लोक सेवामा एक वर्षमै ६ ठाउँ नाम निकालेका पर्वतका असिम- तयारीबारे यस्तो दिन्छन् सुझाव

काठमाडौं । पर्वत फलेवास नगरपालिका-५ खानीगाउँ चितिपानीका २३ वर्षीय असिम पौडेल लोक सेवा आयोगको परीक्षामा एकै वर्षमा ६ ठाउँ नाम निकाल्न सफल भएका छन् ।

२०८१ असोज ०३ मा गण्डकी प्रदेशबाट (स्थानीय प्रशासन) पाचौं तहमा सिफारिस भएका पौडेलले २०८१ मंसिर ६ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पाचौं तहमा लिखित परीक्षा पास गरेका थिए । तर, उनी अन्तर्वार्तामा सहभागी भएनन् ।

२०८१ मंसिर २३ मा संघीय लोक सेवा आयोग पोखरा कार्यालयले लिएको परीक्षामा नासुको वैकल्पिकमा परे । त्यसपछि फेरि उनले २०८१ पुस २० मा दोस्रो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड चौथो तहमा लिखित पास भए, अन्तर्वार्तामा सहभागी भएनन् ।

त्यसपछि संघीय लोक सेवा आयोग काठमाडौं कार्यालयबाट खरिदार खुलातर्फ काठमाडौं २०८१ फागुन १९ मा २ नम्बरमै सिफारिस भए । त्यसपछि उनी स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन ललितपुरमा खरिदार पदमा कार्यरत छन् ।

संघीय खरिदारमा कार्यरत रहेकै बेला भर्खरै यही वैशाख २२ गते गण्डकी प्रदेश लोक सेवा आयोगबाट प्रशासकीय अधिकृत, सातौं तहमा खुलातर्फ एक नम्बरमा सिफारिस भएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पोखरा पदस्थापन भइसकेका छन् ।

पौडेलले तल्लो तहदेखि उच्च शिक्षासम्म सरकारी क्याम्पसमै पढेका हुन् । फलेवासकै ध्रुव नमूना माविबाट उनले एसईई दिए । पोखरा मावि बगरबाट विज्ञान संकायमा प्लस टु उत्तीर्ण गरेका पौडेलले त्रि-चन्द्र क्याम्पसबाट वातावरण विज्ञानमा स्नातक तह उत्तीर्ण गरेका छन् ।

सरकारी विद्यालयप्रति अभिभावक उदासीन देखिरहँदा पौडेलको यो सफलता समाजका लागि उदाहरण बनेको छ । जुनसुकै विद्यालयमा पढे पनि आफ्नो पढाइ र लगनशिलतामा भरपर्ने उनी बताउँछन् ।

स्नातकपश्चात २०८० साल मंसिरबाट उनी लोक सेवा तयारीमा लागे । लोक सेवाको आयोगको तयारी गर्दा उनले निरन्तरता दिने र लिखित परीक्षाका लागि बढी भन्दा बढी लेख्ने, मोडल सेट अभ्यास गर्ने गरेका थिए । लोक सेवा तयारीमा लागिरहेकालाई उनी आफ्नो समय र प्रयासलाई एकचित्त भई पढाईमा केन्द्रित गर्नुपर्ने र लेख्दै पढ्ने बानीको विकास गर्नुपर्ने उनको सुझाव छ ।

Comments

One response to “लोक सेवामा एक वर्षमै ६ ठाउँ नाम निकालेका पर्वतका असिम- तयारीबारे यस्तो दिन्छन् सुझाव”

  1. Basanta Avatar
    Basanta

    lok sewa ma name nikalnu matrai safalta thanda desh ko sarbajaik sewa prati ko nakaratmak dharana chirna nasknu susasasan ko pratyavuti dilauna nasaknu abbal thaniyeka karmachari ko asafalta ho. Tasartha lok sewama name nikalnu lai matra news banau vanda karye stal ma gareko kam ko prakatilai dyan dinu main stream media ko dharma ho jasto lagxa malai ta. …

Leave a Reply

Your email address will not be published. Required fields are marked *