेदन दिएको दियो । थापालाई साधारण सभामा प्रवेश दिन नमिल्ने अडान लिँदै एन्फाले सो निवेदन दिएको हो । तर,  उच्च दालतले आज एन्फाको भ्याकेट निवेदन अस्वीकार गरेको छ ।

न्यायाधीसद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले निवेदक एन्फाको विपक्षमा आदेश गरेको हो । यसअघि २१ गते भएको अन्तरिम आदेशलाई नै आजको इजलासले निरन्तरता दिएपछि थापा एन्फाको साधारण सभामा जान पाउने भएका छन् ।

आजको आदेशमा भनिएको छ, ‘कुनै पनि संस्थाको संस्थागत सुशासन तथा सुदृढीकरणका लागि सम्बन्धित सदस्य संस्थाले भाग लिन पाउने तथा आफ्नो विचारहरु व्यक्त गर्न पाउने कार्य आफैमा एक महत्वपूर्ण अभ्यासका रुपमा सर्वस्वीकार्य पद्दति रहेको पाइन्छ । सोही अर्थमा सुविधा र सन्तुलनको दृष्टिकोणबाट विपक्षी गणेश थापाको सहभागिताले एन्फाको २६ गते हुने साधारण सभाको सञ्चालनमा प्रतिकुल असर पर्ने अवस्था देखिएन । तसर्थ, मिति २०८१/०१/२१ मा भएको आदेशलाई परिवर्तन गरिरहन परेन ।’

अदालतकाे यो आदेश बुझ्न एन्फा अध्यक्ष नेम्वाङले अस्वीकार गरेका छन् । आज आदेशको प्रतिलिपि लिएर सर्वोच्च कर्मचारीहरु एन्फा कार्यालय पुगेपछि उनी कुलेलाम ठोकेका थिए । पत्र दिन खोज्दा उनले ‘म होइन।। म होइन।। ’ भन्दै कार्यालयबाट बाहिरिएको स्रोतले बतायो । यद्यपि, यो निर्णय कार्यान्वयनमा आउन निवेदकले आदेशको प्रतिलिपि बुझिरहनु नपर्ने अदालत स्रोतको भनाइ छ ।

‘उहाँहरु आफैं निवेदक भएकाले आदेश नबुझे पनि कुनै फरक पर्दैन, थापाले साधारण सभामा भाग लिन पाउनुहुन्छ,’ अदालत स्रोतले भन्यो ।
अदालतमा थापाको तर्फबाट कानून व्यवसायीहरु सुरेन्द्र भण्डारी, भीमार्जुन आचार्य, राजु बस्नेत र बिष्णु भट्टराईले बहस गरेका थिए । यस्तै, एन्फाले सिताराम केसी, दिनमणी पोखरेल, यदुनाथ खनाल, कुमार भट्ट र अशोकराज पाण्डेलाई उतारेको थियो ।

थापाले आरसी ३२ क्लवको प्रतिनिधिका रुपमा एन्फाको साधारणसभामा भाग लिन लागेका हुन् । उक्त क्लवले गत वैशाख १५ गते थापालाई साधारणसभामा सहभागी हुन पठाउने निर्णय गरेको थियो ।

छोरा गौरवलाई पनि नरोक्न आदेश

उच्च अदालतले गणेश थापाका छोरा गौरव थापालाई पनि साधारण सभामा नरोक्न छुट्टै आदेश गरेको छ । गौरवले पनि आफू साधारणसभामा भाग लिन पाउनुपर्ने मागसहित उच्चमा रिट निवेदन हालेका थिए ।

उच्च अदालतका न्यायाधीश सुर्यप्रसाद पराजुलीको एकल इजलासले हिजो गौरवको पक्षमा अन्तरिम आदेश दिएको हो । काठमाडौं जिल्ला फुटबल संघको प्रतिनिधिका रुपमा गौरवले एन्फाको साधारणसभामा भाग लिनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *