काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले पाकिस्तानका विभिन्न संस्थाबाट तालिम लिएका पूर्व नेपाली सेनाका अधिकृतहरुको भेला आयोजना गरेको छ ।
भारत-पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको बेला आयोजित समारोहमा नेपाली सेनाका पूर्व सेनापति गौरव राणा प्रमुख अतिथि तथा अर्का पूर्व सेनापति राजेन्द्र क्षेत्री विशेष अतिथि रहेका थिए । समारोहमा पाकिस्तानको राष्ट्रिय डिफेन्स विश्वविद्यालयका पदाधिकारीले सरिक भएको काठमाडौंस्थित पाकिस्तान दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
समारोहमा स्वागत मन्तव्यमा दूतावासका रक्षा सहचारी महोम्मद अली अल्भीले नेपाल र पाकिस्तानी सेनाबीचको सौहार्दपूर्ण सम्बन्धका बारेमा चर्चा गरेका थिए । त्यस्तै, नेपाली सेनाको क्षमता विकासलगायतमा पाकिस्तानको निरन्तर सहयोग रहने पनि बताए ।

त्यस्तै, प्रमुख अतिथि राणाले पाकिस्तानको संस्थाबाट नेपाली सेनाले पाएको क्षमता विकास अभिवृद्धि तालिमले सेना र सहभागीहरुमा ठूलो मूल्य बोकेको बताए ।
त्यस्तै, नेपालका लागि पाकिस्तानी राजदूत अब्रर एच. हश्मीले पाकिस्तान र नेपालबीच जनता, सरकार र सेनाबीच आपसी विश्वास र द्वीपक्षीय सहअस्तित्वको सहकार्यले बलियो सम्बन्ध रहेको उल्लेख गरे । उनले दुई देशबीचका सेनाहरुबीचको सम्बन्ध निरन्तर विकसित हुने र नयाँ उचाइ छुने विश्वास व्यक्त गरे ।

समारोहलाई समापन गर्ने क्रममा राजदूत हश्मीले भारतले अन्तर्राष्ट्रिय नियमविरीत पाकिस्तानको सार्वभौमसत्तामा धावा बोलेको बताए । त्यस्तै, उनले युएन चार्टरको धारा ५१ अनुसार आफ्नो सबै शक्तिको प्रयोग गरेर आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउने बताए ।

Leave a Reply