फेकन निर्वाचन २७ गते, अध्यक्षका प्रत्याशी उमेश कुश्वारका यस्ता छन् प्रतिबद्धता

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को अध्यक्ष पदका प्रत्याशी उमेश कुश्वारले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) सञ्चालकहरूको संस्था इक्यानपछि फेकनमा बढी सदस्य आबद्ध छन् । वैशाख २७ गते शनिवार नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा अध्यक्षका प्रत्याशी कुश्वरसहित रामशरण ढकाल मैदानमा छन् ।

वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष कुश्वारले आफ्नो कार्यकालमा फेकनले राष्ट्रिय सीमा नाघ्दै अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सफल भएको दाबी गरेका छन् ।

२६० जना शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) सञ्चालक मतदाता रहने उक्त निर्वाचनबाट आफूलाई अध्यक्ष निर्वाचित गराउन अपिल गर्दै कुश्वारले भनेका छन्, ‘फेकनलाई नेपालको उत्कृष्ट र विश्वसनीय शैक्षिक परामर्श संस्था बनाउने र सरकारसँग निरन्तर संवादमार्फत शैक्षिक परामर्श व्यवसायको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने मेरा प्रमुख प्रतिबद्धता हुन् ।’

उनले विगत कार्यकालमा अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयहरूका प्रतिनिधिहरूसँग ‘एजेन्ट मिट’ कार्यक्रमको आयोजना प्रभावकारी भएको दाबी गरेका छन् । शैक्षिक परामर्श क्षेत्रमै पहिलो पटक अष्ट्रेलियामा आयोजित ‘फेकन फार्मट्रिप’, त्यहाँको शिक्षा मन्त्रालय, विभिन्न देशका अध्यागमन विभागहरूसँग कूटनीतिक सम्बन्ध स्थापना, नेपाली दूतावास, महावाणिज्यदूत तथा नेपाली डायस्पोरा संस्थाहरूसँग मजबुत सहकार्य गरेको पनि दाबी गरेका छन् ।

फेकनमा विदेशबाट पहिलो पटक आर्थिक सहयोग ल्याउने कार्य सम्पन्न भएको भन्दै उनले दर्जनौँ अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयसँग प्रत्यक्ष सञ्जाल स्थापना गरिएको प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।

प्राकृतिक विपत्तिका बेला अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गरेको, धरौटीसम्बन्धी विषयमा सधैं सरकारसँग संघर्ष गरिरहेको, सरकारद्वारा जारी हुने ‘नो अब्जेक्सन लेटर (एनओसी)’ सम्बन्धी समस्याको समाधानमा भूमिका खेलेको पनि उल्लेख गरेका छन् ।

संस्थाको अध्यक्ष निर्वाचित भएमा त्यस्तै प्रभावकारी काम गर्ने उनको प्रतिबद्धता छ ।

अध्यक्ष निर्वाचित भएमा विदेशमा निधन भएका विद्यार्थीको शव नेपाल ल्याउन विशेष कोष स्थापना गर्ने उनको प्रतिबद्धता छ । ‘फेकन याप’ मार्फत विदेश जाने विद्यार्थीको आगमन र प्रस्थानसम्बन्धी प्रामाणिक जानकारी प्रदान गरिने, वार्षिक रूपमा शैक्षिक मेलाको आयोजना गरिने, सदस्यका लागि बीमा कोष स्थापना गर्ने, विदेशी विद्यार्थीहरूलाई नेपालमा अध्ययनको अवसर, अन्तर्राष्ट्रिय विद्यार्थीका लागि ७ र ३० दिनको आपत्कालीन सहायता केन्द्र स्थापना गर्ने उनका प्रतिबद्धता छन् ।

विभिन्न देशमा रहेका नेपाली दूतावास, विदेशी सरकार, काउन्सिलर तथा नेपाली डायस्पोरासँग बलियो सहकार्य गर्दै ‘फेकन बिजनेश ग्रुप’ स्थापना गरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

आगामी दिनमा ‘फेकन फार्म ट्रिप’ लाई विश्वव्यापी रूपमा विस्तार गर्ने, नेपालमै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मेला आयोजना गर्ने र विभिन्न दाताको सहकार्यमा फेकन कोषलाई सुदृढ बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *