काठमाडौं । भारतले पाकिस्तानविरुद्ध सुरू गरेको ‘अप्रेशन सिन्दूर’ को विषयलाई लिएर नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माको कुरा बाझिएको छ । उपमहासचिव शर्माले भारतले सुरू गरेको ‘अप्रेशन सिन्दूर’ को पक्षमा मुख खोलेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’
तर, महासचिव गुरुङले भने पहलगामको आक्रमण कसले गरेको निश्चित नभई पाकिस्तानमाथि आक्रमण गर्नु न्यायोचित नहुने अभिव्यक्ति सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् । यद्यपि, आतंककारी गतिविधिको भने विरोध गर्नुपर्ने उनको भनाइ छ ।

‘हिजो भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा हवाईमार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ । यो अत्यन्तै दु:खद विषय हो । भारतले आक्रमणको कारण केही दिनअगाडि काश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताइएको छ’ महासचिव गुरुङले फेसबुकमा लेखका छन्, ‘निश्चय पनि जनसंहारकारी आतंककारी गतिविधि को विरोध गर्नैपर्छ । तर, उक्त पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र रूपमा पुष्टि भएको देखिँदैन । यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन ।’
उनले सैन्य कारबाही बन्द गरी दुवै मुलुकबीचमा संवाद गरिनुपर्ने उल्लेख गरेका छन् ।
‘पहलगाम हत्या काण्डबारे स्वतन्त्र प्रकारको अन्तर्राष्ट्रिय कमिसन गठन गरी छानबिन गरिनु पर्छ’ उनले भनेका छन्, ‘भारत र पाकिस्तान दुवै नेपालको छिमेकी मित्रराष्ट्र हो । दुवै मुलुकसँग नेपालको दौत्य सम्बन्ध छ । छिमेकीहरू बीचको द्वन्दबाट नेपाल प्रभावित हुन्छ। यस्तो स्थितिमा नेपालले संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशिलको सिद्धान्तको आधारमा नेपाल मौन बस्न मिल्दैन ।’
नेपालले युद्ध नभए शान्तिको पक्ष लिनुपर्ने बताए । यो विषयमा महासचिव र उपमहासचिवबीच मतभेद देखिँदा पार्टीले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन । हिजो उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीभित्र छलफल गरेर व्यवस्थित ढंगले धारणा सार्वजनिक गर्ने नेपाल प्रेसलाई बताएका थिए ।

Leave a Reply