नीति तथा कार्यक्रमबारे अशिम साह- यी सबै काल्पनिक हुन्, जनताको जीवनमा मेल खाए संयोग मात्र मानिनेछ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई एउटा वार्षिक कर्मकाण्डको संज्ञा दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नीति तथा कार्यक्रम काल्पनिक भएको भन्दै जनताको जीवनमा मेल खाए संयोग मात्र मानिनेछ भनेर व्यङ्ग्य गरे।

उनले भने, ‘हामी नयाँ दल नयाँ सांसद पहिलो वर्ष थाहा भयो फुल स्टप कमा केही संशोधन नहुने रहेछ। व्यर्थको बहस गरिराखेका छौँ भनेर आवाज उठायौँ फेरि त्यही पुरानो पारा । सरकारलाई सोध्न पर्ने भयो कता हिँडेको सरकार कपी गरेर, पेस्ट गरेर, सांसद हेरेको हेर्‍यै।’

उनले भ्रष्टाचारमा शून्य सहनशीलताको ढोल हरेक वर्ष पिटिन्छ, तर ठूला भ्रष्टाचारका काण्डहरू सेलाउँदै जाने गरेको बताए।

उनले भने,‘म ढुक्क छु यो सरकारले भ्रष्टाचार को कुनै फाइल खोल्दैन। किन भने सरकार फाइल खोल्न हैन बन्द गर्न बनेको छ भनेर १० महिनामा पुष्टि भइसक्यो।’

बेरोजगारी नियन्त्रणले हरेक वर्षको दस्तावेजमा प्राथमिकता पाएको भएपनि युवाहरू आज पनि काम खोज्दै विदेशिन बाध्य भएको बताए।

उनले थपे, ‘महँगी नियन्त्रणका नारा बेलाबेलामा आइरहन्छन्, तर बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य जनताको पहुँच बाहिर छ। स्वास्थ्यमा सुधारका वाचा दोहोरिँदै आइरहेका छन्, तर गाउँका स्वास्थ्य चौकीमा आज पनि सिटामोल अभाव छ। पूर्वाधार विकासको चर्चा भइरहे पनि राजधानीसहितका सहरहरूमा खाल्डाखुल्डी सडकहरू अझै सामान्य भएका छैनन्।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *